राजनीति


ओलीको निर्देशन मानेर सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता होला नेपाल-खनाल समूह?

ओलीको निर्देशन मानेर सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता होला नेपाल-खनाल समूह?

गोकुल जोशी
जेठ १२, २०७८ बुधबार ३:३,

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने नेकपा (एमाले) को स्थायी कमिटी बैठकको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा सोमबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र बाहिरिन निर्देशन दिएको थियो।

यद्यपी एमालेको नेपाल–खनाल समूहका मन्त्रीले पार्टी केन्द्रको निर्णय कार्यान्वय गरेका छैनन्। एमालेका तीनमन्त्री अहिले पनि माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टकै सरकारमा सहभागी छन्।

सरकारबाट बाहिरिने निर्णयको विषयमा छलफल गर्न बुधवार बिहान एमाले प्रदेश संसदीय दलको बैठक बोलाइएको छ। मंगलबार एमालेको नेपाल–खनाल निकट सांसद मात्रै सहभागी संसदीय दलको बैठक बस्ने तयारी भएको थियो। तर सो समूहमै मतभेद देखिँदा पछि बैठक स्थगित गर्नु परेको थियो।

बुधवार बिहान आह्वान गरिएको संसदीय दलको बैठकमा एमालेको ओली पक्ष पनि सहभागी हुने स्रोतले जनाएको छ।

सरकारबाट बाहिरिन आधिकारिक निर्देशन आफूहरुलाई प्राप्त नभएको एमाले सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङले बताए। उनी खनाल–नेपाल समूहमा आवद्ध छन्।
‘सरकारबाट बाहिरिने आधिकारिक जानकारी हामीलाई आएको छैन् । मिडियाहरुबाट कुरा सुनिएको मात्रै हो। त्यसैले अहिले नै राजीनामा दिएर बाहिरिने कुरा आउँदैन,’ उनले भने, ‘संसदीय दलको बैठकमा आज छलफल हुन्छ । त्यस पछि केही निकास निस्केला।’

एमालेको नेपाल–खनाल समूहका तीन जना सांसद प्रदेश सरकारमा मन्त्री छन् । संसदीय दलका नेता प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन्।

यस्तै नेपाल–खनाल समूहकै कृष्णराज सुवेदीले सामाजिक विकास मन्त्रालय र माया भट्टले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेकी छन्।

एमालेको ओली समूह यस अघि नै सरकारबाट बाहिरिएर माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको सरकार ढाल्न सक्रिय छ।

पहिलो पटक प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा विभाजित भएका बेला ओली निकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए। नेकपा माओवादी केन्द्रबाट विजयी आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा मन्त्री पदबाट राजिनामा दिँदै ओली खेमामा उभिएका थिए।

सरकारबाट फिर्ता हुने वा नहुने पक्षमा नेपाल–खनाल समूहभित्रै मतभेद छ । प्रदेश संसदीय दलको नेता शाह भीम रावल निकट नेता मानिन्छन्।

एमालेको संस्थापन पक्षले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नेपाल–खनाल पक्षका नेता शाहले समर्थन यथावत राख्न चाहेको नेपाल–खनाल समूहकै नेताहरुको विश्लेषण छ।

नेपाल–खनाल समूहमा केन्द्रको निर्देशन पालना गर्नुपर्ने मत पनि जोडबलका साथ उठिरहेको सांसदहरु बताउँछन्। ‘दुई÷तीन जनाको सरकारमा बस्ने इच्छाले हुदैन । पार्टीको निर्देशन अनुसार चल्नु पर्छ,’ ओली निकट सांसद रतन बहादुर थापाले भने, ‘अहिले सरकारबाट बाहिरिएर नयाँ बिकल्पका साथ अगाडि बढ्नु पर्ने धेरै साथीहरुको मत छ।’

पार्टीको निर्देशन विपरित गए कारबाही समेत भोग्नु पर्ने उनले चेतावनी दिए । ‘आज बस्ने संसदीय दलको बैठकमा यस विषयमा छलफल हुने छ। धेरै साथीहरुको भनाई अहिले पार्टीको निर्णय मानेर जानु पर्छ आएको छ,’ उनले भने, ‘त्यसैले सरकारबाट फिर्ता हुनुको बिकल्प छैन्।’

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको नेपाल–खनाल समूह बलियो छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेकपा (एमाले) को सभामुखसहित २५ सांसद छन् । तीमध्ये १८ जना नेपाल–खनाल समूहमा छन् भने ६ जना मात्रै प्रधानमन्त्री एंवम् अध्यक्ष ओली समूहमा खुलेका छन्।

यो पनि नेपाल–खनाल समूहमै मतभेद हुँदा एमाले सुदूरपश्चिम संसदीय दलको बैठक भाँडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad