ad ad

राजनीति


एउटै बाबुका चार छोरा : दुईले अध्यक्ष र एकले वडाध्यक्ष जिते, अर्का उपाध्यक्षमा हारे

एउटै बाबुका चार छोरा : दुईले अध्यक्ष र एकले वडाध्यक्ष जिते, अर्का उपाध्यक्षमा हारे

सुमन पुरी
जेठ २, २०७९ सोमबार १७:३८, काठमाडौँ

स्थानीय तहको निर्वाचन सकिँदा सबैभन्दा खुसी कोही छ भने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका हेमराज रुम्दालीको परिवार छ। 

हेमराजका पाँचभाइ छोरामध्ये तीन भाइले स्थानीय तहको निर्वाचन जितेका छन्। दुई जना त पालिकाको अध्यक्ष नै बनेका छन्। 

जेठा राजकुमार रुम्दाली मानेभञ्ज्याङ गाँउपालिका–१ को वडाध्यक्षमा निर्वाचित भएका छन्। ४५ वर्षीय राजकुमार नेपाली कांग्रेसबाट विजयी भएका हुन्। उनले ४५७ मत पाए। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुजन रुम्दालीले ४१४ मत ल्याए।

राजकुमारकै भाइ ज्ञानेन्द्र रुम्दाली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। ज्ञानेन्द्र पनि नेपाली कांग्रेस नै हुन्। तर पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

धारो चिन्ह पाएका ज्ञानेन्द्रले मतदाताको साथ पाए। मानेभञ्ज्याङमा कांग्रेसले भने माओवादीसँग गठबन्धन समेत गरेको थियो।

३९ वर्षीय ज्ञानेन्द्रले ५ हजार ३१ मत पाए। उनका प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले ३ हजार ८१६ मत पाएका छन्। 

यही पालिकाको उपाध्यक्षमा पनि ज्ञानेन्द्रका भाइ दीपेन्द्र रुम्दाली उम्मेदवार थिए। तर उनी भने पराजित भए। जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका ३६ वर्षीय दीपेन्द्र कांग्रेससँगै पराजित भए। 

कांग्रेसकी आश्राचन राईले ४ हजार ७८० मत पाएर निर्वाचित भइन्। दीपेन्द्रले २ हजार ५७७ मत मात्रै पाए। 

उता ज्ञानेन्द्रका दाइ ४० वर्षीय जितेन्द्र रुम्दाली धनकुटाको साँगुरीगढी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उनी पनि नेपाली कांग्रेसबाटै निर्वाचित भएका हुन्। जितेन्द्रले ५ हजार ३९९ मत पाउँदा उनका प्रतिस्पर्धी कुमारजंग याक्खाले ४ हजार ८२८ मत पाए। 

यसअघिको निर्वाचनमा धनकुटाका सबै पालिका एमालेले जितेको थियो। 

एकै परिवारबाट तीन जना निर्वाचित भएपछि माइला भाइ धिरेन्द्र रुम्दालीले खुसीसँगै जिम्मेवारी पनि बढेको बताए। 

‘अघिल्लो पटक दुवै भाइले हारेका थिए। यस पटक दुवैले बाजी मारे,’ धिरेन्द्रले भने, ‘हाम्रो परिवारलाई यस पटक जनताले न्याय गरेको छ। हामी जनताको सेवा गर्न लाग्ने छौँ।’ 

उनीहरुका आमा भने दुई जना हुन्।

जितेन्द्रले लिए बदला
ओखलढुंगाबाट २०४९ सालतिर धरान झरे जितेन्द्र रुम्दाली। पढाइका लागि धरान झरेका जितेन्द्रले धरानलाई कर्मथलो बनाए। उनी धरानमा होटल व्यवसाय गर्थे। त्यसपछि उनी ०५६ सालतिर पर्यटकीय क्षेत्र भेडेटार उक्लिए। 

०५६ सालदेखि भेडेटारमा होटल व्यवसाय सुरु गरेका जितेन्द्र होटल व्यवसायी संघ भेडेटारमा सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष समेत भए। 

ओखलढुंगाबाट भविष्य खोजेर धरान झरेका जितेन्द्र भेडेटार साँगुरीगढीमा बस्दा राजनीतिमा संलग्न भए। उनलाई अघिल्लो पटक पनि नेपाली कांग्रेसले अध्यक्षको उम्मेदवार बनायो। तर उनी पराजित भए। 

यस पटक भने जितेन्द्रले बाजी मारे। यो पालिकामा उपाध्यक्षमा भने एमालेबाट मुना राई ४६५० मतसहित निर्वाचित भएकी छन्। साँगुरीगढीमा कांग्रेस, माओवादी, जसपासहितको गठबन्धन थियो।

जितेन्द्रले अघिल्लो पटक ३३३३ मत ल्याएका थिए। उनलाई एमालेका कुमारजंग याक्खाले हराए। याख्खाको ४४४९ मत आएको थियो। 

यसपटक उनले याक्खालाई नै हराए।

सधैँका बागी ज्ञानेन्द्र 
मनेभञ्ज्याङ गाँउपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षको आकांक्षी थिए ज्ञानेन्द्र रुम्दाली। 

उनले धेरै कोसिस गरे, तर टिकट पाएनन्। त्यसपछि उनले प्रदेश सभा सदस्यका लागि पनि नेपाली कांग्रेसबाट उम्मेदवार हुन खोजे। तर प्रदेश सभामा पनि टिकट पाएनन्। त्यसपछि उनी बागी उठे। 

उनले ओखलढुंगा प्रदेश ख बाट स्वतन्त्रमा उठेर १८ सय बढी मत ल्याए। गाउँमा सहकारी अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्रले यस पटक पनि अध्यक्षको उम्मेदवार हुन खोजे तर कांग्रेसले टिकट दिएन। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

पालिकामा कांग्रेस माओवादीको गठबन्धन थियो। तर, कांग्रेसी मतदाताले उनलाई नै रोजे।

वडाध्यक्षमा दोहोरिए ठूल्दाइ 
जेठा दाइ राजकुमार रुम्दाली अघिल्लो पटक पनि मानेभञ्ज्यांग गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका थिए। 

अघिल्लो स्थानीय तहको निर्वाचनमा ३१९ मत ल्याएका थिए। यस पटक उनीसँगै भाइहरु पनि नेतृत्वमा आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .