नेकपा एमालेभित्र ढिलो अवसर पाउने नेतामध्ये गनिन्छन्–स्याङ्जाका सुधीरकुमार पौडेल।
लामो विद्यार्थी आन्दोलनको विरासतले उनलाई राजकीय पद दिलाएन। स्वयम् सुधीर पनि पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी राजनीतिमै लामो समय भुलिरहे।
विद्यार्थी राजनीतिमा अब्बल भए पनि उनले पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति बन्ने अवसर पाएनन्। उनीभन्दा ‘जुनियर’ले स्ववियू सभापतिमा बाजी मार्दा सुधीर हेरेकोहेर्यै भए। कोषाध्यक्षभन्दा माथि गएनन्।
त्यसो त, स्वयंको निर्णयले पनि उनी अगाडि बढ्नबाट रोकिए। २०५४ सालमा एमाले विभाजित हुँदा सुधीर मालेतर्फ लागे।
अग्रज विद्यार्थी नेता रवीन्द्र अधिकारी माले अखिलको केन्द्रीय अध्यक्ष हुँदा कास्कीमा सुधीरको बोलाबाला थियो।
सहकर्मीले विद्यार्थी हुँदै आर्थिक हैसियत बढाए पनि माले अखिलका केन्द्रीय सदस्य सुधीर अपवाद बने।
तत्कालीन शाहज्याद पारसविरुद्ध हस्ताक्षर संकलन एवम् विद्यार्थीलाई सार्वजनिक सवारीमा ३३ प्रतिशत छुट कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका खेलेको माले अखिललाई ‘चन्दा’ दिने शैक्षिक संस्थाको कमी थिएन।
तर, सुधीरले त्यता ध्यान दिएनन्-सकेनन्। पार्टी एकतापछि पनि सुधीरको हैसियत बदलिएन। बरु, उनी भूगोलको राजनीति गर्न जन्मथलो स्याङ्जा हानिए। एमालेको नवौं महाधिवेशनमार्फत् जिल्ला सचिवको भूमिकामा आए।
जिल्ला जाँदा माले पृष्ठभूमिकै नेतृ पद्मा अर्यालको साथ पाए। विद्यार्थी राजनीतिमा आफूभन्दा जुनियरहरु सांसद भइसक्दा सुधीरले २०७४ को स्थानीय चुनावमा आँधीखोला गाउँपालिका अध्यक्षको टिकट पाए। प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ३ हजार ८६ मत पाउँदा सुधीरले ५ हजार ४१ मत प्राप्त गरे।
एमालेको १० औं अधिवेशनमा सुधीर स्याङ्जा अध्यक्षको दावेदार थिए। तर, नेतृ पद्मा अर्यालले माओवादी केन्द्रबाट आएका सूर्यप्रकाश गैरे ‘पारस’ रोजपछि उनी पछाडि हटे।
पारसले एमालेका पुराना नेता नारायणप्रसाद मरासिनीलाई पराजित गरे। सुधीरको राजनीति के हुन्छ? कौतुहल थियो।
एमालेभित्रबाटै एक्लै हिँडेको, घमण्डी बनेको जस्ता आरोप लगाइएको थियो। अन्तिममा उनले एमालेबाट स्याङ्जा क्षेत्र नम्बर १ को ‘ख’ तर्फको टिकट पाए।
प्रतिस्पर्धी थिए, कांग्रेसका बुद्धिकुमार राना ‘कुमार’। प्रतिस्पर्धा यति चर्को भयो कि, सुधीर दोस्रोपटक जनप्रतिनिधि बन्नबाट बालबाल बाँचे।
उनी मात्रै ६ मतको अन्तरले विजयी भएका छन्। सुधीरले १७ हजार ४४१ मत पाउँदा कुमारले १७ हजार ४३५ मत प्राप्त गरेका छन्। यो मतान्तर गण्डकी प्रदेशको सबैभन्दा कम हो।
यसअघि २०७४ सालको चुनावमा तनुहँ क्षेत्र नम्बर २ को ‘ख’ मा कांग्रेस नेता प्रदीप पौडेल माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग जम्मा ४ मतले पराजित भएका थिए।
कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत ल्याएका थिए। प्रदीप यो पटक काठमाडौं ५ बाट संघीय सांसदमा विजयी भएका छन्।
सुधीरले प्रदेशको चुनाव जित्दा संघतर्फ भने कांग्रेसका राजु थापा विजयी बनेका छन्। राजुले प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीलाई ३ हजार २५५ मतले पराजित गरेका हुन्।
राजुले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरे। २०७० सालमा राजुले मरासिनीलाई पराजित गरेका थिए।
२०७४ सालमा मरासिनीले हारको बदला लिँदै सिंहदरबार यात्रा तय गरेका थिए। यो चुनावमा भने पुनः थापाले बाजी मारेका छन्। एमाले जिल्ला अध्यक्षबाट बञ्चित मरासिनी दोस्रोपटक सिंहदरबार प्रवेशबाट पनि रोकिएका छन्।
प्रतिक्रिया