ad ad

राजनीति


दोलखामा २ हजार मतान्तरले पछि परेका कार्कीले एक्कासि २ हजारकै अग्रता कसरी बनाए?

दोलखामा २ हजार मतान्तरले पछि परेका कार्कीले एक्कासि २ हजारकै अग्रता कसरी बनाए?

नेपालखबर
मंसिर १८, २०७९ आइतबार २०:४३, काठमाडौँ

एकछिन अघिसम्म एउटा उम्मेदवारले बनाएको सयौँ मतको अग्रता ह्वात्त अर्को उम्मेदवारले घटाउने, फेरि त्यो अग्रतालाई माथ गरेर अर्को उम्मेदवार सयौँ मतले अगाडि जाने हुन थालेपछि दोलखाको मतगणना परिणाम निकै रोचक बन्न पुगेको छ। 

शुक्रबार (१६ मंसिर) देखि सुरु भएको दोलखाको मतगणनामा शनिबार साँझसम्म माओवादी केन्द्रका गंगा कार्की झण्डै १ हजार ५ सय मतान्तरले अग्रस्थानमा थिए। 

मतगणनाको सुरुवातदेखि नै निरन्तर अग्रता हासिल गरिरहेकाले आम निर्वाचन–०७९ को अन्तिम परिणाम माओवादी केन्द्रको पोल्टामा पर्ने हो कि भन्ने अनुमान धेरैले गर्न थालिसकेका थिए।

तर, सत्तागठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीको त्यो फराकिलो अग्रतालाई एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आइतबार विहानदेखि तोड्न थाले। 

कार्कीले कायम गरेको झण्डै १५ सयको मतान्तरलाई तोडेर आइतबार दिउसो शिवाकोटीले झण्डै २ हजार मतान्तरसहित अग्रता हासिल गरे।

कार्कीको त्यति फराकिलो मतान्तरलाई उछिनेर शिवाकोटीले बनाएको झण्डै २ हजारको मतान्तर आइतबार साँझसम्म पनि टिक्न सकेन। 

शिवाकोटीको त्यो फराकिलो मतान्तरलाई कार्कीले आइतबार साँझ तोडिसकेका मात्र छैनन्, २४ घण्टा बित्दानबित्दै फेरि १ हजार ४ सयको मतान्तर बनाएका छन्। 

पछिल्लो गणना अनुसार कार्की २४ हजार ५४ मतका साथ अग्रस्थानमा रहँदा शिवाकोटी २२ हजार ४ सय ७३ मतका साथ उनलाई पछ्याइरहेका छन्। दुईबीच १ हजार ५ सय ८१ को मतान्तर छ। 

यसअघिको १ हजार ३ सय ७९ को मतान्तरलाई आफैँले पछि पारेर कार्कीले पछिल्लो गणनामा मतान्तर अरु बढाएका हुन्।  

खासमा कार्कीको गाउँ रहेको गौरीशंकर गाउँपालिकाबाट सुरु भएको मतगणनाबाट उनको मतान्तर सुरुमै फराकिलो बन्न थालेको थियो। 

आफ्नो गाउँपालिकामा कार्की एमालेका शिवाकोटीमाथि १ हजार ४ सय ४० को मतान्तर कायम गरी अघि बढेका थिए। गौरीशंकर गाउँपालिकामा कार्कीले ४ हजार १ सय ११ मत प्राप्त गर्दा एमालेका सिवाकोटीलाई २ हजार ६ सय ८१ मत प्राप्त भएको थियो। 

त्यसपछि शिवाकोटीको गाउँ रहेको कालिन्चोकमा गणना सुरु भयो। आफ्नो गाउँपालिकामा सिवाकोटीले पनि अग्रता त कायम गरे। तर, माओवादी उम्मेदवार कार्कीको जस्तो फराकिलो मतान्तर भने कायम गर्न सकेनन्। 

कालिञ्चोकमा शिवाकोटीले ५ हजार १ सय ७९ मत प्राप्त गर्दा माओवादीका कार्कीलाई ४ हजार ३ सय ९ मत प्राप्त भयो। आफ्नो गाउँपालिकामा सिवाकोटीले ८ सय ७० मतान्तर कायम गर्न सके। 

समग्रमा यी दुई गाउँपालिकाको मतगणनामा शिवाकोटीमाथि कार्की हावी भए। 

त्यसपछि एमालेको पकड भएको भीमेश्वर नगरपालिकामा मतगणना सुरु भयो। जिल्ला सदरमुकाम रहेको भीमेश्वर नगरपालिकामा एमालेका शिवाकोटी माओवादीका कार्की भन्दा ३ हजार बढी मतान्तरले अगाडि पुगे। यो मतान्तरले यसअघि कार्कीले बनाएको मतान्तरलाई सन्तुलनमा राखेर १५ सय भन्दा बढीको मतान्तर कायम हुन पुग्यो। 

त्यसपछि सुरु भएको जिरी नगरपालिकाको सुरुवाती गणनामा पनि शिवाकोटी नै हावी भए। यसक्रममा कार्की भन्दा शिवाकोटी झण्डै २ हजार मतान्तरले अगाडि रहे। 

हिजोसम्म झण्डै १५ सय मतान्तरले पछि परेका शिवाकोटीले त्यो मतान्तरलाई सन्तुलन गरी २ हजार मतले अग्रता हासिल गरेपछि फेरि धेरैलाई लाग्यो– निर्वाचनको अन्तिम परिणाम एमालेको पक्षमा जाने भयो। 

तर, सत्तागठबन्धनका दोलखाली नेता–कार्यकर्ताहरु भने भीमेश्वर नगरपालिकाको मतगणना जारी रहँदासम्म ‘एमालेले जित्छ–जित्छ’ जस्तो हुने र तामाकोशी एवं बैत्तेस्वरको गणना सुरु भएपछि आफ्नो पक्षमा ह्वातै मत बढ्नेमा विश्वस्त थिए। 

यसको संकेत माओवादी केन्द्र दोलखाका युवा नेता ऋतिकराज गिरिले शुक्रबार साँझ नै गरिसकेका थिए। 

‘भीमेश्वर नगरपालिकाको मतगणना गर्दा बालकृष्ण शिवाकोटीलाई धेरैले बधाई दिन्छन्, विजय घोषणा पनि गर्छन्, जुलुशको तयारी पनि गर्छन्’ शुक्रबार साँझ गिरिले आफ्नो फेसबुकमा लेखेका थिए, ‘जब बैत्तेश्वर र तामाकोशी गाउँपालिकाबाट मतगणना सुरु हुन्छ, त्यसपछिको परिणाम फरक हुन्छ।’ 

गिरिले लेखेजस्तै आइतबार विहानसम्मको मत परिणामलाई ओझेलमा पारेर दिउँसोदेखि फेरि परिणामले कोल्टे फेर्न थाल्यो।  

आइतबार विहान बैत्तेश्वर– १ को गणना हुँदा सत्तागठबन्धनको तर्फबाट प्रदेश सभाका कांग्रेस उम्मेदवार कुन्दनराज काफ्लेले १ हजार २ सय ९० मत प्राप्त गर्दा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठले ४४ मत मात्र प्राप्त गरे।

लगत्तै सुरु भएको प्रतिनिधि सभाको गणनामा पनि यही ट्रेण्ड देखियो। गणना भएका मतसंख्या बढ्दै जाँदा कार्कीको मतान्तरपनि बढ्दै जान थाल्यो, जुन पछिल्लो गणना अनुसार १ हजार ९ सय ३४ कायम भएको छ। यो नै अहिलेसम्मको सबैभन्दा फराकिलो मतान्तर हो। 

भीमेश्वर नगरपालिकाको गणनामा एमालेका शिवाकोटीले ७ हजार ३ सय ७५ मत प्राप्त गरेका थिए भने माओवादीका कार्कीलाई ४ हजार २ सय १ मत प्राप्त भएको थियो। यहाँ शिवाकोटीले कार्कीले भन्दा ३ हजार १ सय ७४ मत बढी पाएका थिए।  

भीमेश्वर नगरपालिकामा प्राप्त त्यही मतका कारण शिवाकोटी आइतबार दिउसोसम्मको गणनामा कार्कीमाथि फराकिलो मतान्तरका साथ हावी भइरहे। 

तर, एमाले उम्मेदवार शिवाकोटीले भीमेश्वर नगरपालिकाको गणनाको क्रममा बनाएको फराकिलो मतान्तर तामाकोशी र बैत्तेश्वर गाउँपालिकाको गणनाका क्रममा उल्टिन थाल्यो। यी दुई पालिकाबाट माओवादी उम्मेदवार कार्कीले उस्तै मतान्तर कायम गर्न थालेपछि सत्तागठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ताहरु उत्साही देखिएका छन्।

अहिले मेलुङ गाउँपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकामा मतगणना चलिरहेको छ र त्यहाँ पनि माओवादी केन्द्रका कार्कीले नै अग्रता बनाइरहेका छन्। यसमध्ये मेलुङ गाउँपालिकामा एमाले बलियो स्थितिमा छ भने बिगु र शैलुङ गाउँपालिकामा एमालेको तुलनामा सत्तागठबन्धन केही अनुकूल स्थितिमा छ। 

समग्रमा यी तीन पालिकाको समग्र मतणना परिणाम प्रतिस्पर्धात्मक हुनेछ। सत्तागठबन्धन उत्साही देखिएपनि यी तीन पालिकामा निकै प्रतिस्पर्धा हुने भएकाले एमालेले पनि आशा मारिहालेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .