सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीका पक्षमा ३४ हजार ६ सय २५ आएको छ।
उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसीलाई ५ हजार ६७ मतान्तरले हराएका हुन्।
एमाले नेता बीसीले २९ हजार ५५८ मत प्राप्त गरे।
थानीले अहिलेसमेत गरेर तीनपटक संसदीय निर्वाचन जिते। ०७४ मा नेकपा एमालेसँगको हारको बदला योपटक थानीले गठबन्धनको बलमा लिएका छन्।
०७४ मा एमालेका नवराज रावतसँग उनी हारेका थिए। रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर निर्वाचित हुँदा उनले २८ हजार ६४६ मत मात्र प्राप्त गरेका थिए।
थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट सांसद चुनिएका थिए भने सहकारी तथा गरिबी निवारण मन्त्री पनि भइसकेका नेता हुन्।
को हुन् थानी?
थानी ०१७ जेठ २६ गते पिता पद्मलाल थानी र माता देवी थानीको पुत्रका रूपमा बयलकाँडा सुर्खेतमा जन्मिएका हुन्। अहिले उनी वीरेन्द्रगनर नगरपालिका–१ मा बस्छन् र इन्जिनियररिङ क्याम्पस (पुलचोक) बाट आईई गरेका उनले शंकरदेव क्याम्पस व्यवस्थापन संकायमा स्नातक र त्रिवि (कीर्तिपुरबाट एमए गरेका छन्।
विद्यार्थी राजनीतिमा सुरुदेखि नै लागेका थानी नेपाल विद्यार्थी संघ एकाई समिति, इन्जिनियरिङ क्याम्पस (पुलचोक, ललितपुर) मा २०३५–२०३९ सम्म सभापति भएका थिए। स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए।
नेपाली कांग्रेस जिल्ला कार्या समिति, सुर्खेतको २०४५/२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए। नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९/२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर काम गरेको अनुभव पनि उनीसँग छ।
नेपाली कांग्रेसको १३औं महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए। थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ। उनले पटकपटक जेल जीवन बिताएका छन्। २०४२ सालको सत्याग्रहका बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्वारा गरिएको आन्दोलनका क्रममा केन्द्रीय कारागार पुगे। फेरि २०४६ सालको जनआन्दोलनमा उनलाई भद्रगोल जेल हालिएको थियो।
Shares
प्रतिक्रिया