ad ad

राजनीति


रुपन्देही : संघमा कांग्रेस निल, एमालेले शाख जोगाउँदा राप्रपा र लोसपाले प्रभाव देखाए

रुपन्देही : संघमा कांग्रेस निल, एमालेले शाख जोगाउँदा राप्रपा र लोसपाले प्रभाव देखाए

सुदीप भण्डारी
मंसिर १०, २०७९ शनिबार २२:७, बुटवल

रुपन्देहीमा सबै क्षेत्रको मतगणना सकिएको छ। प्रतिनिधि सभातर्फ एमाले ३ स्थानमा विजयी भएको छ। एक–एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले जित निकालेका छन्।  

प्रतिनिधि सभातर्फ रुपन्देहीमा कांग्रेस पहिलो पटक निल भएको छ। १० वटा प्रदेश सभाको क्षेत्र मध्ये २ वटामा मात्र उसले जित निकालेको छ। 

२०४८ यताका चुनावमा कांग्रेसले संसदको लागि कम्तिमा एउटा देखि बढीमा ४ वटा क्षेत्रसम्म जितेको छ। 

२०४८ सालको चुनावमा रुपन्देहीको तत्कालिन १, २ र ३ नम्बर क्षेत्रमा कांग्रेस विजयी भएको थियो। ०५१ को संसदीय चुनावमा क्षेत्र नम्बर १ मा मात्र जित निकाल्न सकेको थियो। २०५६ को चुनावमा त्यसबेलाका ५ वटा क्षेत्र मध्ये ४ वटामा कांग्रेसले बाजी मारेको थियो। 

२०६४ सालको संविधान सभाको चुनावमा कांग्रेसबाट रुपन्देही ३ मा बालकृष्ण खाँण मात्र विजयी भएका थिए। २०७० को अर्को संविधान सभाको चुनावमा कांग्रेसले १, ३ र ५ नम्बर क्षेत्र आफ्नो पक्षमा पारेको थियो। 

०७४ को संसदीय चुनावमा कांग्रेसले रुपन्देही ४ र ५ मा फराकिलो अन्तरले जित निकालेको थियो। ४ नम्बर क्षेत्रमा यो पटक लोसपा विजयी भएको छ भने ५ नम्बर क्षेत्र कांग्रेसबाट एमालेले खोसेको छ।   

प्रतिनिधि सभामा नील भएको कांग्रेसले प्रदेश सभातर्फ रुपन्देही १ ख र क्षेत्र नम्बर ४ ख मा जित निकालेको छ। अघिल्लो चुनावमा प्रदेश सभातर्फ कांग्रेसले ३ क्षेत्र जितेकोमा यो पटक रुपन्देही ४ क र ५ ख गुमाएको छ। 

गत स्थानीय चुनावमा जिल्लाका १६ मध्ये ८ वटा पालिका जितेको कांग्रेसले संसदीय चुनावमा भने त्यो शाख बचाउन सकेन। 

यता, नेकपा एमालेले भने अघिल्लो संसदीय चुनावको शाखलाई बचाएको छ। २०७४ मा एमाले जिल्लाको ३ वटा क्षेत्रमा विजयी भएको थियो।

पाँच वर्षअघि जितेको रुपन्देही १, २ क्षेत्रमा जित कायम राखेको छ। ५ नम्बर क्षेत्रमा पनि यसपटक विजयी भएको छ। अघिल्लो पटक जितेको ३ नम्बर क्षेत्रमा यो पटक राप्रपालाई समर्थन गरेको थियो। एमालेको समर्थनले पनि उपलब्धी मिलेको छ। 

एमालेले अघिल्लो पटक जिल्लामा प्रदेश सभाका ५ वटा क्षेत्र जितेको थियो। त्यस मध्ये अहिले एउटा सिट गुमाएको छ। 

गत वैशाखमा भएको स्थानीय चुनावमा जिल्लाका ३ पालिका मात्र जितेको एमालेले संसदीय चुनावमा आफ्नो प्रभाव फर्काएको हो। 

अघिल्लो पटक जिल्लामा एउटा प्रदेश सभा क्षेत्र जितेको माओवादी केन्द्र अहिले रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा शुन्य भएको छ। आफ्नो भागमा परेको रुपन्देही १ मा घनश्याम भुसाललाई समर्थन गरे पनि भुसालले जित निकाल्न सकेनन्। एकीकृत समाजवादीले रुपन्देही २ मा राजु गुरुङलाई उठाएको भएपनि उम्मेदवारी खारेज हुँदा क्षमता देखाउन पाएन। 

राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले यो चुनावमा आफ्नो प्रभाव भने देखाएका छन्। रुपन्देही क्षेत्र नम्बर ३ मा शनिवार मात्र राप्रपाका दिपक बोहोराले गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरे। राप्रपाले जिल्लामा एउटा प्रदेश सभा क्षेत्र पनि जितेको छ। 

यो पटक मधेशवादी दलले पनि रुपन्देहीमा आफ्नो उपस्थिती देखाएका छन्। अघिल्लो पटक कांग्रेसले जितेको ४ नम्बर क्षेत्र यो पटक लोसपाका सर्वेन्द्रनाथ शुक्लले खोसेका छन्। लोसपाले जिल्लाको २ वटा प्रदेश सभा क्षेत्र समेत जितेको छ।

यो चुनावबाट रुपन्देहीमा सिके राउत नेतृत्वको जनमत पार्टीको पनि उदय भएको छ। प्रदेश सभा अन्तर्गत रुपन्देही ५ ख मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन्। 

रुपन्देहीमा एकातर्फ पाँचदलीय गठबन्धन थियो। सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँगै थिए। राजु गुरुङको उम्मेदवारी खारेजीपछि सत्तारुढ तीन दलले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेका थिए।

२ नम्बर क्षेत्रमा प्रतिनिधि सभामा जनमुक्तिलाई सघाउने र बाँकी क्षेत्रमा जनमुक्तिले उम्मेदवारी निस्कृय गर्ने सहमती भएको थियो। तर जनमुक्तिको चिह्नमा पनि थुप्रो मत परेपछि कांग्रेसले आश गरेको प्रदेश सभामा पनि जित्न सकेन। 

रुपन्देही ३ मा गठबन्धनले लोसपालाई साथमा लिएर प्रदेशसभाको एउटा क्षेत्र दिएको थियो। तर क्षेत्र नम्बर ४ मा भने कांग्रेस र लोसपाबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। अर्कोतर्फ एमालेले राप्रपा र जसपासँग गठबन्धन गरेको थियो। यो गठबन्धनबाट एमाले र राप्रपालाई फाइदा भएपनि जसपालाई भने कुनै उपलब्धी भएन।  

पाँचदलीय सत्ता गठबन्धनको उपलब्धी रुपन्देहीमा निकै कमजोर देखियो। तर राप्रपा–एमाले गठबन्धन भने बलियो देखियो। 

नयाँ वैकल्पिक पार्टीको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा जित्न नसकेपनि प्रमुख दललाई भने झस्कायो।  खासै परिचित नभएका सो पार्टीका रुपन्देही २ का उम्मेदवार गणेश पौडेलले विष्णु पौडेललाई नपत्याउँदो टक्कर दिए।

अन्ततः विष्णुले स्वतन्त्र पार्टीका गणेश भन्दा १३६६ मतान्तरले कठिन जित निकाले। अन्य क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, लगायतले मुख्य राजनीतिक दलको मत काटेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .