प्रतिनिसभा समानुपातिकतर्फ जारी मत गणनामा नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मतान्तर फराकिलो बनाउँदै लगेको छ।
केही समयअघिसम्म थोरै मतले मात्र अगाडि माओवादीले अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मतान्तर ह्वात्तै बढाएको हो।
पटक पटक राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछि परेको माओवादी केन्द्रले सोमबार अबेरर रातिसम्म १८ हजार ८६५ मतका साथ मतान्तर फराकिलो बनाउँदै लगेको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार माओवादी केन्द्रले १० लाख ९० हजार ४४८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६९ हजार ५०३ मत पाएको छ। उनीहरुबीच २० हजार ९४५ मतान्तर छ।
समानुपातिकतर्फ पहिलो रहेको नेकपा एमालेले यो खबर तयार पार्दासम्म २५ लाख ६६ हजार ३८४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३३ हजार १९८ मत ल्याएको छ।
समानुपातिकमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
यस्तै पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख ४८ हजार ७२० मत पाएको छ भने छैटौँ स्थानमा रहेर जनता समाजवादी पार्टीले ३ लाख ४१ हजार ३४७ मत ल्याएको छ।
अहिलेसम्म यिनै ६ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ। प्रतिनिधिसभामा प्रत्यक्ष एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड (३ लाख २० हजार मत) कटाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउँछन्।
प्रतिक्रिया