प्रदेश २ को सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आजै सहभागी हुने तयारी गरेका छन्।
मुख्यमन्त्री लालबाबु राउतले सकेसम्म आज साँझसम्म कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्।
सरकारमा सहभागी हुने कांग्रेस र माओवादी केन्द्र सकारात्मक छन्। दुवै पक्षसँग सरकारले विभिन्न चरणमा छलफल तीव्र पारेका छन्।
अहिले सरकार र कांग्रेस वार्ताटोलीबीच सरकारमा सहभागी हुने विषयमा छलफल चलिरहेको छ।
वार्तामा सरकार पक्षबाट भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्र साह, समाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योगा वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय छन्।
यस्तै कांग्रेसको तर्फबाट दलका सचेतक उपेन्द्र कुशवाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र साह सहभागी छन्।
सरकारमा के कति मन्त्रालय लिएर कांग्रेस सहभागी हुने विषयमा वार्ता चलिरहेको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले नेपालखबरलाई जानकारी दिए।
‘के कति मन्त्रालय लिने दिने विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ। कांग्रेस सरकारमा जान सकारात्मक छ। सम्भवतः आज साँझ वा बिहानसम्ममा हामी सरकारमा सहभागी हुन्छौँ’, दलका नेता यादवले नेपालखबरसँग भने।
यस्तै सरकारमै सहभागी हुने विषयमा टुंगो लगाउन माओवादी केन्द्रको संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दै छ।
आज ११ बजे सरकारमै सहभागी हुने विषयमा निर्णय हुने माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार यही विषयमा जसपा उपेन्द्र यादव पक्ष र सरकारसँग चार÷पाँच चरणमा माओवादी केन्द्रसँग वार्ता तथा छलफल भएको छ।
माओवादी संसदीय दलको बैठक पनि दुईपटक भइसकेको उनले बताए।
‘सरकारसँग पटक–पटक भएको वार्ता तथा छलफल सकारात्मक छ। सरकारले ल्याउन लागेको बजेट तथा नीति कार्यक्रममा हाम्रो पार्टीको तर्फबाट केही प्रस्तावहरु पेश गर्नुपर्ने हाम्रो शर्त छ। सरकार पनि तयार छ’, उनले भने।
त्यसैले सम्भवतः मन्त्रालयको टुंगो लगाएर चाँडै सरकारमा सहभागी हुने सम्भावना बढेको उनले बताए।
स्रोतका अनुसार आज दिउँसो मन्त्रालयको टुंगो लगाएर साँझसम्ममा सरकारमा सहभागी हुने माओवादी केन्द्रको तयारी छ।
सरकारले केही मन्त्रालय फुटाएर कांग्रेस र माओवादीको पोल्टामा दिने गरी सरकारले छलफल गरिरहेका छन्।
मुख्यमन्त्री लालबाबु राउतलाई आइतबार नै उपेन्द्र यादव पक्षले जसपा संसदीय दलको नेतामा चयन गरेको थियो।
कांग्रेस र माओवादी सत्ता साझेदारी गरी सरकारमा सहभागी हुन सकारात्मक भएपछि मुख्यमन्त्री राउतले आइतबार राति नै महन्त ठाकुर पक्षका तीन राज्यमन्त्रीसहित चार मन्त्रीलाई बर्खास्त गरेका थिए।
ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएपछि उपेन्द्र यादव आफैँ सक्रिय भएर प्रदेश २ सरकारको सत्ता समीकरण फेरबदल गर्न सक्रिय भएका छन्।

प्रतिक्रिया