नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन्।
विप्लव माओवादीका प्रभावशाली नेता धर्मेन्द्र बास्तोलाले शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन्।
कुनै समयमा 'सहयोद्ध' नेताहरुबीच शनिबारको भेटमा समसामयीक राजनीतिबारे कुरा भएको जनाइएको छ। प्रचण्डलाई भेट्न बास्तोलासँगै उदयबहादुर चलाउनेसमेत खुमलटार पुगेका छन्।
बास्तोलाले प्रचण्डसँग प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायतका विषयमा छलफल भएको बताएका छन्।
'समसामयिक नेपाली राजनीति, विघटित अवस्थामा पुगेको संसदीय व्यवस्था र नेपाल कम्युनिष्ट पार्टीले समाधान दिन प्रस्ताव गरेको प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायतका बिषयहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सौहार्द छलफल', प्रचण्डसँगको तस्बिर राख्दै बास्तोलाले लेखेका छन्।
यस अघि बास्तोला र चलाउनेले बुधबार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुरामलाई समेत भेटेका थिए।
भेटमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको बास्तोलाले बताएका छन्।
भट्टराई निवास टोखामा भएको भेटमा जसपा नेता भक्तबहादुर शाह पनि थिए।

प्रतिक्रिया