ad ad

राजनीति


रुपन्देहीको नतिजा : सत्ता गठबन्धन कमजोर, एमाले-राप्रपा गठबन्धन बलियो

कांग्रेस प्रतिनिधिसभा र माओवादी दुवैमा शून्य, जनमतको उदय
रुपन्देहीको नतिजा : सत्ता गठबन्धन कमजोर, एमाले-राप्रपा गठबन्धन बलियो

फाइल तस्बिर


सुदीप भण्डारी
मंसिर ११, २०७९ आइतबार १८:५५, बुटवल

रुपन्देहीमा सबै क्षेत्रको मतगणना सकिएको छ। प्रतिनिधि सभातर्फ एमाले ३ स्थानमा विजयी भएको छ। एक–एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले जितेका छन्। 

प्रतिनिधि सभातर्फ रुपन्देहीमा कांग्रेस पहिलोपटक शून्य भएको छ। १० वटा प्रदेशसभाको क्षेत्रमध्ये २ वटामा मात्र उसले जित हासिल गरेको छ। 

२०४८ यताका चुनावमा कांग्रेसले संसदका लागि कम्तीमा एउटादेखि बढीमा ४ वटा क्षेत्रसम्म जितेको छ। 

२०४८ सालको चुनावमा रुपन्देहीको तत्कालीन १, २ र ३ नम्बर क्षेत्रमा कांग्रेस विजयी भएको थियो। ०५१ को संसदीय चुनावमा क्षेत्र नम्बर १ मा मात्र जित प्राप्त गर्न सकेको थियो।

२०५६ को चुनावमा त्यस बेलाका पाँच क्षेत्रमध्ये ४ वटामा कांग्रेसले बाजी मारेको थियो। 

२०६४ सालको संविधानसभाको चुनावमा कांग्रेसबाट रुपन्देही ३ मा बालकृष्ण खाँण मात्र विजयी भएका थिए। २०७० को अर्को संविधानसभाको चुनावमा कांग्रेसले १, ३ र ५ नम्बर क्षेत्र आफ्ना पक्षमा पारेको थियो। 

०७४ को संसदीय चुनावमा रुपन्देही ४ र ५ मा फराकिलो अन्तरले जित हासिल गरेको थियो। ४ नम्बर क्षेत्रमा यो पटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ भने ५ नम्बर क्षेत्र कांग्रेसबाट एमालेले खोसेको छ।   

प्रतिनिधिसभामा निल भएको कांग्रेसले प्रदेशसभातर्फ रुपन्देही १ ख र क्षेत्र नम्बर ४ ख मा जित हासिल गरेको छ। अघिल्लो चुनावमाप्रदेशसभातर्फ कांग्रेसले ३ क्षेत्र जितेकामा यसपटक रुपन्देही ४ क र ५ ख गुमाएको छ। 

गत स्थानिय चुनावमा जिल्लाका १६ पालिकामध्ये ८ वटामा जितेको कांग्रेसले संसदीय चुनावमा भने त्यो जित जोगाउन सकेन। 

यता नेकपा एमालेले भने अघिल्लो संसदीय चुनावको साख बचाएको छ। २०७४ मा एमाले जिल्लाका ३ वटा क्षेत्रमा विजयी भएको थियो। पाँच वर्षअघि जितेका रुपन्देही १ र २ क्षेत्रमा उसले जित कायमै राखेको हो।

अघिल्लो पटक जितेको ३ नम्बर क्षेत्रमा भने यसपटक एमालेले राप्रपालाई समर्थन गरेको थियो। जहाँ राप्रपाका उम्मेदवार दीपक बोहोरा प्रतिनिधि सभा सदस्य पदमा विजयी भइसकेका छन्। पाँच वर्षअघि फराकिलो अन्तरले कांग्रेसले जितेको ५ नम्बर क्षेत्र यसपटक एमालेले खोसेको छ।

एमालेले अघिल्लोपटक जिल्लामा प्रदेशसभाका ५ वटा क्षेत्रमा जितेको थियो। तीमध्ये अहिले एउटा सिट गुमाएको छ। 

गत वैशाखमा भएको स्थानीय चुनावमा जिल्लाका ३ पालिकामा मात्र जितेको एमालेले संसदीय चुनावमा आफ्नो प्रभाव फर्काएको हो। 
अघिल्लोपटक जिल्लामा एउटा प्रदेशसभा क्षेत्र जितेको माओवादी केन्द्र अहिले रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा शून्य भएको छ।

आफ्नो भागमा परेको रुपन्देही १ मा घनश्याम भुसाललाई समर्थन गरे पनि उनले हारे। एकीकृत समाजवादीले रुपन्देही २ मा राजु गुरुङलाई उठाएको भए पनि उम्मेदवारी खारेज हुँदा पार्टीले क्षमता देखाउन पाएन। 

राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले यो चुनावमा आफ्नो प्रभाव भने देखाएका छन्। रुपन्देही क्षेत्र नम्बर ३ मा शनिबार मात्र राप्रपाका दीपक बोहोराले गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई हराए। राप्रपाले जिल्लामा एउटा प्रदेशसभा क्षेत्रमा पनि जितेको छ। 

यसपटक मधेसवादी दलले पनि रुपन्देहीमा आफ्नो उपस्थिति देखाएका छन्। अघिल्लोपटक कांग्रेसले जितेको ४ नम्बर क्षेत्र यो पटक लोसपाका सर्वेन्द्रनाथ शुक्लाले खोसेका छन्। लोसपाले जिल्लाका २ वटा प्रदेशसभा क्षेत्रसमेत जितेको छ।

यो चुनावबाट रुपन्देहीमा सीके राउत नेतृत्वको जनमत पार्टीको पनि उदय भएको छ। प्रदेशसभाअन्तर्गत रुपन्देही ५ ख मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन्। 

रुपन्देहीमा एकातर्फ पाँचदलीय गठबन्धन थियो। सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सँगै थिए। राजु गुरुङको उम्मेदवारी खारेजीपछि राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि समेटेको थियो।

२ नम्बर क्षेत्रमा प्रतिनिधि सभामा जनमुक्तिलाई सघाउने र बाँकी क्षेत्रमा जनमुक्तिले उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको थियो। तर जनमुक्तिको चिह्नमा पनि थुप्रो मत परेपछि कांग्रेसले आश गरेको प्रदेशसभा क्षेत्रमा पनि जित्न सकेन। 

रुपन्देही ३ मा गठबन्धनले लोसपालाई साथमा लिएर प्रदेशसभाको एउटा क्षेत्र दिएको थियो। तर क्षेत्र नम्बर ४ मा कांग्रेस र लोसपाबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। अर्र्कातर्फ एमालेले राप्रपा र जसपासँग गठबन्धन गरेको थियो। यो गठबन्धनबाट एमाले र राप्रपालाई फाइदा भए पनि जसपालाई कुनै उपलब्धि भएन।  

पाँचदलीय गठबन्धनको उपलब्धि रुपन्देहीमा निकै कमजोर देखियो। तर राप्रपा–एमाले गठबन्धन बलियो देखियो। 

नयाँ वैकल्पिक पार्टीका रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा जित्न नसके पनि प्रमुख दललाई भने झस्कायो। खासै नचिनिएको सो पार्टीका रुपन्देही २ का उम्मेदवार गणेश पौडेलले विष्णु पौडेललाई नपत्याउँदो टक्कर दिए।

अन्ततः विष्णुले स्वतन्त्र पार्टीका गणेशभन्दा १ हजार ३ सय ६६ मतान्तरले कठिन जित निकाले। अन्य क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले मुख्य राजनीतिक दलको मत काटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .