चीनले हालै एउटा नयाँ अन्तरिक्ष विमान ‘स्पेस प्लेन’को सफल परीक्षण गरेको छ।
यो परीक्षणसँगै चिनियाँ सरकारी संचारमाध्यमहरुले चीन अन्तरिक्षमा महाशक्ति बन्ने दिशातर्फ उन्मुख रहेको संकेत गरेको छ।
चीनको एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन सीएएसीले विकास गरेको अन्तरिक्ष विमान पुनः प्रयोग गर्न सकिने विमान भएको बताइएको छ।
यो पृथ्वीबाट अन्तरिक्ष र अन्तरिक्षबाट पृथ्वीमा भ्रमण गर्न सकिने विमानलाई चिनियाँ प्रविधिको बलियो आधारको रुपमा हेरिएको छ।
यसले ध्वनीको गतिभन्दा तिव्र रुपमा उड्ने हाइपरसोनिक विमानको लागि आधार तयार गरेको पनि विज्ञहरुको भनाइ छ।
सीएएसीले पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यातायात प्रणालीको विकास गर्ने गतवर्षको अन्तिममा घोषणा गरेको थियो। यस्ता विमानले सामान्य विमानजस्तै अवतरण र टेक अफ गर्दछन्।
यद्यपी यसले एक घण्टाको अवधिमा पृथ्वीको पुरै परिक्रमा गर्नसक्ने क्षमता राख्दछ। शुक्रबारमात्र सो विमानको परीक्षण उडान गान्सु प्रान्तको जिउक्वान लन्च सेन्टरबाट गरिएको थियो।
यो विमान सफल रुपमा भित्री मंगोलियामा अवतरण गरेको सिन्ह्वाले जनाएको छ।
सन् २०४५ पछि यो विमान पुरै तयार हुने उल्लेख गरिएको छ। यो विमानको नाम राखिएको छैन। यसलाई तत्कालको लागि रियुजेबल सबओर्बिटल भेइकल भनिएको छ।
हालै चीनले बोइङको ७३७ विमानभन्दा ठूलो सुपरसोनिक जेट बनाउन थालेको खबर पनि आएको थियो।
चीनले यतिबेला आफ्नै अन्तरिक्ष केन्द्र पनि बनाइरहेको छ। चन्द्र अभियानमा सफलता प्राप्त गरिसकेको चीनले मंगल अभियानमा पनि सफलता हात पारेको छ।
चीनले सन् २०१९ मा चन्द्रमामा आलु नै रोपेको थियो। बिरुवा उम्रेता पनि पछि चन्द्रमामा आलु फलाउने चीनको योजना बिफल भएको थियो। चीनको यान चन्द्रमाका सबैभन्दा टाढाको भागमा पुगेको थियो।
यस्तै चीनको तियनवान मिसनअनुसार गत मे महिनामा जोरुङ रोभर मंगल ग्रहमा अवतरण गरेको छ। सो रोभरले मंगलको अध्ययन गरिरहेको छ।
चीन एक्लैले विश्वका शक्तिशाली देशहरुलाई प्रविधि र अन्तरिक्ष अध्ययनको क्षेत्रमा पछाडि छाड्ने लक्ष्य लिएको छ। एससीएमपी र एजेन्सीको सहयोगमा
यो पनिः अमेरिकी प्रतिबन्धबाट थप शक्तिशाली बन्यो चीन, एक्लैले स्पेस स्टेसन बनाउने हिम्मत गर्यो
प्रतिक्रिया