राजनीति


माओवादी सुदूरपश्चिमका नेताले प्रधानमन्त्रीलाई सोधे : रेशम चौधरीको मुद्दा के हुँदैछ?

माओवादी सुदूरपश्चिमका नेताले प्रधानमन्त्रीलाई सोधे : रेशम चौधरीको मुद्दा के हुँदैछ?

प्रधानमन्त्रीलई भेट्दै माओवादी सुदूरपश्चिमका नेताहरु। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


गोकुल जोशी
पुस २१, २०७९ बिहिबार १२:४८, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेपछि नेताहरु दौडधूप बढाएका छन्। 

सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दाबी गरिरहेका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्तिले दौडधूप तीव्र पारेका छन्। 

आफ्नो नेतृत्वमा सरकार बनाउन लबिङ गर्नका लागि प्रदेशस्तरका नेताहरु संघीय राजधानी काठमाडौं केन्द्रीत हुन थालेका छन्। 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टले बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। 

नेकपा एमाले नेतृत्वको गठनबन्धनमा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ।

माओवादी सुदूरपश्चिमका इन्चार्ज समेत रहेका संसदीय दलको नेता भट्ट सहित माअ‍ोवादी प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) र सांसद ओमविक्रम भाट (सरल)ले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्।

प्रधानमन्त्रीसँग सुदूरपश्चिम प्रदेश सरकार गठन र प्रदेशको पछिल्लो परिस्थितीका विषयमा छलफल भएको सांसद भाटले बताए। 

‘हाम्रै नेतृत्वमा प्रदेश सरकार गठनका लागि पहल गर्न प्रधानमन्त्री ज्यूलाई भेटेर  कुरा राख्यौं, यस विषयमा उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने।

प्रधानमन्त्री दाहालसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको मुद्दाका विषयमा पनि आफूहरुले जिज्ञासा राखेको उनले बताए। 

‘रेशम चौधरीको मुद्दा के भइरहेको छ? भनेर सोध्यौं, नागरिक उन्मुक्तिका साथीहरुले प्रदेश सभामा राखेको अभिव्यक्तिका बारेमा पनि उहाँलाई जानकारी गराएका छौं,’ उनले भने, ‘प्रधानमन्त्री ज्यूले गठबन्धनमा छलफल भइरहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताउनुभएको थियो।’

नेकपा एमाले नेतृत्वको गठबन्धनसँग सुदूरपश्चिममा सरकार बनाउन बहुमत छ। तर, ७ सांसद रहेको नागरिक उन्मुक्ति यसका लागि निर्णायक शक्तिका रुपमा रहेको छ। 

नागरिक उन्मुक्तिले वि.सं. २०७२ सालमा भएको टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइको मुद्दा चर्को रुपमा उठाइरहेको छ। उसले चौधरीको रिहाइका साथै सुदूरपश्चिमको मुख्यमन्त्री आफूले पाउने पर्ने अडान लिएको छ।

जसले गर्दा एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन सकस परेको छ। १८ पुसको पहिलो प्रदेश सभा बैठकमा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले माघमा रेशम चौधरी रिहा नभए आगामी बैठक अवरुद्ध गर्ने चेतावनी नै दिएका थिए।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद रहेका छन्।

गठबन्धनबाट नेकपा एमालेले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ। गठबन्धनबाट प्रदेशको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि पहल गर्न एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र संसदीय दलका नेता राजेन्द्रसिंह रावल बिहिबार संघीय राजधानी काठमाडौं जाने तयारीमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .