यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट सात राजनीतिक पार्टी राष्ट्रिय दल बनिसकेका छन्।
निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय मान्यता प्राप्त दल बनेका हुन्।
राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्छ। एकिन हिसाब आउन बाँकी रहे पनि समानुपातिक मतगणना अन्तिम चरणमा पुगिसक्दा ३ लाख १७/१८ हजार मत थ्रेसहोल्ड सीमा हुने आकलन गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। अब बढीमा डेढ लाख मत गन्न बाँकी भएको अनुमान उनले गरे।
अब माथि उल्लिखित सात पार्टीबाहेक थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना कम देखिएको छ। चमत्कार भयो भने नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न सक्ला, अन्यथा अरू दलको सम्भावना देखिँदैन। थ्रेसहोल्ड कटाउन नसकेका दलले ल्याएका समानुपातिक मत गणना नगरिने भएकाले खेर जान्छ।
राष्ट्रिय दल बनेका सात दलमध्ये प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेसले ५५, एमालेले ४४, माओवादी केन्द्रले १७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ७ र जनमत पार्टीले १ सिट जितेका छन्।
यिनीहरुले अहिलेसम्म समानुपातिक मत कसले कति ल्याए त?
हेर्नुहोस् ताजा सूची :
नेकपा एमाले
२७,८३,३८७
नेपाली कांग्रेस
२६,५२,६२८
एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६१,८८०
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२३,०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,२५९
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४३
जनमत पार्टी
३,९४,३८५
स्रोत : निर्वाचन आयोग
Shares
प्रतिक्रिया