नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी समीक्षाका क्रममा रुकुम पूर्व पुगेका छन्।
प्रचण्डको उपस्थितिमा चुनावी समीक्षा गर्न नेकपाको जिल्ला स्तरीय बैठक रुकुमकोटमा सुरु भएको छ। गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा उनी रुकुम पूर्वबाटै निर्वाचित भएका थिए।
रुकुमकोटमा सुरु भएको बैठकमा चुनावी समीक्षा भइरहेको नेकपाका केन्द्रीय सदस्य केशव रावलले जानकारी दिए। प्रचण्डले आज र भोलि रुकुम पूर्वमा राजनीतिक भेटघाट गर्ने रावलले बताए।
त्यस्तै, शुक्रबार दिउँसो ३ बजे रोल्पाको थबाङ जाने कार्यक्रम रहेको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र थबाङ गाउँपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रगतिशील सङ्गीत उत्सव-२०८३ को वैशाख १९ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
रोल्पा कला साहित्य प्रतिष्ठान सह–आयोजक रहेको उत्सव वैशाख १९ र २० गते दुई दिन चल्नेछ। थबाङमा आयोजना हुन लागेको उत्सवलाई सांस्कृतिक क्रान्ति र प्रगतिशील चिन्तन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ।
Shares

प्रतिक्रिया