ad ad

प्रविधि


अमेरिकामा गरियो सडकबाटै कार चार्ज गर्ने प्रविधिको परीक्षण

अमेरिकामा गरियो सडकबाटै कार चार्ज गर्ने प्रविधिको परीक्षण

नेपालखबर
मंसिर १६, २०७८ बिहिबार १४:६, काठमाडौँ

पछिल्लो समय नेपालमा पनि विद्युतीय सवारीसाधनमा मानिसहरुको आकर्षण बढेको छ।

पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा देखिएको उछालले पनि त्यसलाई पुष्टि गरेको छ। यस्तोमा विद्युतीय सवारीसाधनको चार्जको लागि पूर्वाधारको समस्याबारे पनि आवाज उठ्दै आएको छ।

यस्तै समस्या समाधानको लागि अमेरिकामा सडकमा नै वायरलेस चार्जिङको परीक्षण गरिएको छ। यस किसिमको प्रविधिअनुसार उक्त सडकमा कार गुडिरहँदा आफैं चार्ज पनि भइरहेको हुन्छ।

यो प्रविधिमा इन्डक्टिभ चार्जिङको विकास भइरहेको छ। गत जुलाईमा अमेरिकाको इन्डियानाको सडक विभाग र पड्र्यु युनिभर्सिटीले विश्वको पहिलो वायरलेस चार्जिङ कंक्रिट सडकको योजना सार्वजनिक गरेका थिए। यस्तो सडक निर्माणको लागि चुम्बकीय कंक्रिट आवश्यक पर्छ। 

यस्तो कंक्रिटमा फलाम, अक्साइड, निकेल र जिंकजस्ता धातु मिसाइएको हुन्छ। यो कंक्रिट जर्मन कम्पनी माग्मेन्टले निर्माण गरिरहेको छ। अहिले यो प्रविधिको परीक्षण विभिन्न चरणमा भइरहेको छ। यो प्रविधि वायरलेस मोबाइल चार्जिङ प्रविधिजस्तै रहेको वैज्ञानिकहरुले बताएका छन्। 

विभिन्न धातु मिसाइएको कंक्रिटमा विद्युत् पठाएपछि त्यसको वरिपरि चुम्बकीय क्षेत्र विकास हुन्छ। जसले सवारीसाधनलाई चार्ज गर्न सक्छ। यसको लागि १२ फिट लामो र ४ फिटको चौडाइ भएको प्लेट सडकको केही इन्चमुनि राखिएको हुन्छ।

यो प्लेटलाई पावर ग्रिडसँग जोडेपछि यसबाट उत्पन्न हुने पावरबाट सवारीसाधनको ब्याट्री चार्ज गर्न सकिन्छ। यद्यपि उक्त प्लेटबाट उत्पन्न हुने पावर लिनसक्ने गरी सवारीसाधनमा पनि एउटा सानो बक्स राख्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .