लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुनुपर्ने परिस्थिति निर्माण भइरहेको बताएका छन्।
मंगलबार बर्दियाको मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग छलफलका क्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखाइरहेको आरोप लगाए। उनले यस्तो प्रवृत्तिले कसैको हित नहुने उनको भनाइ थियो।
‘अहिलेदेखि नै गम्भीर भएर सोच्नुस्, गम्भीर भएर लाग्नुस्। कम्तिमा को सही हो, को गलत हो भन्ने कुरा छनोट गरेर अघि बढ्नुस्,’ मुख्यमन्त्री आचार्यले भने, ‘सुकुम्वासीको समस्या समाधान गर्न हामीले काम गर्दै थियौँ। कतिपयले पुर्जा पाइसक्नुभएको थियो भने कतिपय पाउने प्रक्रियामा हुनुहुन्थ्यो। तर नगर्ने भन्ने परिभाषामा राखियो।’
मुख्यमन्त्री आचार्यले मुलुकमा यस्तो परिस्थिति आउनेबारे राजनीतिक दलहरूले पहिले नै संकेत गरेको उल्लेख गरे। ‘यी कुराहरू जनतामाझ कति राख्न सक्यौँ, कति सकेनौँ तर सरकारले लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने काम गर्यो,’ उनले भने।
भूमिहीन सुकुम्वासीमाथि पहिलो प्रहार गरिएको उनको भनाइ थियो। अव्यवस्थित बसोबासको समस्यालाई राज्यले गम्भीर रूपमा समाधान गर्नुको साटो घरवारविहीन बनाउने काम गरेको उनको आरोप थियो।
संघीय सरकारले हचुवाको भरमा काम गर्न नहुने भन्दै मुख्यमन्त्री आचार्यले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा संवेदनशील हुन आग्रह गरे।
Shares

प्रतिक्रिया