ad ad

राजनीति


जब राजेन्द्र–रवीन्द्रले महेन्द्रनगरमा ‘राजा’को सालिक राख्न पाएनन्...

जब राजेन्द्र–रवीन्द्रले महेन्द्रनगरमा ‘राजा’को सालिक राख्न पाएनन्...

बिहीबार महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र।


गोकुल जोशी
मंसिर २९, २०८० शुक्रबार १०:४२, कञ्चनपुर

तत्कालीन राजा महेन्द्रको सालिक अनावरण गर्ने योजनाका साथ अध्यक्ष राजेन्द्र लिङ्देनसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू बिहीबार दिउँसो कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर आइपुगे। 

महेन्द्रनगरको संविधान चोकमा बिहीबार आमसभासँगै महेन्द्रको सालिक स्थापना गर्ने भनेर राप्रपाले केही साता अघिदेखि नै प्रचारप्रसार गरिरहेको थियो। जहाँ पहिले महेन्द्रकै सालिक थियो भने नाम पनि ‘महेन्द्र स्मारक चोक’ थियो।

तर २०६२/०६३ को जनआन्दोलनपछि गणतन्त्रवादी दलहरूले महेन्द्रको सालिक हटाए भने राजतन्त्र अन्त्यसँगै सर्वदलीय बैठकले नाम पनि फेरेर संविधान चोक राख्यो। 

अहिले फेरि राप्रपाले त्यहाँ तत्कालीन राजा महेन्द्रकै सालिक पुन:स्थापना गर्ने घोषणा गरेपछि कांग्रेस, एमाले र माओवादीसहित ८ दल र तिनका भ्रातृ संस्था झस्किए। र, विज्ञप्ति नै निकालेर विरोध जनाए। 

यसअघि मंसिर ८ गते महेन्द्रनगरमा गणतन्त्रविरोधी प्रदर्शन गर्दै राजतन्त्र समर्थकहरूले त्यहाँस्थित भीमदत्त वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड गरेका थिए। 

अहिले पुनः त्यही स्थानमा राजावादी राप्रपाले आमसभासँगै महेन्द्र शाहको सालिक पुनःस्थापना गर्ने तयारी गरेपछि स्थानीय प्रशासन गम्भीर भयो। र, ‘दंगा हुनसक्ने’ भन्दै संविधान चोकमा आमसभा नगर्न राप्रपालाई चेतावनी दियो।

त्यसपछि राप्रपाले कार्यक्रमस्थल फेर्दै नजिकैको सब्जीमण्डी रोडमा आमसभा गर्ने निर्णय गर्‍यो। तर ऊ पूर्वघोषणाअनुरूप त्यस दिन महेन्द्रको शालिक अनावरण गर्ने दाउमा भने थियो।

सोही योजनाबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीसहितको राप्रपा नेताको टोली बिहीबार दिउँसो महेन्द्रनगर ओर्लिएको थियो। 

राप्रपाका शीर्ष नेताले महेन्द्रनगरमा पाइला राख्नेबित्तिक्कै कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले साता लामो निषेधाज्ञा जारी गर्‍यो।

त्यसो त महेन्द्रनगर बजारका चोकचोकमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मी छ्यापछ्याप्ती भइसकेका थिए। राप्रपाले महेन्द्रको सालिक पुन: स्थापना गर्ने भनेको संविधान चोक सशस्त्र र जनपद प्रहरीले घेरिसकेको थियो। सो बाटो भएर हुने सर्वसाधारण आउजाउमा समेत निकै कडाइ गरियो।

यसरी प्रहरीले संविधान चोक क्षेत्र सिल गरेपछि सब्जिमण्डी रोडमा खुम्चिएको आमसभालाई सम्बोधन गर्न पुगेका लिङ्देनसहित शीर्ष नेताले निषेधाज्ञालाई निसाना बनाए। अनि सडक संघर्षबाट राजा फर्काउने हुंकार गरे। 

गणतन्त्रले देशको समस्या समाधान गर्न नसक्ने टिप्पणी गर्दै अध्यक्ष लिङ्देनले यो व्यवस्था ढल्ने दाबी गरे। आफूहरु हिंसामा विश्वास नगर्ने हुनाले निषेधाज्ञा नताडेको तर्क गरे। 

‘गणतन्त्र आवश्यक छैन। यसले देशको समस्या समाधान गर्न सक्दैन। गणतन्त्रका नाममा लुटतन्त्र मच्चाइएको छ,’ उनले भने, ‘ठूला राजनीतिक र विदेशी आशीर्वादले गणतन्त्र बलियो हाेला भन्ने सोचेका थियौँ। तर हाम्रो कार्यक्रमले गणतन्त्र काम्यो। अब ढाल्न एक धक्का दिन मात्रै बाँकी छ।’

राजा महेन्द्रको सालिक पुनःस्थापना गर्दा तर्सिएको गणतन्त्र ढल्नेमा कुनै सन्देह नरहेको दाबी उनले गरे। 

‘तीन दशक शासन गर्दा देश किन बनेन? देश बनाउन कसले रोक्यो? हिजोको व्यवस्थालाई गाली गरेर सत्ता टिकाउन खोजिरहेका छन्’, अध्यक्ष लिङ्देनले भने, ‘देश भ्रष्टको हातमा छ। ऋण लिएर कर्मचारीलाई तलब दिनुपर्ने अवस्था सिर्जना भएको छ।’

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले व्यवस्था उल्ट्याउन आन्दोलनको आँधी ल्याउने दाबी गरे।

‘देश खोक्रो बनाइसके। यिनीहरुले देश बनाउन सक्दैनन्। राजा महेन्द्रको सालिक पुनःस्थापना गर्दा ८ दल विरोधमा उत्रिए’, उनले भने, ‘सरकारले आज निषेधाज्ञा जारी गर्‍यो। अस्ति काठमाडौँमा। सरकार कति ठाउँमा निषेधाज्ञा लगाउँछ ? अब आन्दोलनको आधीँ आउँछ।’

आगामी पुस पहिलो साता राप्रपाले केन्द्रीय कमिटीको बैठकबाट आन्दोलन घोषणा गर्ने उनले बताए। सरकारका सम्पूर्ण संयन्त्र भ्रष्ट भएर देशलाई खोक्रो बनाएको आरोप उनले लगाए। 

भीमदत्तनगरको पहिचान महेन्द्रसँग जोडिएकाले इतिहासको जर्गेना गर्ने उद्देश्यले उनको सालिक राख्न खोजिएको जिकिर राप्रपाले गरिरहेको छ। 

तर स्थानीय प्रशासनले संविधान चोकमा बिहीबारदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेसँगै तत्कालका लागि महेन्द्रको सालिक पुन:स्थापना गर्ने राप्रपाको योजना विफल भएको छ। 

व्यस्त बजारको मुख्य सडकका रुपमा रहेको संविधान चोक आसपास ५ जनाभन्दा बढी मानिस भेला हुन निषेध गरिएको छ।

राजावादी र गणतन्त्रवादीबीच जारी सालिक राजनीतिले सर्वसाधारण भने सास्ती भोग्न बाध्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .