राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताका लागि कोभिडविरुद्धको खोप चीनसँग खरिद गर्न चाहेको भन्दै सहजिकरण गरिदिन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आग्रह गरेकी छिन्।
चिनिया राष्ट्रपति सीसँग बुधबार दिउँसो भएको टेलिफोन संवादमा राष्ट्रपति भण्डारीले खोप खरिदका लागि सहयोग गर्न आग्रह गरेकी हुन्।
'दुई पक्षीय हितको सबै विषयमा दुवै राष्ट्राध्यक्षसँग बीच कुराकानी भयो। तर धेरै जस्तो समय कोभिड १९ को साझा समस्याको बारेमा केन्द्रीय रहेको थियो' राष्ट्रपति भण्डारीको प्रेस विज्ञ टिकाप्रसाद ढकालले भने, 'सम्मानीय राष्ट्रपतिले नेपालको कोभिडको दोस्रो लहरको समानता गरिरहेको छौ। यो हाम्रो लागि चुनौति बनेर आयो। यसलाई समाना गर्ने सबैभन्दा ठूलो उपाय खोप नै हो भने कुरामा सन्देह रहेन। त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीन सरकारसँग खोप खरिद गर्नका लागि इच्छुक छौ। त्यो खरिद प्रक्रियालाई सहजिकरण गराउनका लागि चिनियाँ राष्ट्रपतिलाई आग्रह गर्नुभयो।'
चिनिया राष्ट्रपति सीले नेपाल परापूर्वकालदेखि मित्र देश भएकाले महत्वका साथ सधै सहयोग गर्न तत्पर रहेको जानकारी गराएका थिए।
'तपाईले गर्नु भएको आग्रहलाई गहिरोसँग मनन गरेको छु' सीको भनाई उद्धृत गर्दै ढकालले बताए।
यसअघि राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोबिदलाई मंगलबार पत्र लेख्दै नेपाललाई खोप उपलब्ध गराइदिन हुन आग्रह गरेकी थिइन्।
चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो। बुधबार अपरान्ह राष्ट्रपति भण्डारी र राष्ट्रपति सीबीच करिब ४५ मिनेट टेलिफोन संवाद भएको थियो।

प्रतिक्रिया