सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ।
बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्य आ–आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक अवरुद्ध हुन पुगेको हो।
सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा भनाइ राखेका प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले सरकारले अनावश्यक खर्च बढाएको भन्दै विरोध जनाए।
शाहीले प्रदेश नीति तथा योजना आयोगमा तीन जना सदस्य नियुक्त गर्नुपर्ने ठाउँमा कानुन संशोधन गरेर पाँच जना नियुक्त गर्ने कार्य गरिएको भन्दै यस्तो कानुन सच्याउन माग गरे।
त्यसपछि पनि प्रतिपक्षी दलका सदस्य विरोध कायमै राखेपछि सभामुख भण्डारीले प्रतिपक्षी दलका सदस्यबाट सदन अवरुद्ध हुँदा कारबाही अघि बढ्न नसकेकाले आजको कार्यसूची हटाई अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराए।
आजको बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची थियो।
Shares

प्रतिक्रिया