राजनीति


बागमती सरकारले माग्यो आगामी बजेटका लागि सुझाव

बागमती सरकारले माग्यो आगामी बजेटका लागि सुझाव

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १२:१२, हेटौंडा

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माणको लागि सुझाव माग गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया सुरु भएको जानकारी गराउँदै सरोकारवाला तथा आम नागरिकबाट सुझाव माग गरेको हो। मंगलबार सूचना जारी गर्दै मन्त्रालयले प्रदेशको आवश्यकता, प्राथमिकता र जनचाहनालाई समेट्ने गरी प्रभावकारी तथा परिणाममुखी बजेट निर्माणका लागि सुझाव संकलन गर्न सूचना जारी गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आगामी बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजना, नीति, कार्यक्रम तथा विकासका प्राथमिक क्षेत्रबारे सुझाव दिन सकिनेछ। प्रदेश सरकारको आर्थिक, सामाजिक, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग, वातावरण तथा सुशासनलगायतका क्षेत्रमा सुधार र विकासका लागि आवश्यक विषय समेटेर सुझाव पठाउन आग्रह गरिएको हो।

प्रदेश सरकारको बजेट निर्माण प्रक्रियालाई थप सहभागितामूलक, पारदर्शी र जनमुखी बनाउन सुझाव संकलन अभियान सुरु गरिएको मन्त्रालयले जनाएको छ। यसका लागि विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्ना अमूल्य सुझाव उपलब्ध गराउन अनुरोध गरिएको मन्त्री तामाङले बताए। 

उनका अनुसार सुझाव संकलनका लागि जेठ १५ गतेसम्मको समयमसीमा तोकिएको छ। सुझाव मन्त्रालयको इमेल ठेगानामार्फत पठाउन सकिनेछ भने प्रत्यक्ष रूपमा मन्त्रालयमा समेत उपलब्ध गराउन सकिने सूचनामा उल्लेख गरिएको छ। 

प्रदेश सरकारले आगामी बजेटलाई उत्पादन, रोजगारी, पूर्वाधार विकास तथा जनजीविकासँग जोड्ने लक्ष्य लिएको बताउँदै मन्त्री तामाङले नागरिकस्तरबाट आउने सुझावलाई विशेष महत्त्व दिएर बजेट निर्माण गर्न लागिएको बताए। बागमतीमा यही जेठ १४ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने र असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad