राजनीति


मधेसमा कांग्रेस र एमालेलाई बाहिर राखेर सरकार गठनको कसरत

मधेसमा कांग्रेस र एमालेलाई बाहिर राखेर सरकार गठनको कसरत

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८२ बुधबार ८:१५, जनकपुरधाम

मधेस प्रदेशमा कांग्रेस(एमालेलाई बाहिर राखेर सरकार गठनको कसरत चलिरहेको छ। 

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा लगायतका दलबीच छलफल चलिरहेको हो। 

‘छलफल हिजैदेखि चरिरहेको छ, हेरौँ के हुन्छ,’ माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले नेपालखबरसँग भने, ‘आज बिहानसम्म हाम्रो जोडघटाउको टुंगो लाल्ला।’

कांग्रेस र एमालेले मधेसमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउने तयारी अघि बढाएपछि इतर पक्षले पनि नयाँ गठबन्धनको कसरत गरेको हो। 

मुख्यमन्त्री सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ नियुक्तिका लागि दाबी पेस गर्न आज अपरान्ह चार बजेसम्मको सयम दिएकी छन्। 

एकसय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। 

प्रदेस सभामा जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ। लोसपाका एकजना सांसद निलम्बित छन्। यी पाँच दल मिले भने मधेसमा सरकार गठनको लागि बहुमत पुग्छ।

मधेसमा कांग्रेस र एमालेलाई मात्रै सरकार बनाउन बहुमत पुग्दैन। यहाँ एमालेको २५ र कांग्रेसको २२ सिट छ। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका प्रदेश सभामा १–१ सिट छ।

तर नेकपा एमालेकी सांसद शारदा थापाले भने मधेसमा अब कांग्रेस र एमाले गठबन्धनको सरकार बनाउन अबरोध नहुने दाबी गरिन्। उनले इतर पक्षलाई बहुमत जुटाउनै समस्या रहेको तर्क गर्दै नेपालखबरसँग भनिन्, ‘अरु दललाई सरकार गठन गर्न बहुमत पुग्दैन। जनमत अर्को गठनबन्धमा लाग्दैन भन्ने हामीलाई लागेको छ। लोसपाले पनि जसपालाई समर्थन गर्दैन। जनमत फुटेर अर्कोतिर लागे पनि उहाँहरुलाई बहुमत पुर्याउन समस्या छ।’ 

निवर्तमान मुख्यमन्त्री सिंह जनमतका अध्यक्ष सीके राउत र मधेस संसदीय दलका नेता महेशप्रसाद यादवसँग रुष्ट छन्। 

उनीहरुले असहयोग गर्दा आफूले सत्ता छाड्नु परेको उनको बुझाई छ। भित्रभित्रै उनले जनमतका सांसद विभाजित गर्ने कसरत पनि गरिरहेको आरोप छ। 

उनले पनि त्यसको संकेत गरेका छन्। केही बेरअघि नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘मुख्यमन्त्रीबाट राजीनामा दिएपछि म अहिले तनाब कम गर्न आराम गरिरहेको छु। तर, कांग्रेस एमाले इतरको गठबन्धमा हाम्रा साथीहरु लाग्ने सम्भावनालाई नकार्न सकिँदैन।’

मंगलबार मात्रै जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ। दीपक साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सहित जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको आयोगले जनाएको छ। 

निवर्तमान मुख्यमन्त्री सिंहको झुकाव नयाँ पार्टीमा रहेको चर्चा छ। 

आजैदेखि सांसदहरुलाई दल रोज्ने समय दिने तयारी निर्वाचन आयोगले गरेको छ। यस्तो अवस्थामा जनमतका ६ सांसदले नयाँ पार्टी रोज्ने चर्चा सुरु भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad