राजनीति


डाचाराज वाग्लेको रहस्यमय मृत्युको दुई वर्ष : राज्यबाट न्याय नपाएको परिवारको गुनासो

डाचाराज वाग्लेको रहस्यमय मृत्युको दुई वर्ष : राज्यबाट न्याय नपाएको परिवारको गुनासो

नेपालखबर
माघ २२, २०७९ आइतबार १०:२, सर्लाही

दुई वर्षअघि सर्लाहीमा भएको रहस्यमय सवारी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेका परिवारले अहिलेसम्म आफूहरुले राज्यबाट न्याय नपाएको गुनासो गरेका छन्। 

वाग्लेको दोस्रो स्मृति दिवसको अवसरमा सर्लाहीको बरहथवामा शनिबार आयोजित कार्यक्रममा उनीहरुले वाग्लेको मृत्यु रहस्यमय सवारी दुर्घटनाबाट भए पनि सरकारले त्यसलाई सामान्य सवारी दुर्घटनाका रुपमा घटनालाई सामान्यीकरण गर्न खोजेको आरोप लगाएका हुन्। 

नेकपा माओवादी केन्द्र सर्लाही जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा वाग्लेकी पत्नी सरस्वती मिश्रले आफ्ना पतिको मृत्यु सामान्य सवारी दुर्घटनाबाट नभई सुनियोजित दुर्घटनाबाट भएको बताइन्। 

‘घटनालाई प्रहरीले सामान्य सवारी दुर्घटनाको रुपमा अर्थ्याउन खोजे पनि हामी त्यसलाई स्वीकार्न सक्ने अवस्थामा छैनौँ,’ मिश्रले भनिन्, ‘सर्लाहीमा मिटरब्याज विरोधी आन्दोलनको नेतृत्व गरेका डाचाराज वाग्लेको मृत्यु सामान्य सवारी दुर्घटनाबाट मात्रै भएको होइन। राज्यले घटनाको गहिराइमा गएर छानबिन नै गरेको छैन।’

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अच्युतम काफ्ले, एमाले सर्लाहीका जिल्ला अध्यक्ष राजनारायण साह, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, एमालेका नेताहरु रेवती पन्त, विदुर प्याकुरेल र चूडामणि वाग्ले, डाचाराज वाग्लेका भाइ विश्वराज वाग्ले लगायतले बोलेका थिए। 

वक्ताहरुले नेता वाग्लेले युवा अवस्थादेखि नै कम्युनिस्ट राजनीतिमा लागेर नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। त्यस क्रममा उनीहरुले वाग्लेको रहस्यमय मृत्युलाई राज्य पक्षले परिवारको चित्त बुझ्नेगरी छानबिन गरेर यथार्थ विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए।

०७७ माघ २१ गते राति सर्लाहीको बरहथवा जंगलमा भएको रहस्यमय सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको थियो। मृत्यु हुँदा वाग्ले ५१ वर्षका थिए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनविरुद्ध पाँच राजनीतिक दलले बरहथवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गरेर एक्लै मोटरसाइकलमा घर फर्कने क्रममा एकान्त जंगलमा भएको दुर्घटनामा उनको मृत्यु भएको थियो। 

प्रहरीले वाग्ले सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरे पनि परिवारका सदस्य र उनी आबद्ध पार्टी नेकपा माओवादी केन्द्रले भने सुनियोजित दुर्घटनाबाट वाग्लेको मृत्यु भएको  दाबी गरिरहेका छन्। 

प्रहरीले घटनाको एक वर्षपछि दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई पक्राउ गरिएको बताएको थियो। तर, वाग्ले परिवारले त्यसलाई अझै दुर्घटनाका रुपमा स्वीकारेको छैन। उनीहरु घटनालाई रहस्यमय बताइरहेका छन्।

यसैबीच वाग्लेकी पत्नी सरस्वती मिश्रले आफ्ना पतिको स्मृतिमा शनिबारै सर्लाहीको हरिवनस्थित मानव सेवा आश्रमका असहाय नागरिकलाई मिष्ठान्न भोजन गराएकी छन्।

वाग्ले परिवारले शनिबार बिहान हरिवन नगरपालिका १ कैलाशपुरस्थित मावन सेवाश्रममा पुगेर त्यहाँका ५० जना असहाय आश्रितलाई मिष्ठान्न भोजन गराएका हुन्।

त्यहाँ आयोजित कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अच्युतम काफ्लेले वाग्लेको मृत्यु अझै पनि रहस्यकै गर्भमा रहेको बताए। उनले वाग्लेको मृत्युको कारण छानबिनका लागि पार्टीले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्नेमा जोड दिए। 

वाग्लेको रहस्यमय मृत्युको छानबिनका लागि माओवादी केन्द्रले त्यतिबेलै स्थायी समिति सदस्य प्रल्हाद बुढाथोकीको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको थियो। बुढाथोकी नेतृत्वको समितिले समेत अझै छानबिनको प्रतिवेदन सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad