आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएर घर फर्किएर खाना खाई जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल पर्यो ८३ वर्षीय धनपति सेढाईंलाई।
जेनजी आन्दोलनका सहिद ज्ञानीन्द्र (गोपाल) सेढाईंका पिता धनपतिलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ।
बोलाउने नाम गोपाल रहेका ज्ञानीन्द्र एक साहसी, सरल र मित्रभावले ओतप्रोत युवाका रूपमा स्थानीयमाझ लोकप्रिय थिए।
मुटुको टुक्राजस्तो छोरो गत भदौमा भएको जेनजी आन्दोलनमा मारिएपछि धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा ओभाउन सकेका छैनन्।
झापाको अर्जुनधारा नगरपालिका-११, बिर्तामोडवासी गोपालका विषयमा कुराका सुरु गर्नासाथ गुनमाया छोराको फोटो छातीमा राखेर बिलौना गर्न थालिन्।
बिर्तामोडमा भएको जेनजी आन्दोलनका क्रममा गोपाललाई गोली लागेको थियो। घाइते अवस्थामा उनलाई नजिकैको बी एन्ड सी मेडिकल कलेज लगिए पनि बचाउन सकिएन।
आन्दोलनमा जानुअघि भदौ २४ गते बिहान गोपाल रक्तदान गरेर दिउँसो घर फर्किएका थिए र बुबा लिएर शनिश्चरे अस्पताल गए। बुवासँगै फेरि घर आएका उनी आमा र बुबासँगै खाना खाएर बाहिरिएका थिए।
त्यसदिन गोपाल जागिरमा नगएर साथीहरूसँग बिर्तामोड बजारतर्फ लागे। त्यही क्रममा उनलाई गोली लाग्यो। दिउँसो २ः३० बजेतिर गोली लागेका उनलाई त्यही दिन अपराह्न ४ बजे अस्पताल (बी एन्ड सी) ले मृत घोषणा गरेको थियो।
छातीमा गोली लागेका गोपालको मृत्यु घटनास्थलमै भइसकेको उनका साथी रामचन्द्र भण्डारीको भनाइ छ।
घटनाको दिन सम्झिँदै आमा गुनमाया भक्कानिँदै भन्छिन्, ‘ऊ बिहानै चिया खाएर निस्कन्थ्यो, गाईलाई घाँस हाल्थ्यो। घरायसी काम सकेर नजिकैको आयुर्वेदिक अस्पतालमा जागिरमा जान्थ्यो। बेलुका फर्किन्थ्यो। मलाई आमा के खानुभयो भनेर सोध्यो। अब यसरी मलाई सोध्ने गोपाल नफर्कने भयो...। बुढेसकालको हाम्रो सहाराको अन्त्य भयो।’
गोपाल आयुर्वेदिक अस्पतालमा योग सिकाउँथे।
सरकारले जेनजी आन्दोलनमा मारिएका झापाका ज्ञानीन्द्रसहित ४५ जनालाई सहिद घोषणा गरेको छ।
गोपालका बुवा धनपति प्रश्न गर्छन्, ‘मेरो छोरोलाई किन गोली हानियो?’
पुरानो घर देखाउँदै उनले अगाडि भने, ‘ऊ सेन्टी बेराको घरमा बसेर पढ्यो। यही घरबाट कलेज गयो। अनि काठमाडौँमा पढाइसकेर घर फर्कियो र चार वर्षअघि पक्की घरमा बस्ने रहर गरेर दाजुलाई सहयोग माग्यो र घर बनायो। हामी बुढेसकालका सहारा भएर उसकै आश्रयमा बसेका थियौँ। अब यही घरबाट उसको मंसिरमा बिहे गर्ने तयारी हुँदै थियो। सबै चकनाचुर भयो।’
छोराको नाम लिनासाथ धनपतिको मन भारी हुन्छ, मुख अँध्यारो हुन्छ।
‘ऊ त भिडको बीच नारा लगाउँदै हिँडेको रहेछ। प्रहरीले हानेको गोली छातीमा लागेर पुर्लुक्कै ढल्यो रे! सँगै भएका साथीहरूले बी एन्ड सी अस्पताल पुर्याएछन्, तर फर्किन सकेन...’, उनले भने।
गोपालकी दिदी तुलसा उनलाई भाइभन्दा बढी साथीका रूपमा सम्झिन्छन्।
‘म रिसाउँदा हाँसेर सम्झाउँथे। म भन्थेँ- समाज बदल्नुपर्छ। संसार यस्तै हो। तर उनी भन्ने गर्थे- हामीले नै बदल्नुपर्छ, अरूलाई पर्खेर हुँदैन’, तुलसाले सुनाइन्।
अर्जुनधाराका नगर प्रमुख बलदेव गोमदेन प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिने धेरै उपाय हुँदाहुँदै सुरक्षाकर्मीले यसरी गोली चलाउँदा गोपालजस्ता निर्दोष युवाको ज्यान गएको बताउँछन्।
उनले भने, ‘गोपालजस्तो शान्त स्वभावको युवकको ज्यान जानु केवल एक शोक होइन, हाम्रो पालिकाको विश्वास र सुरक्षाको विषय हो। हामी झापालीले दिनेश राजवंशी र गोपाललाई गुमाएका छौँ, हामीले समाजलाई फेरि सुरक्षित महसुस गराउने वातावरण बनाउनैपर्छ।’
सहिद गोपालका सबैभन्दा नजिकका साथी सुजन शिवाकोटी गोपाल नहुँदा स्तब्ध छन्।
‘हामी साथीभाइहरू सधैँ बिर्तामोडका चिया र कफी पसलमा भेट्थ्यौँ। अनि सचेत युवा समाज र आगामी आन्दोलनरे कुरा गर्थ्यौँ। गोपाल सधैँ भन्ने गर्थे- हिंसा नगरौँ, आवाज बुलन्द गरौँ। तर विडम्बना उनैले हिंसाको प्रत्यक्ष सिकार भएर ज्यान गुमाउनुपर्यो।’
सुजनका अनुसार गोपाल इमान्दार, सरल र मिलनसार थिए। आफ्नो धारणा स्पष्ट रा र साथीहरूलाई देशको पछिल्लो अवस्थाबारे सम्झाउने उनको आदत थियो।
अर्का साथी माधव झा भने गोपालको मृत्युले युवा पुस्तालाई डर होइन, अझ दृढ भएर लाग्न प्रेरणा मिलेको तर्क गर्छन्।
‘मिसन बिर्तामोड’ अभियान चलाउने झा गोपालसँग धेरै नजिकमा नभए पनि भेटघाटमा देश बनाउने अभियानकै कुरा गरेको सुनाउँछन्।
उनले भने, ‘उनको मृत्युपछि बिर्तामोड र अर्जुनधारा शोकमा डुबेको छ। आवाज दमन गर्ने कि आवाज उठाउने भन्ने उनको मृत्युले अब हाम्रो पुस्तालाई सशक्त रूपमा आवाज उठाउन बल दिएको छ।’
गोपालको निधनले झापाका युवाबीच एक किसिमको राजनीतिक चेतना बढाएको उनको भनाइ छ।
अर्जुनधारा-११ का वडाध्यक्ष खगेन्द्र इङनाम यो घटना एक परिवारको मात्र नभएर सिंगो वडाको भएको बताउँछन्।
पहाड आठराइदेखि नै पारिवारिक सम्बन्धमा भएको यो सेढाईं परिवार झापा आजदेखि पनि आफूहरूकै आत्मीय सम्बन्धमा सहकार्य गर्दै अघि बढेको र यो घटनाले आफूलाई स्तब्ध बनाएको उहाँको भनाइ छ ।
Shares

प्रतिक्रिया