राजनीति


राप्रपाले राजनीति सिकायो, एमालेले उचाइ दियो, एकीकृत समाजवादीले मन्त्री बनायो

राप्रपाले राजनीति सिकायो, एमालेले उचाइ दियो, एकीकृत समाजवादीले मन्त्री बनायो

दिनेश बुढा
फागुन २४, २०८० बिहिबार ११:८, सुर्खेत

डोल्पाका धनबहादुर बुढा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन्।

एमालेसहितको नयाँ गठबन्धन सरकारमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढाले बुधबार पद तथा गोपनीयताको शपथ खाइसकेका छन्।

प्रतिनिधिसभातर्फ एक सिट रहेको डोल्पामा २०७९ मा भएको निर्वाचनमा बुढाका मुख्य प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाही र राप्रपाका अंगदकुमार बुढा थिए।

कांग्रेससहितको तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका बुढा उनीहरूलाई हराउँदै ११ हजार २२५ मतका साथ विजयी भएका थिए।

बुढाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ भोट ल्याएका थिए।

बुढा २०७४ सालको निर्वाचनमा पनि एमालेबाट निर्वाचित भएर पर्यटन राज्यमन्त्री बनेका थिए।

डोल्पाको राजनीतिमा लामो समय पकड जमाएका मोतीप्रसाद पहाडी (स्वर्गीय) र नरबहादुर बुढाथोकीको साथ पाएका बुढाको राजनीतिक जीवन राप्रपाबाट सुरु भएको थियो।

राजा ज्ञानेन्द्रको शासनकालमा जिल्ला विकास समितिको सभापति र जिल्ला अनुगमन समितिको अध्यक्षमा मनोनयन हुनुमा उनलाई पहाडी र बुढाथोकीको साथ थियो।

शाहीकालमा प्राप्त यो अवसरले उनको राजनीतिक उचाइ बढायो। बुढालाई केन्द्रीय राजनीतिमा आउने अवसर एमाले प्रवेशबाट जुरेको हो।

ठेक्कापट्टा र यार्सागुम्बाको व्यापारबाट मनग्य कमाएका बुढाको प्रवेशअघि डोल्पामा एमालेलाई प्रभावशाली नेताको अभाव थियो।

२०६७/०६८ ताका एमाले प्रवेश गरेर बुढाले त्यो अभाव पूरा गरिदिए।

एमाले प्रवेशलगत्तै २०७० को दोस्रो संविधान सभा निर्वाचनमा बुढाले माओवादी केन्द्रकी प्रभावशाली नेतृ सत्या पहाडीलाई भारी मतान्तरले हराए।

६ हजार ९ सय ८७ मतसहित एमाले नेता बुढा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पहाडीले २ हजार ७ सय ७४ मात्रै ल्याइन्।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा डोल्पाबाट माओवादी केन्द्रका रामबहादुर बोहोरा ९ हजार ७ सय २३ मतसहित विजयी भएका थिए। 

बोहोराका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णबहादुर बुढाले ३ हजार ४ सय २७ र एमालेका ओमबहादुर बुढाले १ हजार ९ सय ७८ मत मात्र ल्याएका थिए। कांग्रेसका दिलबहादुर विष्टलाई १ हजार ४ सय ४० मत प्राप्त भएको थियो।

वाम गठबन्धनका कारण २०७४ को निर्वाचनमा माओवादीको साथ पाएपछि बुढा अझ भारी मतान्तरले विजयी भए।

११ हजार ७ सय ६१ मतका साथ बुढा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १ सय ६७ मतमात्र प्राप्त गरेका थिए। 

यस्तै बुढालाई २०७९ को स्थानीय तह निर्वाचनअघि एकीकृत समाजवादी पंक्तिभित्र आमनिर्वाचनमा विजयी हुने सूचीमा राखेर चर्चा गरिएको थियो। किनभने थोरै जनसंख्या भएको हिमाली जिल्ला डोल्पामा जनबल र धनबलका दृष्टिले बुढालाई उछिन्ने नेता थिएनन्।

साथै बुढाले निर्वाचनअगावै समाजवादीबाट प्रमुखको उम्मेदवार बनेका दुई जनालाई निर्विरोध गराउन सफल भएका थिए। 

समाजवादीका उम्मेदवार अंगदकुमार राना काइके गाउँपालिका र सेनाङ गुरुङ छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि बुढाले संसद्‌मा ह्याट्रिक गर्ने चर्चा उतिबेलै हुन थालेको थियो। 

जिल्लामा मुख्य प्रतिस्पर्धी नेकपा एमाले भए पनि स्थानीयको परिणामका आधारमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बलियो हुनाले उनको विजय सहज भएको थियो।

डोल्पाका आठ स्थानीय तहमध्ये बुढा आबद्ध एकीकृत समाजवादीले निर्वाचनअघि नै दुई पालिकाको प्रमुखमा निर्विरोध विजय हासिल गरेको थियो। माओवादी केन्द्र जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा विजयी भएको थियो।  

यस्तै एमाले विभाजनपछि बुढा समाजवादीमा लागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .