राजनीति


कांग्रेसले पाएको रोल्पा ‘ख’ मा माओवादीका बागीको फराकिलो अग्रता, कांग्रेस तेस्रो स्थानमा

कांग्रेसले पाएको रोल्पा ‘ख’ मा माओवादीका बागीको फराकिलो अग्रता, कांग्रेस तेस्रो स्थानमा

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २०:५७, काठमाडौँ

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको भागमा परेको रोल्पा ‘ख’ मा माओवादी केन्द्रका बागी उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन्। 

कांग्रेसको भागमा परेपछि माओवादी केन्द्रबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका निवर्तमान प्रदेश सभा सदस्य दीपेन्द्र पुन (सिजल) ले त्यहाँ फराकिलो अग्रता बनाएका हुन्। 

माओवादीको प्रभाव रहेको रोल्पामा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो। कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनलाई सो क्षेत्रमा उम्मेदवार बनाएको थियो। 

माओवादी प्रभाव रहेको सो क्षेत्र कांग्रेसलाई छाड्ने निर्णयप्रति रोल्पाका माओवादी नेता–कार्यकर्ता असन्तुष्ट थिए। असन्तुष्ट समूहले दीपेन्द्रलाई उम्मेदवार बनाएको थियो। 

यसपटक धारा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका उनी २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। 

जनयुद्धका क्रममा आन्तरिक विस्फोटमा परी दीपेन्द्रले एउटा हात समेत गुमाएका थिए। अपाङ्गसमेत रहेकाले माओवादी पंक्तिभित्र उनको लोकप्रियता उच्च थियो।  

सत्तागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता अमरसिंह पुन भने २०७४ को आम निर्वाचनमा प्रतिनिधि सभातर्फ माओवादी नेता वर्षमान पुनका प्रतिस्पर्धी थिए। 

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आफ्नै पार्टीका नेताले बागी उम्मेदवारी दिएपनि माओवादी नेता वर्षमान पुनले भने गठबन्धनका उम्मेदवार भएकाले इमान्दारितापूर्वक कांग्रेसका अमरसिंहलाई नै मत दिन आग्रह गर्दै आएका थिए। 

तर, उनको आग्रह विपरित बागी उम्मेदवारको पक्षमा भारी मत परेको प्रारम्भिक मत परिणामले देखाएको छ। त्यहाँ दीपेन्द्रले ८ सय १ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवार ३ सय ९७ मतसहित दोस्रो स्थानमा छन्। 

गठबन्धनबाट उम्मेदवार बनेका अमरसिंह भने ३ सय ६९ मतसहित तेस्रो स्थानमा छन्। 

माओवादी केन्द्रको भागमा परेको रोल्पा ‘क’ मा भने सो पार्टीका उम्मेदवार जोखबहादुर महरा अग्रस्थानमा छन्। महराले ६ सय ४४ मत प्राप्त गर्दा एमाले उम्मेदवारले २ सय ५० र राप्रपा उम्मेदवारले १ सय १० पाएका छन्। 

प्रतिनिधि सभामा भने माओवादी नेता वर्षमान पुन झण्डै पाँच गुणना बढी मतान्तरले अग्रस्थानमा छन्। पुनले १ हजार १ सय ५५ मत प्राप्त गर्दा एमालेका पूर्ण घर्तिले २ सय १७ मतमात्र पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .