रुसले बुधबार युक्रेनमाथि अहिले नयाँ पुस्ताको शक्तिशाली हतियार प्रयोग गरिरहेको बताएको छ। यस किसिमका हतियारको प्रयोग ड्रोनहरु खसाल्न प्रयोग गरिएको रसले बताएको छ।
पछिल्लो समय पश्चिमा मुलुकको सैन्य उपकरणको साथ पाइरहेको युक्रेनविरुद्ध लड्न केही गोप्य हतियारको प्रयोग गरिएको रुसले बताएको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल, अन्डरवाटर न्युक्लियर ड्रोन, सुपरसोनिक हतियार र लेजर हतियार सार्वजनिक गरेका थिए। यद्यपि लेजर हतियारको सूचना भने पुष्टि हुन पनि सकेको थिएन र त्यसको कुनै तस्बिर पनि सार्वजनिक भएको थिएन। अमेरिकी रक्षा मन्त्रालयका एक शीर्ष अधिकारीले रुसले गरेको दाबीको विषयमा अध्ययन भइरहेको उल्लेख गरेका छन्।
पुटिनले उल्लेख गरेको एउटा हतियार पेरेस्भेट हो। सैन्य विकासको सहायक प्रमुख रहेका युरी बोरिसोभले धेरै संख्यामा पेरेस्भेट हतियारको प्रयोग गरिएको बताएका छन्। यसले पृथ्वीको सतहभन्दा १५ सय किलोमिटर माथिको स्याटेलाइटलाई पनि निस्क्रिय पार्न सक्छ।
बोरिसोभका अनुसार रुससँगै योभन्दा पनि निकै शक्तिशाली हतियार छन्। जसले सहजै ड्रोन र अन्य उपकरणलाई ध्वस्त पार्न सक्छ। बोरिसोभले मंगलबार गरिएको एक परीक्षणमा ५ किलोमिटर टाढा रहेको एक ड्रोनलाई ५ सेकेण्डभित्र ध्वस्त पारिएको उल्लेख गरेका छन्।
‘पेरेस्भेटले एकपटक निस्क्रिय पारेपछि नयाँ पुस्ताको लेजर हतियारले भौतिकरुपमा लक्ष्यलाई ध्वस्त पारिदिन्छ– आगोले बालिदिन्छ’, उनले भने। युक्रेनमा यस किसिमको हतियार प्रयोग गरिएको स्वीकार गर्दै उनले यस किसिमको हतियारको नाम जादिरा रहेको बताए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले युक्रेनसँगको युद्ध जित्न नसकेपछि लजेर हतियारको अर्को प्रोपोगाण्डा सार्वजनिक गरेको बताएका छन्।
उनले रुसले यसअघि नै युक्रेनमाथि २ हजारभन्दा धेरै मिसाइल प्रहार गरेको र यसले ठूलो संख्यामा युक्रेनको आम नागरिकको संरचना ध्वस्त पारे पनि त्यसले रुसले सैन्य हिसाबमा भने केही फाइदा नभएको बताए।
प्रतिक्रिया