ad ad

राजनीति


एमालेको मत घण्टीले लैजाँदा समस्यामा महासचिव पोखरेल

एमालेको मत घण्टीले लैजाँदा समस्यामा महासचिव पोखरेल

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १५:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँगको मतान्तर उल्लेख रुपमा घटाउने योजनामा एमाले महासचिव शंकर पोखरेल असफल देखिएका छन्। 

एमालेको प्रभाव रहेका वडामा शर्माले पोखरेलसँग प्रतिस्पर्धी मत हासिल गरेपछि दाङ क्षेत्र नम्बर २ को प्रतिस्पर्धा झन् रोचक बनेको छ। 

मंगलबार (६ मंसिर) रातिसम्मको मतगणनामा पोखरेलभन्दा शर्मा १ हजार ९ सय १२ मतान्तरले अगाडि थिइन्। 

त्यतिन्जेल गठबन्धनको प्रभाव रहेका बुथहरुको गणना गरिएको थियो। बुधबार एमाले प्रभावका बुथमा गणना गरिने भएकाले पोखरेलले उल्लेख्य मतान्तर घटाएर अघि बढ्ने अनुमान थियो। 

बुधबार बिहानको सुरुवाती गणनामा पोखरेलले ३ सय मतान्तर त घटाए। तर, अपेक्षाअनुसार मत आएन। मंगलबार साँझ १ हजार ९ सय १२ मतान्तरले अगाडि रहेकी शर्माको मतान्तर बुधबार बिहान घटेर १ हजार ६ सय १६ मा खुम्चियो। 

तर, बुधबारको दोस्रो गणनामा शर्माले फेरि मतान्तर बढाइन्। शर्माले १४ हजार १ सय ७ र पोखरेलले १२ हजार ४ सय २३ मत प्राप्त गर्दा मतान्तर १ हजार ६ सय ८४ पुग्यो। अर्थात्, पहिलेभन्दा शर्माले ६८ मतान्तर बढाइन्।

तेस्रो गणनामा शर्माले १५ हजार ५४ मत प्राप्त गर्दा पोखरेलले १३ हजार ३ सय ४९ मतसहित शर्मालाई पछ्याएका थिए। यसक्रममा पहिलेको मतान्तर बढेर १ हजार ७ सय ५ पुग्यो। 

बुधबार सार्वजनिक भएको चौथो पटकको मतपरिणाममा पनि पोखरेलले मतान्तर खासै घटाउन सकेका छैनन्। 

दिउँसो २ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार शर्माले १५ हजार ५५ मत प्राप्त गरेकी छन्। पोखरेललाई १३ हजार ३ सय ५१ मत प्राप्त भएको छ। 

यसमा रोचक चाहिँ के भएको छ भने, एमालेले उल्लेख्य मत आशा गरेको घोराही उपमहानगरपालिका–७ बाटै शर्माले प्रतिस्पर्धी मत प्राप्त गरेकी छन्। जसले एमाले पंक्तिलाई झस्काइदिएको छ। 

सुरुदेखिकै मतगणनामा महासचिव पोखरेलमाथि माओवादी नेतृ हावी हुँदै आएकी छन्। तर, यसको मतलव यो होइन कि, महासचिव पोखरेलको हार सुनिश्चित भइसकेको छ। 

बरु सत्तागठबन्धन र एमाले दुवैले अपेक्षा गरेअनुरुप मत प्राप्त नगर्दा दाङ–२ को परिणामबारे अझै अड्कल गर्न मुश्किल भएको छ।

तर, अहिलेसम्म सत्तागठबन्धनभित्र ‘भोट ट्रान्सफर’ को स्थिति शतप्रतिशत रहेको बताइएको छ। अझ प्रदेशसभातर्फ कांग्रेस उम्मेदवारकोभन्दा बढी मत शर्माले प्राप्त गरेकी छन्।

दाङबाट सञ्चालित सिस्नेअनलाइनका सम्पादक नरेन्द्र केसीका भनाइमा, दाङ– २ ‘क’ बाट कांग्रेस उम्मेदवार राजु खनालले विजय हासिल गर्दा करिव ११ सय मतको मतान्तर कायम गरेका छन्। 

तर, त्यही क्षेत्रमा माओवादी केन्द्रकी उम्मेदवार शर्माले १ हजार ६ सयको मतान्तर बनाउन सफल भइन्।  

‘प्रतिनिधि सभामा दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले पनि उल्लेख्य मत प्राप्त गरेका छन्, प्रदेश सभामा घण्टीका उम्मेदवार छैनन्, यस हिसाबले प्रदेश सभामा कांग्रेस उम्मेदवारको भन्दा शर्मालाई प्राप्त मत कम हुनुपर्ने हो’ पत्रकार केसीले भने, ‘तर, त्यस प्रदेश सभामा कांग्रेस उम्मेदवारले शर्माले बढी मत प्राप्त गरेबाट अहिलेसम्म ‘भोट ट्रान्सफर’ को समस्या नरहेको देखिन्छ।’

थापा इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीका इकाइ सभापति रहेका उनी चुनाव लड्नैका लागि गाउँ फर्किएका थिए। 

दाङ–२ को पछिल्लो गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकारीले ७ हजार ५ सय ११ मत प्राप्त गरेका छन्। दाङ–२ ‘क’ प्रदेश सभामा विजयी कांग्रेस खनालको भन्दा नेतृ शर्माको मत परिणामले घण्टीमा खसेका अधिकांश मत एमाले समर्थकको रहेको देखिन्छ। 

जानकारी अनुसार, घोराही नगरपालिकामा गणना गर्न बाँकी ६, ७, ९, १० र ११ मा पनि कडा प्रतिस्पर्धाको स्थिति छ। 

यसमध्ये वडा नं. ६ मा महासचिव पोखरेलले अग्रता लिन सक्छन्। ८ मा गठबन्धनले उल्लेख्य मतान्तरसहित अग्रता हासिल गर्दा ९ नं. वडामा तीव्र प्रतिस्पर्धा हुनसक्छ। 

घोराही उपमहानगरमा गणना गर्न बाँकी २ वडामध्ये १० र ११ दुवैमा गठबन्धनकी शर्माले उल्लेख्य मतान्तरसहित अग्रता हासिल गर्ने सम्भावना देखिन्छ।  

यसको मतलव यो होइन कि, दाङ– २ मा महासचिव पोखरेल ‘रेड जोन’ मा परिसकेका छन्। तर, अहिलेसम्मको रुझानले उनलाई पुनरागमन गरेर विजयी हुन दिइरहेको छैन।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .