नेकपा एमालेले कोसी प्रदेशका १४ वटै जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुङ्गो लगाएको छ।
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले पुराना नेतादेखि नयाँसम्मलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।
कोसी प्रदेशका मुख्य जिल्लाहरूमध्ये झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं चुनावी प्रतिस्पर्धामा उत्रिने छन्।
झापाकै अन्य क्षेत्रहरूमा क्षेत्र नम्बर १ बाट रामचन्द्र उप्रेती, क्षेत्र नम्बर २ बाट देवराज घिमिरे र क्षेत्र नम्बर ४ बाट मनोज ताम्लीलाई उम्मेदवार बनाइएको छ।
क्षेत्र नम्बर ३ को उम्मेदवार भने अध्यक्षले नै टुङ्गो लगाउने गरी बाँकी राखिएको छ।
प्रदेशकै सबैभन्दा ठुलो निर्वाचन क्षेत्र भएको मोरङमा ४ जनाको टुङ्गो बैठकले लगाएको छ। क्षेत्र १ बाट घनश्याम खतिवडा, २ बाट दिलीप कुमार अग्रवाललाई उम्मेदवार बनाइएको छ। उम्मेदवार बनाउने तयारी भएका अग्रवाल रङ्गेली नगरपालिकाको मेयरमा २ पटक निर्वाचित प्रतिनिधि हुन् । उनी नेकपा एमालेको भर्खरै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थियो । यो क्षेत्र नेकपा एमालेले नै यस अघि जितेको ठाउँ हो।
एमालेका केन्द्रीय सदस्य एवम् मोरङ इन्चार्ज समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उठेको क्षेत्र हो । ओलीले यो क्षेत्रमा पोखरेललाई हटाएर अग्रवाललाई टिकट दिएका हुन् । क्षेत्र नम्बर ३ बाट दिलीप राई र क्षेत्र नम्बर ४ बाट जीवन घिमिरेले टिकट पाएका छन् भने दुई वटा क्षेत्रमा अझै उम्मेदवार टुङ्गिन बाँकी छ।
सुनसरी क्षेत्र नम्बर १ मा सूर्य पन्दाक, क्षेत्र नम्बर ३ बाट भगवती चौधरीलाई टिकट दिँदा क्षेत्र नम्बर २ र ४ को उम्मेदवार टुङ्गो लगाउन बाँकी छ। इलाममा काजीमान कागते र सुहाङ नेम्वाङले टिकट पाउँदा पाँचथरबाट ऐन्द्रसुन्दर नेम्वाङ चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछन्। ताप्लेजुङको हकमा भने उम्मेदवारको अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई नै दिइएको छ।
पहाडी जिल्लाहरूमा सङ्खुवासभाबाट डा.अर्जुन कार्की, धनकुटाबाट राजेन्द्र राई, भोजपुरबाट शेरधन राई र तेह्रथुमबाट भानुभक्त ढकाल उम्मेदवार बनेका छन्। ढकाल यस अघि मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएर नेपाली काँग्रेसका नेता सुनिल शर्मासँग पराजित भएका थिए।
२०७४ सालको निर्वाचनमा सुरक्षित मानिएको क्षेत्रमा उम्मेदवार बनेर निर्वाचित भएका बेला कार्यकर्तालाई बेवास्ता गरेको आरोप लागेको थियो। त्यसै गरी सोलुखुम्बुमा कल्पना राई, ओखलढुङ्गामा अस्मिता थापालाई उम्मेदवार बनाएको छ।
थापा अहिले लिखु गाउँपालिकाको उपाध्यक्ष हुन्। युवा भएको कारण उनले टिकट पाएको हुनसक्ने नेताहरूले बताएका छन् । उन भर्खरै सम्पन्न नेकपा एमालेको केन्द्रीय सदस्य भएकी थिइन्।
जिल्ला सहसचिवबाट एकै पटक पार्टीको केन्द्रीय सदस्य भएकी थिइन् ।
उदयपुरमा दुर्गा थापा स्वोती र अमरबहादुर रायमाझी तथा खोटाङमा देवविक्रम राईलाई एमालेले अघि सारेको छ। कोसी प्रदेशका केही रणनीतिक क्षेत्रहरूमा भने अध्यक्षले उपयुक्त समयमा उम्मेदवारको नाम घोषणा गर्ने गरी हाललाई थाती राखिएको छ।
Shares

प्रतिक्रिया