ad ad

राजनीति


ओली–नेपालबीच टेलिफोन संवाद, केन्द्रीय कमिटी बैठकअघि दुई पक्षबीच वार्ता हुँदै

ओली–नेपालबीच टेलिफोन संवाद, केन्द्रीय कमिटी बैठकअघि दुई पक्षबीच वार्ता हुँदै

नेपालखबर
असार १८, २०७८ शुक्रबार २:६,

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बिहीबार राति अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको हो।

‘अध्यक्षज्यूले आजको बैठकमा माधव नेपाल पक्षलाई पनि समेट्ने सक्दो प्रयत्न गरिरहनुभएको छ,’ कार्यालय सचिव तामाङले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘आज पनि दुई पक्षबीच संवाद हुँदै छ।’

उनका अनुसार आज केन्द्रीय कमिटीको बैठक बस्नुभन्दा अघि अहिले बिहान दुई (ओली–नेपाल) पक्षका दोस्रो तहका नेताबीच वार्ता हुन लागेको हो।

तर उनले वार्तामा सहभागी हुने नेता र स्थान भने निश्चित भइनसकेको बताए। 

‘अब केही बेरमा कतै नेताहरू वार्तामा बस्नुहुन्छ,’ उनले भने।

तर अहिलेसम्म यसअघि निर्धारित आज बस्ने एमाले केन्द्रीय कमिटी बैठकको समयमा भने कुनै फेरबदल नभएको पनि कार्यालय सचिव तामाङले जानकारी दिए।

उनका अनुसार बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ।

उक्त बैठकमा आफ्नो पक्ष सहभागी नहुने निर्णय गरेको अवस्थाबीच वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले टेलिफोनमा कुराकानी गरेका हुन्।

दुई नेताबीच टेलिफोन संवाद भए पनि माधव नेपाल पक्ष आजको बैठकमा आउने सहमति भइनसकेको तामाङले बताए।

‘पार्टी एकताका लागि अध्यक्षज्यूले तदारुकता, लचकता देखाइरहनुभएको छ, सकेसम्म कुनै नेता एमालेभन्दा बाहिर नरहुन् भनेर हरतरहले हरेक कोणबाट प्रयत्न गरिरनुभएको छ,’ कार्यालय सचिव तामाङले भने, ‘यति गर्दा पनि कोही आउनै चाहँदैनन् भने त्यो व्यक्तिगत कुरा भयो।’

आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकअघि बस्ने दुई पक्षका दोस्रो तहका नेताबीच के कुरा हुन्छ, त्यसले अगाडिको बाटो निर्धारण हुने देखिन्छ।

यो पनिकार्यदल बैठक : केन्द्रीय कमिटी बैठक सार्न ओली पक्षलाई प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .