ad ad

राजनीति


यी हुन् समानुपातिकतर्फ चुनिने कांग्रेसका २९ महिला र ३ पुरुष सांसद

यी हुन् समानुपातिकतर्फ चुनिने कांग्रेसका २९ महिला र ३ पुरुष सांसद

केशव सावद
मंसिर १९, २०७९ सोमबार ११:२३, काठमाडौँ

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा नेपाली कांग्रेसले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३२ सिट पाउने लगभग निश्चित भएको छ। 

यससँगै प्रतिनिधि सभामा प्रत्यक्ष (५७) र समानुपातिक (३२) गरी कांग्रेसको सिट ८९ पुग्ने देखिन्छ। राष्ट्रिय सभाका १० सदस्य र प्रतिनिधि सभाका ८९ सदस्य गरी संघीय सांसदमा कांग्रेसको कुल संख्या ९९ पुग्ने देखिएको छ। 

संघीय संसदमा रहने प्रतिनिधित्वका आधारमा संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभा समानुपातिकतर्फ २९ जना महिलालाई अनिवार्य रुपमा पठाउनु पर्ने बाध्यता कांग्रेसलाई छ।

सबै दलले कम्तीमा ३३ प्रतिशत महिला सांसद अनिवार्य निर्वाचित गराउनै पर्ने संवैधानिक व्यवस्था छ। दलहरुले यो ३३ प्रतिशत अनुपात राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर पुर्‍याउनु पर्ने हुन्छ।  

कांग्रेसको राष्ट्रिय सभामा १० सदस्य छन्। जसमध्ये ३ जना महिला छन्। अहिलेसम्म प्रतिनिधि सभामा प्रत्यक्ष ५५ सिट जितेको कांग्रेसबाट १ जना मात्र महिला (सीता गुरुङ) ले जितेकी छन्। 

कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने १ मात्र महिला (सीता गुरुङ)।

९९ सिटबाट ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न कांग्रेसले प्रतिनिधि सभामा विजयी १ र राष्ट्रिय सभामा रहेका ३ महिलाको संख्या घटाएर अब २९ जना महिला अनिवार्य रुपमा सांसद बनाउनु पर्ने भएको छ। 

समानुपातिकतर्फ कांग्रेसले आदिवासी–जनजाति क्लस्टरबाट सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, र कुसुम थापामगरलाई सांसद बनाउने सम्भावना अधिक छ। 

यस्तै खस–आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल कार्की सांसद बन्ने सम्भावना छ। सेजुवाल र कार्कीलाई खस–आर्य महिलाबाट पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै कांग्रेसले बन्दसूचीमा राखेको छ। 

कल्पना चौधरी र विनाकुमारी थनेत थारु क्लस्टरबाट समानुपातिक सांसद हुँदा शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र विष्णुमाया परियार दलित क्लस्टरबाट महिला सांसद बन्ने देखिन्छ।   

कांग्रेसले नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी मण्डललाई मधेशी तथा जावेदा खातुन जागालाई मुस्लिम क्लस्टरबाट महिला प्रतिनिधित्व पुर्याउन समानुपातिक सांसद बनाउनुपर्ने हुन्छ। 

कांग्रेसले समानुपातिकतर्फ पाएका ३२ सिटमध्ये २९ महिला पठाएपछि बाँकी रहेको ३ सिट मात्र पुरुषको भागमा पर्ने छन्। 

जसमा खस–आर्य पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा परेका प्रवक्ता प्रकाशशरण महत, आदिवासी–जनजाति पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा परेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, मधेशी पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा परेका पूर्वउपसभापति विमलेन्द्र निधि र दलित पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा परेका सहमहामन्त्री जीवन परियारमध्ये १ जनाको प्रतिनिधित्व नहुने निश्चित छ।  
  
विद्यमान संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभामा आदिवासी–जनजाति २८.७० प्रतिशत, खस–आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी १५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ।  

संवैधानिक व्यवस्थाअनुसार खस–आर्य र आदिवासी–जनजातिको प्रतिनिधित्व गराउनु पर्ने प्रतिशत बढी भएका कारण महत र श्रेष्ठको समानुपातिक सांसद बन्ने सम्भावना अधिक रहेको कांग्रेस केन्द्रीय कार्यालय सानेपा स्रोतको भनाइ छ। 

स्रोतले बाँकी रहेको १ सिटमा प्रतिनिधित्वको प्रतिशतका हिसाबले निधिको समानुपातिक सांसद बन्ने सम्भावना बढी रहेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .