गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सोमबार विज्ञप्ति जारी गरी उनले संघ एक नयाँ परिस्थिति र निर्णायक मोडमा उभिएको भन्दै एनआरएनएलाई अझ सान्दर्भिक, प्रभावकारी र सबैलाई समेट्ने बनाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्।
झन्डै २० वर्षदेखि एनआरएन अभियानमा निरन्तर लागिरहेको, महासचिव, उपाध्यक्ष, प्रवक्ता, संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलनको संयोजक, संविधान संशोधन सल्लाहकार समितिको संयोजकलगायत भूमिका र जिम्मेवारीमा रहिसकेकाले अब अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।
‘हाम्रा विविध विचार र महत्वाकांक्षाका कारण केन्द्रीय नेतृत्वबीच अनावश्यक विभाजन हुँदा सम्पूर्ण नेपाली डायस्पोरा पनि विभाजनको अवस्थामा पुगेको छ। यसका कारण नागरिकतासहितका एनआरएनएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा परेका मात्र छैनन्, संघकै अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने आशंका बढ्दै गएको छ’, डा शर्माले भनेका छन्, ‘संसारभर ८० हजारभन्दा बढी सदस्य भएको एनआरएनएले ५८ वटा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको छ। साथै २०२५ अक्टोबरमा काठमाडौँमा हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ४,७०० भन्दा बढी प्रतिनिधिले आवेदन दिएका छन्। यी प्रतिनिधिहरू संस्थालाई उज्ज्वल भविष्यतर्फ डोर्याउन सक्षम नेतृत्वको खोजीमा छन्।’
अहिलेकै चुनौतीहरूलाई नम्रतापूर्वक स्वीकार्दै २०२५–२०२७ कार्यकालका लागि एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले उल्लेख गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘एनआरएनएको रि-ब्रान्डिङ गर्दै यस संस्थालाई सबैले अपनत्व महसुस गर्ने र पुस्तौँसम्म रहने धरोहर संस्थामा रूपान्तरण गर्नु मेरो मुख्य योजना हुनेछ।’
डा शर्माले आफू एकीकृत, समावेशी, प्रविधिमैत्री, नतिजामुखी, दिगो, सबल, जवाफदेही, पारदर्शी र बहुआयामिक एनआरएनए निर्माणमा केन्द्रित हुने उल्लेख गर्दै अध्यक्ष पदमा निर्वाचित भए मातृभूमि नेपालका लागि डायस्पोराका नेपालीका सिप, ज्ञान, नवप्रवर्तन र आर्थिक लगानी भित्र्याउने वातावरण तयार पार्ने, सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न सहयोग गर्ने तथा नेपाल सरकार र अन्तरराष्ट्रिय संस्थासँगको साझेदारी सुदृढ गर्ने विषयमा पनि विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘साथै संघलाई आर्थिक, राजनीतिक र अन्य बाह्य नकारात्मक प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व चयन सम्पूर्ण पञ्जीकृत सदस्यहरूको प्रत्यक्ष मतदानबाट गर्ने व्यवस्थासहित अन्य संस्थागत संरचनामा आमूल परिवर्तन गर्न अग्रसर हुनेछु’, उनले विज्ञप्तिमा भनेका छन्।
नेपाल सरकारको सहकार्यमा पहिलो र दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनका संयोजक बनेर उनले संसारभरिका विज्ञलाई नेपालसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याएका थिए। बागलुङमा जन्मिएका डा शर्मा बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा सिनियर लेक्चरर छन्।
उनी सन् १९९७ मा भौतिकशास्त्रतर्फ त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्ट हुन्। फ्रि युनिभर्सिटी बर्लिनबाट भौतिक शास्त्रमा पीएचडी सकेपछि डा. शर्माले पोस्ट डक्टरल फेलोसिपका लागि जापान गएर जापान सरकारकै मातहतमा रहेको राष्ट्रिय प्रयोगशालामा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा काम गरेका थिए।
सन् २००७ देखि युनिभर्सिटी अफ लिभरपुलमा लेक्चरर र सिनियर लेक्चररका रूपमा सेवारत डा शर्मा अब छिटै प्रोफेसर हुने बाटोमा छन्।
Shares

प्रतिक्रिया