राजनीति


सीले ‘नमस्ते’ भन्दै ‘चियर्स’ गरेको त्यो राजकीय भोज

सीले ‘नमस्ते’ भन्दै ‘चियर्स’ गरेको त्यो राजकीय भोज

कृष्ण आचार्य
असोज २७, २०७६ सोमबार ७:४८,

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार काठमाडौं ओर्लेकै साँझ उनको सम्मानमा होटल सोल्टीको मेघा मल्हार हलमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय भोज आयोजना गरिन्।

२३ वर्षपछि यसरी चीनका राष्ट्रपतिको सम्मानमा राजकीय भोज आयोजना गर्दा त्यहाँ सहभागी हुने पाहुना प्रायः सबै नयाँ थिए। यो एउटा साँझको जमघटले नै नेपालमा राजनीतिक व्यवस्था परिवर्तनको संकेत दिन्थ्यो। चीनका राष्ट्रपतिको सम्मानमा राष्ट्रपतिले पहिलो पटक रात्रीभोज आयोजना गर्नु नेपाल राजतन्त्रबाट गणतन्त्रमा परिणत भएको सन्देश पनि थियो चिनियाँ पक्षका लागि।

रात्रिभोजमा आमन्त्रित पाहुनाहरु ६ बजेदेखि नै उपस्थित हुन थालिसकेका थिए।

मुख्य प्रवेशद्वारतर्फ गएका पाहुनालाई सुरक्षाकर्मीले आइरन गेट प्रयोग गर्न सुझाइरहेका थिए। सोल्टी होटलको क्यासिनो प्रवेश गर्ने आइरन गेटमा पाहुनाहरुको घुँइचो थियो।

मेघा हल प्रवेशद्वारमा पाहुनाको कार्ड जाँज गरेपछि डिटेक्टर र स्क्यान मेसिनबाट उनीहरुको जाँच भयो, त्यसपछि पालैपालो भित्र छिराइयो।

भित्र छिरेपछि सहयोगीहरुले कार्ड स्क्यान गरेर पाहुना बस्ने टेबल नम्बर देखाए। जुन पहिल्यै तय भइसकेको थियो। ती टेबलमा ८० चिनियाँ र १७० नेपाली पाहुनाका लागि सिटको व्यवस्था गरिएको थियो।

भीभीआईपी र विशिष्ट व्यक्तिबाहेक अन्य पाहुनाका लागि २५ वटा टेबल राखिएको थियो। प्रत्येक टेबलमा ८ जनाको दरले बस्ने प्रबन्ध मिलाइएको थियो। अधिकांश सहभागी परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको ड्रेस कोडमा उपस्थित थिए। तर, कतिपयले सो नियम पालना गरेका थिएनन्। नियम पालना नगरे पनि उनीहरुलाई हलमा प्रवेश दिइएको थियो।

भोजको निर्धारित समय साढे ७ बजे थियो। तर, त्यो समयमा राष्ट्रपति भण्डारी, सी र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आइ नपुेपछि एकछिन त्यहाँ गाईंगुईं चल्यो।

राष्ट्रपति सी समकक्षी भण्डारीलाई भेट्न करिब ७ बजेमात्र सोल्टीबाट शीतलनिवास हिँडेको खबर आयो।

‘त्यसपछि हामी उहाँहरुको लामो पर्खाइमा बस्यौँ’, रात्रिभोजमा सहभागी एक सरकारी अधिकारीले भने।

dinner6

सीको पर्खाइ
राष्ट्रपति सी समकक्षी भण्डारीलाई भेटेर ८ बजे सोल्टी आइपुगे। त्यसपछि १५ मिनेट प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे। लगत्तै ५ मिनेट राष्ट्रिय सभाका अध्यक्ष गशेण तिमिल्सिनासँग छलफल गरे।

यता राष्ट्रपति सीसँग भेटेर देउवा ८ बजेर २५ मिनेट जाँदा मेघा हलमा प्रवेश गरे। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली पनि ८ बजेर १५ मिनेट जाँदा हलमा उपस्थित भइसकेका हुन्छन्। त्यसपछि राष्ट्रपति सीको पर्खाइ सुरु हुन्छ।

८ बजेर ३२ मिनेटमा राष्ट्रपति सी मेघा हलमा प्रवेश गरे। सबैले उठेर उनको स्वागत गरेसँगै सबैको ध्यान उनीतर्फै केन्द्रित हुन्छ। उनी बसेसँगै अन्तिम टेबलतिर बसेका पाहुनाहरु उनलाई देख्नका लागि टाउको घुमाउँछन्, शरीर उचाल्छन्। बसाइ व्यवस्थित नगरेका कारण पछाडिबाट अगाडि देख्न मुस्किल थियो।

राष्ट्रपति भण्डारीले लिखित मन्तब्य पढेर सुनाएपछि निर्धारित समयभन्दा एक घन्टा ढिलो रात्रिभोज सुरु भएको घोषणा गरिन् अनि टोस्ट प्रस्ताव पनि।

dinner

तालीको गडगडाहट
राष्ट्रपति भण्डारीले स्वागत मन्तब्य राखेपछि राष्ट्रपति सी प्रतिउत्तर मन्तब्यका लागि मञ्चमा चढेसँगै हल तालीले गुञ्जायमान बन्छ। राष्ट्रपति सी बोलुन्जेल हलमा ताली बजिरह्यो।

नेपालीमा ‘नमस्ते’ भन्दै मन्तब्य सुरु गरेका राष्ट्रपति सीले अन्त्यमा पनि नेपालीमै ‘राष्ट्रपति भण्डारीलगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स’ भने। त्यसपछि फेरि हल तालीले गुञ्जयमान भइरह्यो।

राष्ट्रपति सीले कुनै लिखित मन्तब्य नदिई समकक्षी भण्डारीले उठाएका विषयको प्रतिउत्तर दिँदै मौखिक मन्तब्य राखेका थिए। उनले उपस्थित सबैको मन जित्ने प्रयास गरे।

चीनले नेपाललाई हर योजनामा साथ दिनेछ भन्दै सीले तर नेपालले ती योजना व्यवहारमा पनि पूरा गर्नुपर्ने तर्क गरे।

नेपालमा योजना बनाउने, भाषण गर्ने तर व्यवहारमा लागु नहुने कुरालाई इंकित गर्दै राष्ट्रपति सीले मन्तब्य दिँदा सरकारी प्रतिनिधिले भरिएको हल तालीले गुञ्जयमान बनेको थियो।

त्यो पानीको गिलास
राष्ट्रपति सीले मन्तब्य दिइरहँदा सहयोगीले मञ्चमै गिलासमा पानी लगिदिएका थिए। उनले आफ्नो मन्तब्य राखेपछि अन्त्यमा चियर्स भने र सोही पानीको गिलास हातमा बोकेर टेबलतर्फ आए।

त्यसपछि समकक्षी भण्डारीसँग गिलास ठोकेर दुवैले चियर्स गरे। त्यति नै बेला अन्य सहभागीले पनि आफ्नो हातमा रहेको वाइन–जुसको गिलास उठाएका थिए। त्यसपछि सुरु भयो त्यो राजकीय रात्रीभोज।

Image result for सीको सम्मानमा आयोजित रात्रिभोज

चियर्स गरेको तस्बिर बाहिरिएपछि धेरैले दुई राष्ट्रपतिले समातेको गिलासमा वाइन भएको ठाने। रात्रिभोजमा सहभागी एक सचिवले भने, ‘त्यो गिलास पानीकै थियो, मदिराको आशंकामा कुनै सत्यता छैन।’

चियर्स गर्दा राष्ट्रपति सीले आफ्नो गिलास समकक्षी भण्डारीको भन्दा तल पारेका थिए। पूर्वी एशियाली देशमा चियर्स गर्दा आफुले सम्मान जनाउने व्यक्तिको गिलास भन्दा आफ्नो गिलास केही तल पारेर ठोक्काउने चलन छ।

dinner4

भोज र कलाकारको प्रस्तुति
राष्ट्रपति सीले कुरिला र क्वाँटीको सुपबाट रात्रिभोज सुरु गरे। त्यसपछि उनलाई लुक्लाको सिमीसँग भटमास साँधेको खाना ‘सर्भ’ गरियो।

तर, राष्ट्रपति सीले कुनै पनि खानेकुरा पूर्णरुपमा खाएनन्। चाखे मात्र। यो विशिष्ट पाहुनाको संस्कार नै रहेको रात्रिभोजमा सहभागी एक व्यापारी बताउँछन्। उनी भन्छन्, ‘उहाँका लागि आफ्नै किचेन (किचेनसहितको स्विट रुम) मा खाना पाकेको हुँदोरहेछ।’

यता नेपाली कलाकारले मौलिक कला, संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरिरहेका थिए। सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरीका सांस्कृतिक टोलीले समेत नृत्य प्रस्तुत गरेका थिए।

नेपाली शास्त्रीय सांगीतिक टोली सुरसुधाले चिनियाँ र नेपाली संगीतको फ्युजन गरिएको स्वागत गीत प्रस्तुत गरेको थियो। यसरी राष्ट्रपति सीको संगीत तथा खानपानबाट आतिथ्य सत्कार गरिएको थियो। अन्तिममा उनले इलामको चियाको एक चुस्की लिए।

रात्रिभोजमा रेड, ह्वाइट वाइनको व्यवस्था थियो। तर, भीभीआईपीहरुले वाइन पिएनन्। भोजमा सहभागी अन्य पाहुनाले भने अनुकुलताअनुसार वाइन पिएका थिए। वाइन नपिउनेहरुका लागि जुसको व्यवस्था थियो।

सीको हाउभाउ
अघिल्लो दिन भारतको चेन्नईमा राति १२ बजेसम्म सी भेटघाटमा ब्यस्त थिए। चेन्नईदेखि काठमाडौंको यात्रा र लगातार भेटघाटमा बस्दा पनि सीको मुहारमा कुनै थकान महसुस भएको देखिएको थिएन। राष्ट्रपति सी रात्रिभोजको सुरुदेखि अन्त्यसम्म उस्तै हाउभाउमा देखिए।

‘सांगीतिक कार्यक्रम हेर्दा होस्, कुराकानी गर्दा होस् या नेपाली परिकारको स्वाद लिँदा राष्ट्रपति सीको अनुहारमा कुनै फेरबदल देखिएन’, भोजमा सहभागी परराष्ट्र मन्त्रालयका एक जना अधिकारीले भने।

बेलाबेला टाउको हल्लाउने र हाँस्नेबाहेक सीको अनुहारको भावमा कुनै फेरबदल देखिएन। बरु उनले छेउमा रहेका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग ‘साइड टक’ गरे।

dinner3

मन्तब्यको बीचमा चम्चाको आवाज
रात्रिभोजमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयका कर्मचारी तथा सचिवालयका प्रायः सदस्य सहभागी थिए। त्यस्तै, परराष्ट्र मन्त्रालयका केही कर्मचारीहरुको पनि सहभागिता थियो। रात्रिभोजमा सहभागी सबै पाहुनाका लागि एउटा मापदण्ड तय गरिएको थियो।

जसअनुरुप सबै पाहुनाले अनिवार्यरुपमा आफ्नो मोबाइलको स्विच अफ गर्नुपर्ने थियो। तर, अरुलाई फोन अफ गर्न र अनुशासनमा बस्न आग्रह गर्ने परराष्ट्रका कर्मचारी बसेको २३ र २४ नम्बर टेबलमा घरी फोनको घन्टी बजेको त घरी कानेखुसीको आवाज आउने गरिरहेको थियो। यस्तै कार्यका कारण सबैको ध्यान ती दुई टेबलले तानेका थिए।

राष्ट्रपति सीले मन्तब्य दिँदै गर्दा २३ नम्बर टेबलबाट चम्चा खसेको आवाज आयो। शान्त हलमा चम्चा खसेको आवाज ठूलै सुनिएपछि धेरैले लाजको अनुभूती गरेको एक पाहुनाले बताए।

‘कहाँबाट आवाज आयो भनेर सबैको ध्यान केन्द्रित भएकोे थियो’, ती पाहुनाले भने, ‘२३ नम्बरको टेबलबाट चम्चा खसेको भन्ने थाहा पाएपछि सुरक्षाकर्मीले पनि सो टेबलमा निगरानी बढाएका थिए।’ 

१२ बजेसम्म थुनिए पाहुना
थुप्रै सहभागीले रात्रिभोजमा सहभागी भएर राष्ट्रपति सीसँग कुरा गर्ने धोको राखेका थिए। कतिपयले सीसँग के कुरा गर्ने भन्नेबारे तयारीसमेत गरेका थिए। तर, रात्रिभोजमा समकक्षी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत केही उच्च पदस्थ ब्यक्तिबाहेक अन्य राष्ट्रपति सीको नजिकसमेत पुग्न पाएनन्। यतिसम्म कि नेपालस्थित चिनियाँ दूतावासका उच्चस्तरका कर्मचारीसमेत उनी नजिक जान पाएनन्।

राष्ट्रपति सी राति ९ बजेर ५७ मिनेट जाँदा रात्रिभोजबाट उठे। सी बाहिरिएपछि राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन बाहिरिए। राष्ट्रपति र उपराष्ट्रपति ढोकातर्फ जाँदै गर्दा प्रधानमन्त्री बाहिरिने पालो आयो। उनले आफू बाहिरिँदा सम्भव भएसम्म पाहुनासँग हात मिलाएर मुस्कान छाडेका थिए।

हात मिलाउँदै ओली बाहिरिएपछि अन्य पाहुना ठेलामठेल गर्दै मेघा हलबाट बाहिर निस्किए। २५ मिनेटको पर्खाइपछि बाहिर निस्कन पाएका पाहुना निकै हतारमा देखिन्थे।

‘सबैले हतार गर्दा पार्किङ गरिएको गाडी निकाल्न हम्मेहम्मे पर्यो’, एक सचिवले गुनासो पोखे, ‘जाम भएपछि १२ बजेसम्म पनि साथीहरु घर जान पाएनन्, मेरो पनि एक घन्टा ढिला भयो।’

टेबलमा चलेका चर्चा
रात्रिभोजमा सहभागी पाहुनाले आ–आफ्नो टेबलमा राष्ट्रपति सी र भ्रमणका बारेमा चर्चा गरेका थिए। धेरैले २३ वर्षपछि चीनबाट राष्ट्रपतिस्तरीय भ्रमण हुनुलाई उपलब्धिका रुपमा ब्याख्या गरेका थिए। त्यस्तै, नेपालका नेताको विषयमा समेत छलफल भएको थियो।

रात्रिभोजमा सहभागी एक सरकारी अधिकारी भन्छन्, ‘नेपालका नेताहरुले आँट गर्ने हो र विश्वास जित्ने हो भने चीन जस्तोसुकै सहयोग गर्न तयार छ भन्ने खालका विषयमा पनि कानेखुसी भएको पाइयो।’

त्यसैगरी, नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्नेबाहेक चीनको अन्य राजनीतिक चासो नरहेको कुरासमेत रात्रिभोजका सहभागीका टेबलमा चर्चाको विषय बनेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .