कोशी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ।
बैठकले प्रदेश भवन नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बताए। त्यस्तै, प्रदेश सरकारले आगामी २०८३ सालका लागि प्रदान गरिने सार्वजनिक बिदाको सूचीलाई पनि स्वीकृति प्रदान गरेको छ।
बैठकले वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको सीमा निर्धारण गर्ने प्रस्तावलाई समेत पारित गरेको मन्त्री पराजुलीले जानकारी दिए। प्रदेश सरकार र आमा दब्लम मिनी हाइड्रो पावर लिमिटेडबीच आयोजना विकास सम्झौताका लागि छलफल गर्न आर्थिक तथा पूर्वाधार विकास समितिमा पठाउने निर्णय गरेको छ।
यस्तै, प्राकृतिक विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिँदै मन्त्रिपरिषद्ले गत असोज १८ र १९ गतेको बाढीपहिरो तथा चैत १ र २ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा काम गर्न बजेटको व्यवस्था गरेको छ।
यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहेको विपद कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको छ, जसले प्रभावित क्षेत्रको पुनर्निर्माण प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया