बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सभामुखको सरकारी निवासबाटै पक्राउ परेका छन्।
आइतबार साँझ झण्डै दुई घण्टा लगाएर उनलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गर्न दिउँसो नै पुगेको प्रहरी टोली र महराबीच पक्राउपछि जाने गाडीका विषयमा कुरा नमिल्दा पक्राउ गर्न झण्डै दुई घण्टा समय लागेको थियो।
प्रहरीले भ्यानमा लैजान खोजे पनि महरा आफ्नै गाडीमा जाने अड्डी लिएपछि प्रहरीले बा १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो। तर महरा सो गाडी पनि नगई आफूले नै प्रयोग गर्दै आएको बा १८ च ४०० नम्बरको निजी गाडीमा गएका थिए।
प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ।
निवर्तमान सभामुख महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई उनकै कोठामा पुगेर बलात्कारको प्रयास गरेको आरोप लागेकको थियो।
फाेटाे- प्रविन काेइराला/नेपालखबर
रोशनीले शुक्रबार महानगरीय प्रहरी वृत्त वानेश्वरमा महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दर्ता गरेकी थिइन्।
जाहेरीपछि आइतबार बिहान प्रहरीले महरालाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतसँग अनुमति मागेको थियो। जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि आइतबार साँझ प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको हो।
सभामुखबाट राजीनामा दिए पनि महरा कोठा नभेटेको भन्दै सभामुखको सरकारी निवासमै बस्दै आएका थिए।

महरालाई पक्राउ गर्नका लागि महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखासहितको टोली आइतबार दिउँसो बालुवाटारस्थित सभामुखको सरकारी निवास पुगेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धनबाट असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको भाडाको कोठामा गएको पुष्टि भएको थियो। जाहेरीपछि प्रहरीले पीडित महिलाको स्वास्थ्य जाँच गरी अनुसन्धान अघि बढाएको हाे।
गत सोमबार बलात्कार आरोप सार्वजनिक भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उनलाई संसद तथा सभामुख पदबाट राजीनामा दिई छानिबनमा सहयोग गर्न आग्रह गरेको थियो। महराले सभामुखबाट मंगलबार राजीनामा दिए पनि सांसद पद भने त्यागेका छैनन्। सांसद रहेका कारण प्रहरीले अदालतको अनुमति लिएर मात्रै पक्राउ गरेको हो।

प्रहरीले महरा पीडितको कोठामा जाँदाको सीसीटीभी फुटेजसमेत फेला पारेको छ। महराले प्रयोग गर्ने मोबाइलको कलअनुसारको लोकेसन समेत संकलन गरेको छ। ती सबै प्रमाणहरूले उनी कसुरदार भएको संकेत गरेका छन्।
आइतबार राति घटना भए लगत्तै शाहीले प्रहरीको इमर्जेन्सी हटलाइन १०० मा फोन गरी सभामुखले आफूलाई बलात्कार गरेको उजुरी गरेकी थिइन्। सो जानकारी पाए लगत्तै वानेश्वर वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएको थियो।
घटनास्थलबाट महराले पिएको रक्सको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तुलवा बरामद गरेको थियो। ती सामग्रीको फोरेन्सिक जाँच भइरहेको छ।

प्रतिक्रिया