जेनजी आन्दोलनको क्रममा गण्डकीको मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास एवं तोडफोड भएको छ।
पोखराको सभागृह चोकमा रहेका प्रदर्शनकारीहरू त्यहाँबाट नाराबाजीससहित पोखराको चिप्लेढुंगा पुगेका थिए।
प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता मिसिएपछि आन्दोलन त्यहीँ सकिएको घोषणा गरिएको थियो।
तर, भीड थामिएन। उत्तेजित भीड त्यसपछि सरकारी कार्यालय रहेको पार्दीस्थित कार्यालयतिर पुगे। पोखरा ७, राष्ट्रबैंक चोकनेर रहेको जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजी गरेपछि सो समूह त्यसको माथि रहेको मुख्यमन्त्री कार्यालय पुगेको थियो।
प्रदर्शनकारीले त्यहाँ नाराबाजीमात्र गरेनन्, मुख्यमन्त्री कार्यालयमा आगजनी र ढुंगामुढा पनि गरे। प्रदर्शनकारीको ढुंगा प्रहारबाट मुख्यमन्त्री कार्यालयका झ्यालका सिसाहरु फुटेका छन्।
नाराबाजी र प्रदर्शन भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रूग्यास र पानीको फोहरा प्रहार गरेको थियो। त्यो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।
Shares

प्रतिक्रिया