राजनीति


भक्तपुर २ ले कायमै राख्यो विजेता फेर्ने परम्परा

महेशलाई हराएर दुर्लभलाई पठाए संसद
भक्तपुर २ ले कायमै राख्यो विजेता फेर्ने परम्परा

फाइल तस्बिर


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ११:४५, काठमाडौँ

लगातार कुनै पार्टीलाई दोहोर्‍यार विजयको माला नलगाइदिने भक्तपुर क्षेत्र नम्बर २ ले यस पटकपनि त्यही परम्परा कायम राखेको छ। 

अघिल्ला निर्वाचनमा जस्तै यसपटक पनि २०७४ मा एमालेका विजेता महेश बस्नेतको विकल्प खोज्दा भक्तपुर–२ का मतदाताहरुले नेपाली कांग्रेसका दुर्लभ थापा विजयी गराएका छन्। 

मतगणनाको अन्तिम परिणामअनुसार सत्तागठबन्धनबाट विजयी कांग्रेसका थापाले २४ हजार २ सय ३८ मतप्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेतले २३ हजार २ सय मत ७९ मत पाएका छन्। तेस्रो स्थानमा रहेकी नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरलाई ६ हजार ९ सय ५४ मत प्राप्त भएको छ। 

२०७० सम्म नेमकिपा र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने यो क्षेत्रमा २०४८ यता यी दुई पार्टीले पालैपालो विजय हासिल गर्ने गरेका थिए। कुनै निर्वाचनमा पनि यो क्षेत्रबाट एउटै पार्टीले दोहोर्याएर विजय हासिल गर्ने गरेका थिएनन्। 

नेमकिपाको प्रभाव रहेको भक्तपुर नगरपालिकाका आधा वडाहरु २०७४ को निर्वाचनअघि यो झिकिएपछि भने यो निर्वाचन क्षेत्रमा एमाले र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी हुन थाले। 

तर, नेमकिपा र कहिले कांग्रेसलाई पालैपालो जिताउने यो क्षेत्रले पुरानै परम्परा कायम राख्दै २०७४ मा एमाले र यसपटक कांग्रेसलाई विजयको माला पहिर्‍यायो। 

२०७४ को निर्वाचनमा माओवादी केन्द्रको साथले विजय हासिल गरेका एमालेका बस्नेतलाई यसपटक त्यही माओावदीको साथ लिएर कांग्रेस उम्मेदवार विजयी बनेका हुन्। 

यो निर्वाचन क्षेत्रमा २०४८ मा नेपाली कांग्रेस, २०५१ मा नेमकिपा, २०५६ मा फेरि कांग्रेस, २०६४ मा नेमकिपा, २०७० मा कांग्रेस र २०७४ मा एमाले उम्मेदवारहरु विजयी भएका थिए। 

२०५१ र २०६४ गरी दुई वटा निर्वाचनमा यो क्षेत्रमा नेमकिपा विजयी भएको थियो। त्यसमध्ये अघिल्लो (०५१) मा सो पार्टीका आशाकाजी बासुकला र पहिलो संविधान सभा निर्वाचन (०६४) मा सुनिल प्रजापति विजयी भए। 

यो क्षेत्रको तीन पटकको विजेता नेपाली कांग्रेसबाट जगन्नाथ आचार्य (०४८० लेखनाथ न्यौपाने (०५६) र रामेश्वर शर्मा ढुङ्गेल (०७०) निर्वाचित भएका थिए। 

कांग्रेस र नेमकिपा बीचको प्रतिस्पर्धामा यो क्षेत्रमा २०७० अघि एमालेलाई तेस्रो स्थान हासिल गर्न पनि मुस्किल पर्थ्यो। बरु, पञ्चायतकालीन रापंस गणेशबहादुर खत्री एमालेलाई चौथो स्थानमा पुर्‍याएर तेस्रो स्थानमा रहन्थे। पछि खत्री एमाले प्रवेश गरे र एमालेबाटै उम्मेदवार पनि बने। 

खत्रीको एमाले प्रवेशका बाबजुद २०७० सम्म एमाले यहाँ दोस्रो स्थानमा पनि उक्लिन सकेको थिएन।  

तर, २०७४ वाम गठबन्धनको पक्षमा यस्तो लहर आयो, त्यसअघि दोस्रो स्थानमा समेत नरहेको एमाले उम्मेदवार बस्नेत भारी मतान्तरका साथ विजयी भए। 

एमाले उम्मेदवार बस्नेत २०७४ को परिणाम यसपटकपनि कायम राख्न  प्रयासरत थिए। तर, भक्तपुर–२ ले कसैलाई दोहोर्याएर नजिताउने आफ्नो परम्परा यसपटकपनि निरन्तरता दिन चाह्यो। परिणाम, बस्नेतलाई पराजित गर्दै कांग्रेस उम्मेदवार थापा विजयी भए। 

लगातार दोहोर्याएर कसैलाई नजिताउने परम्परा यसपटकपनि कायम राखेको भक्तपुर–२ ले यसपटक पनि दोहोर्याउँदा भक्तपुर–१ लेपनि आफ्नो पुरानो परम्परा कायम राखेको छ। 

भक्तपुर–१ ले भने सधैँ नेमकिपालाई विजयको माला पहिर्याउने गरेको छ। यसपटकपनि त्यहाँ नेमकिपाका प्रेम सुवालले विजय हासिल गरेका छन्। विजयका क्रममा उनले ३० हजार ८ सय मतान्तर कायम गरेका छन्।   

सुवालले ४२ हजार ७ सय ६१ मत हासिल गर्दा दोस्रो स्थानमा रहेका एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ र तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २ सय ८३ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .