खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री हुने पक्का भएको हो। सत्ता गठबन्धनबीच गण्डकीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिसँगै अब एमाले संसदीय दलका नेता अधिकारीको मुख्यमन्त्री यात्रा पक्का भएको हो।
तर, निर्वाचन परिणाम भने उनी अनुकूल थिएन। ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेले प्रत्यक्षमा १२ सिट जित्यो भने समानुपातिकतर्फ १० सिट गरी २२ सिटमात्र जित्न सक्यो।
तर, एकाएक पुरानो गठबन्धन भत्कियो। २७ सिट भएको कांग्रेस प्रतिपक्षको भूमिकामा धकेलियो भने सत्तापक्ष बनेर एमालेसहित ८ सभासदको माओवादी केन्द्र र २ सदस्य रहेको राप्रपा सत्तापक्ष बन्न पुग्यो। खगराजको भाग्य खुल्यो।
माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहँदा उनी मौनजस्तै बसे तर मुख्यमन्त्रीको तयारी गरिरहे। यही उपक्रममा आइतबार एमाले, माओवादी र राप्रपाका ३२ सांसदहरु हस्ताक्षर लिइयो।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमा सोमबार अपरान्ह ४ बजेसम्मको समयसीमा सकिनु अगावै मुख्यमन्त्रीको दाबी गर्ने सहमति बन्यो।
केन्द्रमा भएको सत्ता गठबन्धनको बैठकलगत्तै अब मुख्यमन्त्रीको दाबी गरिने एमालेका सांसद रोशनबहादुर गाहाले जानकारी दिए। उनका अनुसार सोमबार बिहान १० बजेसम्म संसदीय दलको बैठक बस्ने र त्यसपछि सत्ता गठबन्धनका नेताको बैठक बस्ने, त्यसपछि बहुमत हस्ताक्षर लिएर प्रदेश प्रमुखकहाँ जाने तय भएको छ।
‘बिहान १० बजेसम्म हाम्रो संसदीय दलको बैठक सकिन्छ। ११ बजेपछि दलका नेताहरुको बैठक हुन्छ। त्यसपछि हामीले बहुमत हस्ताक्षर लिएर समयसीमाभित्रै प्रदेश प्रमुखकहाँ जान्र्छौ’,उनले भने।
खगराज २०७१ सालमा सुशील कोइराला मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्री भएका थिए भने केपी ओलीले दोस्रोपटक संसद विघटनपछि उनलाई गृहमन्त्री बनाएका थिए।
तर, सर्वोच्चको आदेशसँगै १३ दिनपछि उनी पदमुक्त बने
खगराज खारिएका नेता हुन्। २०४८ सालदेखि चुनाव लडेका र ३ पटक हार र २ पटक जितको स्वाद चाखेका उनले प्रदेशको समृद्धि र आफ्नो चुनावी क्षेत्रको विकासलाई मुख्य चुनावी एजेण्डा बनाएका थिए। उनको ‘माया मारेको मान्छे’शीषर्कमा आत्मसंस्मरण पनि प्रकाशित छ।
यता, एमालेले मु्ख्यमन्त्री पाउने भएपछि माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानको चाहनामा ब्रेक लागेको छ।
उनले प्रदेश १ को मुख्यमन्त्री एमालेले पाएपछि आफूले गण्डकीको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेका थिए। मुख्यमन्त्री एमालेको भागमा परेपछि अब चुमानकै नेतृत्वमा माओवादी सरकारमा जाने तय भएको एक नेताले बताए।
‘हाम्रो नेता चुमान कमरेड नै हो, उहाँको नेतृत्वमा सरकारमा जाने हो, अर्थ वा भौतिकमध्ये उहाँले एउटा मन्त्रालयको नेतृत्व गर्नुहुन्छ’,उनले भने,‘सभामुख स्वभाविक रुपले हामीले पाउँछौँ ।’
सभामुख को हुने भन्नेबारे निर्णय नभएको उनले बताए। यद्यपि, गोखराका सांसद कृष्ण धिताल वा सुशीला सिंखडामध्ये एकजना सभामुख बन्ने उनले जानकारी दिए।
सभामुख नहुनेले मन्त्री पाउने पक्का भएको तथा डा. बाबुराम भट्टराई निकट फणिन्द्र देवकोटाले पनि मन्त्री पाउने सम्भावना रहेको स्रोतले बतायो।
माओवादी संसदीय दलका नेता चुमानले स्वयंले पनि मुख्यमन्त्री नपाएको अवस्थामा आफ्नै नेतृत्वमा माओवादी सरकारमा जाने पुष्टि गरे।
उनले भने,‘म त नेताहरुले के भन्छन, त्यही मान्ने मान्छे परेँ। मलाई पद होइन, काम दिए पुग्छ, मलाई धेरै काम चाहिन्छ, मा आँट गर्ने मान्छे परेँ।’
पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा मन्त्री बनेका चुमान, गण्डकीको सरकार फेरिएर कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्दा भने सरकारमा गएका थिएनन्।
यता, दुई सांसद रहेको राप्रपा पनि सरकारमा जाने तयारीमा नै छ। राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ राप्रपाबाट सरकारमा सहभागी हुनेछन्।
राप्रपा सरकारमा सहभागी हुँदा कांग्रेस र बाँकी रहेका नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन्। यद्यपि, मनाङेले पनि सरकारलाई समर्थन गर्न तयार रहेको अभिव्यक्ति दिइसकेका छन्।
पुस २४, २०७९, आइतबार
प्रतिक्रिया