ad ad

राजनीति


मतगणना नसकिँदै राजेन्द्रलाई हराएर महिन्द्र विजयी

मतगणना नसकिँदै राजेन्द्रलाई हराएर महिन्द्र विजयी

फाइल।


नेपालखबर
मंसिर १०, २०७९ शनिबार १७:२४, काठमाडौँ

एकै गठबन्धनमा रहँदा पनि राजेन्द्र महतोलाई निर्वाचन लड्न धनुषा जान बाध्य पारेका थिए, हाल माओवादी केन्द्रबाट सर्लाही– २ मा प्रतिस्पर्धा गरिरहेका महिन्द्र राय यादवले। 

२०७० को निर्वाचनमा महतोलाई पराजित गर्दै सो निर्वाचन क्षेत्रबाट यादवले विजयी भएकाले २०७० को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) ले महतोलाई धनुषा– ३ बाट प्रतिस्पर्धा गराएको थियो।

कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गर्दै धनुषा– ३ मा महतो विजयी हुँदा यादवले पनि आफ्नो परम्परागत निर्वाचन क्षेत्र सर्लाही– २ मा सहज जित निकाले। 

तिनै महतो फेरि यसपटक सर्लाही– २ मा यादवसँगै प्रतिस्पर्धा गर्न आइपुगे। २०७० का प्रतिस्पर्धी भएकालेमात्र होइन, दुबै लोकतान्त्रिक वामगठबन्धनमा आवद्ध पार्टीका नेता भएकाले पनि यो निर्वाचन क्षेत्र सुरुदेखि चर्चामा रह्यो। 

मतगणनाको सुरुवातदेखि नै दुबै नेताको उछिनपाछिन चलिरहेकाले यो क्षेत्रले देशको ध्यान आकर्षित गर्यो। यो निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छैन। तरपनि महतोलाई पराजित गरेर यादवले जित हासिल गरिसकेका छन्।

सो क्षेत्रमा गणना गर्न बाँकी ८ सय ८९ मत रहँदा यादवले महतोमाथि २ हजार ४ सय ७९ को अन्तर निकालिसकेका छन्। 

यादवले २२ हजार ६ सय ४१ मत हासिल गर्दा महतोले २० हजार १ सय ६२ मतसहित उनलाई पछ्याइरहेका छन्।  

अब सबै पक्षमा खसेपनि महतोले जित हासिल गर्न सक्ने सम्भावना छैन। 

२०७० को निर्वाचनमा महतोमाथि यादव पहिलो पटक हावी भएदेखि नै यो निर्वाचन क्षेत्र चर्चामा रहने गरेको थियो। सद्भावना पार्टीको नेतृत्व गरेका महतोले नै २०७० मा सर्लाही–२ मा जित हासिल गर्ने ठानिएको थियो। 

त्यो बेला यादव तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) लाई विभाजित गरी भर्खर निर्माण भएको तराई मधेश सद्भावना पार्टीबाट प्रतिस्पर्धा गरेका थिए। व्यक्तित्वका दृष्टिले पनि यादव भन्दा महतोको व्यक्तित्वलाई उचो मानिन्थ्यो। 

तर, मतगणनाको परिणाम यादवको पक्षमा गयो। यादव ११ हजार ५ सय ३४ मतसहित विजयी हुँदा महतो ८ हजार ७ सय ९० मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमा सीमित भए।

२०७४ को निर्वाचनमा भने यादव र महतो दुबै राजपामा थिए। अघिल्लो निर्वाचनमा यादवले विजय हासिल गरेकाले महतोलाई राजपाले धनुषा– २ पठायो। उनी त्यहाँबाट विजयी भए। यता महिन्द्रले आफ्नो जितलाई निरन्तरता दिए। 

यसपटक राजेन्द्र लोसपामा छन्। महिन्द्र माओवादीसँग एकताको चरणमा रहेको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा छन्। यी दुबै दल लोकतान्त्रिक वामगठबन्धनमा आवद्ध छन्। 

यहीकारण सर्लाही– २ माथि दुबै नेताको दावी रह्यो। माओवादी केन्द्रको भागमा परेको र पूर्व विजेतापनि रहेकाले लोकतान्त्रिक वामगठबन्धनले यहाँ आफ्नो उम्मेदवार यादवलाई तोक्यो। 
गठबन्धनको उम्मेदवार यादव हुने भएपनि महतोले यसपटक यो क्षेत्र छाड्न चाहेनन्। त्यसैले उनको उम्मेदवारीलाई ‘मित्रवत प्रतिस्पर्धा’ को रुपमा गठबन्धनले परिभाषित गर्यो। 

एउटै गठबन्धनबाट दुई जना उम्मेदवार रहेकाले यो क्षेत्रले फेरि एकपटक सबैको ध्यान आकर्षित गर्यो। 

मतगणना नसकिदै यादवलाई विजयको माला पहिर्याएपछि यो क्षेत्र फेरि चर्चित बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .