राजनीति


उपेन्द्र यादवको दुर्भाग्य : कांग्रेससँग मिल्दा छोरा हारे, एमालेसँग मिल्दा आफैँ पराजयनजिक

उपेन्द्र यादवको दुर्भाग्य : कांग्रेससँग मिल्दा छोरा हारे, एमालेसँग मिल्दा आफैँ पराजयनजिक

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २०:३०, काठमाडौँ

यदि साँच्चिकै ईश्वरको अस्तित्व छ भने उनै आए पनि सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको अब उद्धार गर्न सक्ने छैनन्। 

जारी मतगणनाका क्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत 'सीके'सँग सुरुदेखि पछाडि पर्दै आएका यादव पछिल्लो मतगणनाअनुसार १ हजार ९ सय ३६ मतसहित दोस्रो स्थानमा छन्। 

अग्रस्थानमा रहेका राउतले ४ हजार ६ सय २० मत पाएका छन्। 

यी दुईबीच २ हजार ६ सय ८४ मतको अन्तर छ। अर्थात् यादवले प्राप्त गरेभन्दा राउतले प्राप्त गरेको मत दोब्बरभन्दा पनि बढी छ। 

प्रत्येक मतगणनामा राउतले मतान्तर बढाउँदै लगेका छन्। यो रुझान हेर्दा यादवका लागि यसपटक सप्तरी-२ मा परिणाम उल्ट्यान असम्भवप्राय छ। 

२०७४ को आम निर्वाचनमा मधेशवादी गठबन्धनको उम्मेदवारका रुपमा अध्यक्ष यादवले यही निर्वाचन क्षेत्रबाट वामगठबन्धनका उमेश यादवलाई भारी मतान्तरले पराजित गरेका थिए। 

यसपटकको निर्वाचनमा उम्मेदवारी दर्ता हुनु केही हप्ताअघिसम्म यादव नेतृत्वको जसपा सत्ता गठबन्धनमा आवद्ध थियो। 

तर, एमालेसँग गठबन्धन गर्दा धेरै सिट प्राप्त गर्ने भएपछि उनले सत्ता गठबन्धन छाडी एमालेसँग गठबन्धन गरेका थिए। 

एमालेसँग गठबन्धन गरे पनि त्यस क्षेत्रमा सत्तागठबन्धनको मत बढी भएकाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरसँग हुने ठानिएको थियो। 

तर, अध्यक्ष यादव जारी मतगणनामा पछि परेका छन्। एमालेसँगको गठबन्धनका बाबजुद त्यहाँ उनी अवस्यम्भावी हारको प्रतीक्षामा छन्। 

प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा मात्र होइन, गत स्थानीय तह निर्वाचनको परिणामपनि यादवका लागि सुखद थिएन। 

त्यस निर्वाचनमा जसपा वर्तमान सत्तागठबन्धनमा आवद्ध थियो। नेपाली कांग्रेसको भागमा विराटनगर महानगरपालिका प्रमुख पर्दा उपप्रमुख जसपाले पाएको थियो। 

आफ्नो गृहनगरसमेत भएकाले यादवले त्यस निर्वाचनमा छोरा अमरेन्द्र यादवलाई महानगरपालिका उपप्रमुखको उम्मेदवार बनाएका थिए। 

प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला उम्मेदवार थिए। 

कांग्रेस उम्मेदवार नागेशविरुद्ध जसपा परित्याग गरेका उमेशकुमार यादवले बागी उम्मेदवारी दिएका थिए। 

वडा तहमा गठबन्धन नभएको र माओवादी केन्द्रको भागमा प्रमुख–उपप्रमुख दुवै नपरेकाले माओवादी नेतृ नमिता न्यौपानेले पनि बागी उम्मेदवारी दिइन्। 

निर्वाचनमा कांग्रेसका नागेश कोइराला ३० हजार १ सय ७० मतसहित विजयी भए। यहाँ दोस्रो स्थानमा रहेका एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गरेका थिए। 

उपप्रमुखमा भने उपेन्द्रपुत्र अमरेन्द्र भने भारी मतान्तरले पराजित हुन पुगे। 

एमाले उम्मेदवार शिल्पा कार्की २५ हजार ६ सय ८० मतसहित विजयी हुँदा अमरेन्द्रले १४ हजार २ सय ११ मतमात्र प्राप्त गरेका थिए। 

विजयी कार्की र निकटतम प्रतिद्वन्दी यादवबीचको मतान्तर १० हजार भन्दा बढी थियो। 

मेयरमा जसपाका बागी उमेशले ८ हजार ७ सय ९५ र उपमेयरमा माओवादी केन्द्रकी बागी नमिताले ५ हजार १ सय १७ मत प्राप्त गरेकी थिइन्। 

८ महिनाका बीचमा भएका निर्वाचन र यी निर्वाचनमा पालैपालो कांग्रेस र एमालेसँग गठबन्धनका बाबजुद अध्यक्ष यादवका बाबु–छोरा दुबैले निराशाजनक परिणाम बेहोर्नु परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .