ad ad

राजनीति


कसको पोल्टामा जाला आम निर्वाचन–२०७९ को अन्तिम परिणाम?

कसको पोल्टामा जाला आम निर्वाचन–२०७९ को अन्तिम परिणाम?

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी र माओवादी उम्मेदवार गंगा कार्की।


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १२:२७, काठमाडौँ

मंसिर १५ देखि गणना सुरु भएका तीनमध्ये स्याङ्जा–२ र बाजुराको मतगणनाको अन्तिम परिणाम प्राप्त भएपछि सबैको ध्यान गणना जारी रहेको दोलखातर्फ केन्द्रित भएको छ।

माओवादी केन्द्रका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच मतगणनामा उछिनपाछिन चलिरहेको र परिणाम आउन बाँकी अन्तिम जिल्लापनि भएकाले सबैको ध्यान दोलखातर्फ केन्द्रित भएको हो। 

मतगणनाको सुरुवातदेखि निरन्तर अग्रता लिइरहेका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की पछिल्लो मत गणनामा एमालेका बालकृष्ण सिवाकोटी भन्दा झण्डै २ हजार मतान्तरले पछाडि छन्। 

शिवाकोटी १७ हजार ५ सय २८ मतसहित अग्रस्थानमा रहँदा कार्की १५ हजार ७ सय मतका साथ उनलाई पछ्याइरहेका छन्। सिवाकोटी–कार्कीबीचको मतान्तर १ हजार ८ सय २८ छ।

गौरीशंकर गाउँपालिकाबाट सुरुवात भएको गणनामा कार्कीले एमालेका सिवाकोटीमाथि फराकिलो अन्तर बनाएका थिए। गौरीशंकर माओवादी केन्द्रका उम्मेदवार कार्कीको आफ्नै गाउँपालिका हो। 

गौरीशंकर गाउँपालिकामा कार्कीले ४ हजार १ सय ११ मत प्राप्त गर्दा एमालेका सिवाकोटीलाई २ हजार ६ सय ८१ मत प्राप्त भएको थियो। अर्थात् आफ्नो गाउँपालिकामा कार्कीले १ हजार ४ सय ३० मतको अन्तर कायम गरेका थिए।

त्यसपछि शिवाकोटीको गाउँ रहेको कालिन्चोकमा गणना सुरु भयो। आफ्नो गाउँपालिकामा सिवाकोटीले पनि अग्रता त कायम गरे। तर, माओवादी उम्मेदवार कार्कीको जस्तो फराकिलो मतान्तर भने कायम गर्न सकेनन्। 

कालिञ्चोकमा शिवाकोटीले ५ हजार १ सय ७९ मत प्राप्त गर्दा माओवादीका कार्कीलाई ४ हजार ३ सय ९ मत प्राप्त भयो। आफ्नो गाउँपालिकामा सिवाकोटीले ८ सय ७० मतान्तर कायम गर्न सके। 

समग्रमा दुई प्रतिस्पर्धी उम्मेदवारको आ–आफ्नो गाउँपालिकामा भएको समग्र गणनामा एमालेका सिवाकोटीमाथि माओवादीका कार्की हावी भए।

तर, जब भीमेश्वर र जिरी नगरपालिकाको गणना सुरु भयो, त्यहाँ एमालेका सिवाकोटीले कार्कीसँगको मतान्तरलाई साघुरोमात्र पारेनन्, कार्कीलाई ठूलो मतान्तरले पछि पारेर निरन्तर अग्रता लिइरहेका छन्। 

जानकारहरूका भनाईमा, जिरी र भीमेश्वर नगरपालिकाको गणनाबाट सिवाकोटीको अग्रता बढिरहेपनि तामाकोशी गाउँपालिका र बैत्तेश्वर गाउँपालिकामा गणना सुरु भएपछि फेरि माओवादी केन्द्रका कार्कीले सिवाकोटीलाई पछि पार्दै अग्रता लिन सक्छन्। 

प्रदेशसभातर्फ वैत्तेश्वरमा भएको प्रारम्भिक मतगणना परिणामले पनि त्यस्तै संकेत गर्छ। सो गाउँपालिकाको प्रदेश सभातर्फको सुरुवाती गणनाले पनि यही संकेत गर्छ। 

आइतबार विहान बैत्तेश्वर– १ को गणना हुँदा सत्तागठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार कुन्दनराज काफ्लेले १ हजार २ सय ९० मत प्राप्त गर्दा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठले ४४ मत मात्र प्राप्त गरेका छन्। 

गत स्थानीय तह निर्वाचनमा वैत्तेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार २ हजार भन्दा बढी मतान्तरले विजयी भएका थिए। कांग्रेसले ५ हजार २ सय ९९ मत प्राप्त गर्दा एमाले उम्मेदवारलाई ३ हजार १ सय ७२ मत प्राप्त भएको थियो।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारले २ हजार ८ सय ७२ मत प्राप्त गरेका थिए। यही कारण तामाकोशी गाउँपालिकाको मतगणना सुरु हुनासाथ भीमेश्वर र जिरी नगरपालिकाबाट सिवाकोटीले बनाएको फराकिलो अग्रताको अन्त्य हुने विश्वासमा सत्तागठबन्धनका नेता–कार्यकर्ताहरू छन्। 

तामाकोशीबाट प्राप्त हुने मतले सिवाकोटीले अहिले बनाएको अग्रतालाई सन्तुलनमा ल्याउने र बैत्तेश्वरबाट गणना सुरु भएपछि फेरि आफ्नो अग्रता फराकिलो हुने विश्वास सत्तागठबन्धनतर्फ देखिन्छ। 

त्यसपछि गणना रहने मेलुङ, बिगु र शैलुङ गाउँपालिका बाँकी रहन्छन्। यसमध्ये मेलुङ गाउँपालिकामा एमाले निकै बलियो स्थितिमा छ भने बिगु र शैलुङ गाउँपालिकामा एमालेको तुलनामा सत्तागठबन्धन केही अनुकूल स्थितिमा छ। 

अर्थात् यी तीन पालिकाको समग्र मतणना परिणाम प्रतिस्पर्धात्मक हुनेछ। 

त्यसैले, सत्तागठबन्धनले आशा गरे अनुसार तामाकोशी र बैत्तेश्वरको गणनामा अहिले सिवाकोटीले कायम गरेको मतान्तरलाई घटाएर अगाडि बढ्न सके भने माओवादी केन्द्रका कार्कीले विजय हासिल गर्न सक्छन्। 

सत्तागठबन्धनको ठूलो पकडको क्षेत्र रहेकाले यी दुई गाउँपालिकामा पुग्दासम्म १ हजारदेखि २ हजार ५ सय सम्मका मतान्तरका साथ अग्रता लिने आशा सत्तागठबन्धनको छ। 

तर, आशा गरे अनुसार कार्कीले मत प्राप्त गर्न सकेनन् भने सिवाकोटी वा कार्की जसले पनि बाजी मार्न सक्ने स्थिति रहन्छ। 

त्यसैले, आम निर्वाचन–२०७९ को अन्तिम परिणाम कसको पक्षमा जाला भनेर यसै भन्न सकिने स्थिति छैन। यो निर्वाचनको घोषित परिणाम भने मुस्ताङबाट प्राप्त भएको थियो, जहाँ नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .