ad ad

राजनीति


चितवन २ : बाँकी २ दिनले निर्धारण गर्नसक्छ नतिजा

रवि ढुक्क, कांग्रेस-एमाले पनि उत्साहित
चितवन २ : बाँकी २ दिनले निर्धारण गर्नसक्छ नतिजा

फाइल तस्बिर


सागर न्यौपाने
बैशाख ७, २०८० बिहिबार ११:१२, काठमाडौँ

वैशाखको चर्को घामले चितवन जति तातिएको छ, त्योभन्दा बढी यो ठाउँ अहिले चुनावी माहोलले तताएको छ। 

आगामी १० गते उपचुनाव हुने चितवन क्षेत्र नम्बर २ मा मुख्य रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदै छ।

यहाँ रास्वपाबाट सभापति रवि लामिछाने, कांग्रेसबाट निवर्तमान जिल्ला (चितवन) सभापति जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

लामिछानेले ४ मंसिरको चुनावमा फराकिलो मतान्तरसहित कांग्रेस-एमाले उम्मेदवारहरुलाई हराएका थिए। मंसिरमा जित निकालेका रविले अहिले पनि चुनावी माहोल आफ्नै पक्षमा पार्ने प्रयास जोडतोडका साथ गरिरहेका छन्। 

यहाँ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत सत्ता गठबन्धनमा आबद्ध दलको साथले मंसिर ४ को हारको बदला लिन कांग्रेसले सबै शक्ति लगाइरहेको छ।

महामन्त्री गगन थापाले आइतबार भाषण गरेपछि मंसिरमा रविलाई भोट हालेका केही कार्यकर्ताहरु कांग्रेसका पक्षमा खुलेका छन्। चार दिनयताको माहोलले अप्रत्याशित नतिजा ल्याउन सकिने अपेक्षासहित कांग्रेसले चुनावी रणनीति बदलेको छ।

उसका उम्मेदवार जीतनारायण र अरु नेता भीड जम्मा नगरी मतदाताकहाँ पुगिरहेका छन्। त्यसबाहेक उसले एमालेको ‘मुभ’ पनि हेरिरहेको छ। कांग्रेसको विश्लेषण छ- एमालेले संगठित मत मात्रै जोगायो भने चुनावी परिणाम बाहिर चर्चा गरेभन्दा भिन्न आउँछ। 

तर बाहिर चर्चा छ- मतदाता रविकै पक्षमा छन्।

‘एमालेले थोरै मात्र कभर बढाइदियो भने यसपटक चुनावमा अप्रत्याशित नतिजा आउँछ’, कांग्रेस चितवन उपसभापति राजीव न्यौपानेले नेपालखबरसँग भने, ‘यो क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका केही वडाका मतदातालाई हाम्रो पक्षमा ल्याइसकेका छौँ, उहाँहरुलाई हाम्रै पक्षमा एकढिक्का बनाउन सफल भयौँ।’

कांग्रेसले आफ्ना सबै प्रभावशाली नेताहरूलाई चितवन उतारेको छ। महामन्त्री गगन थापा मंगलबारसम्म (५ वैशाख) त्यहीँ बसे। नेताहरूलाई एकजुट बनाउने कोसिस गरे।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा यो क्षेत्रका चुनावी कमान्डर नै छन्। केन्द्रीय सदस्य प्रकाशमान सिंहदेखि रामहरि खतिवडासम्म चुनाव प्रचारमा खटिएका छन्। त्यसबाहेक अन्य प्रभाव पार्न सक्ने नेता पनि चितवन झरेका छन्। 

बिहीबार गठबन्धनले त्यस क्षेत्रमा बृहत् चुनावी सभा गर्दैछ। सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्दै छन्। 

सभापछि चुनावी माहोल आफ्ना पक्षमा बढ्ने कांग्रेसको आकलन छ। 

अहिलेसम्मको अवस्था हेर्दा रास्वपा उम्मेदवार रवि नै बलियो उम्मेदवार देखिन्छन्। उनले पुरानै लय कायम राख्न क्रियाशील भएर सबै संयन्त्र परिचालन गरेका छन्। 

त्यही बुझेर कांग्रेसले टोल-टोलमा नेता-कार्यकर्ता खटाएको छ। पहिलाभन्दा फरक नतिजा ल्याउन सकिने विश्लेषण गरेर प्रचारप्रसार मतदाता केन्द्रित गराइएको छ। केन्द्रीय नेताहरू चितवनमा जम्मा हुनुको कारण यही हो।

कस्तो छ माहोल?
शुक्रबारदेखि चुनावी गतिविधि गर्न पाइँदैन। 

कांग्रेस यही दुई दिनमा चुनाव आफ्ना पक्षमा पार्न प्रयासरत छ। रवि भने पुरानो मत जोगाउन लागिरहेका छन्। 

रविलाई सहानुभूतिको मत धेरै खस्ने सम्भावना देखिन्छ। 

‘आम मतदातामा पुराना राजनीतिक दलहरु रवि हराउन लागे भन्ने परेको छ, त्यही भएर सबै रवितिर खनिन सक्छन्’, व्यवसायीसमेत रहेका चितवनका मनिष सापकोटाले भने, ‘दलहरुले जति बल लगाए पनि स्याम्पेथी (सहानुभूति) मत उनैलाई जान्छ।’

त्यस क्षेत्रका मतदाताको मनोविज्ञान रविलाई जिताउने छ। त्यो संख्या ६० प्रतिशत छ। बाँकी दोस्रो र तेस्रो स्थानका लागि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

तर, बाँकी दुई दिनको समयमा कांग्रेस बौरिन सक्ने सम्भावना रहेको सापकोटाले बताए। 

‘चुनावी सभाको भाषणले अब कांग्रेसको मत बढ्ने/नबढ्ने देखाउँछ’, उनले भने, ‘रविलाई गाली गरे मत झन् घट्छ। डिप्लोम्याटिक सम्बोधन गरे मतदाता अन्योलमा पर्छन्। किनभने रविजीले राजनीतिक दललाई निकै गाली गरेका छन्।’

‘अबका दुई दिनमा कांग्रेस-एमालेको गतिविधि बढी र प्रभावकारी भयो भने रविलाई टक्कर दिन्छन्’, उनले थपे, अहिले ६०/४० को अवस्था छ।’
कांग्रेस त्यही १० प्रतिशत मत बढाउने भित्री तयारीमा छ। 

आन्तरिक तहमा एकढिक्का भएर होमिएको कांग्रेस भरतपुर महानगरपालिकाका १० वडाबाट बढी आशावादी छ। इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका एमालेको वर्चस्व भएका क्षेत्र हुन्। 

तर यी दुवै स्थानीय तहमा रविले प्रभाव पारिसकेका छन्। यद्यपि एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सांगठनिक सबै मत जोगाउने देखिन्छ।

आममतदाता पनि तान्न उनले पार्टीपंक्ति परिचालन गरेका छन्। उपाध्यक्ष विष्णु पौडेल र सचिव योगेश भट्टराई चुनाव क्षेत्र घुमिसकेका छन्।

स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, देवी ज्ञवाली, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा चुनावी रणनीति बनाउँदै नेताहरूलाई खटाइरहेका छन्। 

यसपटक एमाले सबै असन्तुष्टलाई संगठित गराउन सफल भएको छ। चुनाव जित्नै मिहिनेत गरेको एमाले संगठन बलियो बनाउन सकेकामा खुसी छ। विगतमा संगठन भत्किएर चितवनमा आफू कमजोर बन्दै गएको उसको विश्लेषण थियो। 

तर, बलियो एजेन्डा नहुँदा उसले नयाँ मतदातालाई आकर्षण गराउन नसकेको देखिन्छ।

रामप्रसादको व्यक्तित्व, युवा र जनपरिचालनको शैली राम्रो छ, तर त्यतिले मात्रै चुनाव जित्न सम्भव छैन। अहिलेसम्म कांग्रेस र एमालेमा को दोस्रो हुने भन्ने मात्रै प्रतिस्पर्धा देखिन्छ।

आत्मविश्वासी रवि 

कांग्रेस-एमालेले आफूले पहिला पाएको मत फर्काएपछि दबाबमा देखिएका रविलाई नयाँ मतदाताको साथ पाउने सम्भावना देखिन्छ।

त्यसलाई यहाँ मतदाता साटिएको रूपमा अर्थ्याइएको छ।

‘रविको फिल्मी शैलीको क्याम्पियनबाट इन्फ्लुइन्स भएर नयाँ मतदाता उनका पक्षमा खुलेका छन, एक विश्लेषकले नेपालखबरसँग भने, पहिला उनको पक्षमा लागेका धेरै पुराना दलमा फर्किएका छन् तर न्युट्रल मत उनकै पक्षमा खुले त्यही भएर रविकै पल्ला भारी छ।’

रास्वपा-कांग्रेसबीच तीव्र प्रतिस्पर्धाको फाइदा लिने दाउमा एमाले छ।

यद्यपि चुनावी हारजितको कुरा भनिहाल्न कठिन छ। किनकि तीन दिनयताको चितवनको माहोलले रविलाई  कांग्रेस–एमालेले कडा टक्कर दिने संकेत देखिएको छ।

तर, चुनावी माहोल विश्लेषण गरिरहेका चितवनका केही वौद्धिक व्यक्ति पछिल्ला तीन दिनयताकाे अवस्था हेरेर नतिजा आकलन गरिहाल्न हतार हुने बताउँछन्। 

‘कांग्रेसका पुरानै कार्यकर्ताहरु जीतनारायणका पक्षमा खुल्न थालेका छन्, यो क्रम अझै दुई दिन बढ्यो भने चुनावी परिणाम अनुमानभन्दा पृथक हुनसक्छ, अहिलेसम्म रविले नै जित्ने देखिन्छ तर, अबको दुई दिनको मुभ के हुन्छ, त्यसैले नतिजा आफ्नो पक्षमा पार्छ।’

कांग्रेस र एमालेले पुराना गढमा घरदैलो केन्द्रित गरेका छन्।

अहिलेसम्म भरतपुर महानगरपालिका ४, ७, १२ र २९ मा कांग्रेसले पुरानो मत पाउने विश्वास लिएको छ।

एमालेले १, ३, ११ वडालाई बढी ध्यान दिएको छ। यही वडाबाट मंसिरको चुनावमा रास्वपाका सभापति रविले बढी मत पाएको उनीहरुको विश्लेषण छ। 

जगन्नाथले रविको मत बढाए कि घटाए?
चितवनका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल रविका पक्षमा खुलेका छन्।

पौडेलका पक्षमा लागेका नेताहरु कति छन्? उनले भनेपछि कतिले मान्छन्? मतदातासम्म उनको पहुँच कति छ? यसै भन्न सकिँदैन।

तर, पौडेल प्रभावशाली नेता हुन्। अहिले पनि उनलाई नेता मान्ने मानिस चितवनमा छन्।

त्यस क्षेत्रमा उनले प्रभाव पार्न सक्ने ठाउँहरुमा रविकै पक्षमा मत मागिरहेका छन्।

यो भूमिकाप्रति पौडेलकै पक्षमा रहेका कांग्रेस कार्यकर्ता बिच्किएका छन्।

कांग्रेसलाई कांग्रेस नै बनाउनुपर्छ भन्ने पौडेल नै रविको शरणमा गएको भन्दै यसअघि रविलाई मत दिएकाहरु जितनारायणका पक्षमा खुल्न थालेको चितवन कांग्रेस उपसभापति न्यौपानेले दाबी गरे। 

‘जगन्नाथजीले कांग्रेसलाई फरक धारमा अगाडि बढाउँछु भनेर झुट बोलेका रहेछन् भन्ने साथीहरुको गुनासो छ’, उनले भने, ‘साथीहरु हाम्रो कुरामा कन्भिन्स हुनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .