रोबोटले मान्छेलाई उछिन्ला भनेर चिन्तित मान्छेहरू ढुक्क भए हुन्छ, कमसेकम तत्काललाई त्यस्तो जोखिम छैन।
चीनमा मान्छे र मान्छेको आकृतिका रोबोट सहभागी भएको पहिलो हाफ म्याराथन आयोजना गरिएको छ। र, मान्छेसँग दौडेका रोबोटहरू नराम्ररी पराजित मात्र भएका छैनन्, तिनको बिजोग देखेर धेरैले प्रविधिको सीमा प्रष्ट भएको र अझै रोबोटको विकासमा थुप्रै काम गर्न बाँकी रहेको टिप्पणी समेत गरेका छन्।
बेइजिङमा आयोजित २१ किमि लामो दौडमा मान्छेका साथ २१ रोबोट धावक सहभागी थिए। तर, ६ वटा रोबोटले मात्र दौड पूरा गर्न सके। त्यसमध्ये पनि एउटा मात्र रोबोटले निर्धारित ३ घण्टाको समयभित्र दौड पूरा गर्न सक्यो।
बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरले बनाएको सो रोबोटले २ घण्टा ४० मिनेटमा सो दूरी पूरा गरेको थियो। जबकि सो दौडका मानव विजेताले भने १ घण्टा २ मिनेटमै दूरी पूरा गरेका थिए।
युगान्डाका धावक ज्यकोब किप्लिमोले त ५६ मिनेट ४२ सेकेन्डमा हाफ म्याराथन दौडेर कीर्तिमान राखेका छन्।
कतिपय रोबोट दौडिँदा दौडिँदै ढलेका थिए भने कतिपयको पटकपटक ब्याट्री बदल्नु परेको थियो। सार्वजनिक भएका भिडिओहरूमा रोबोट ढलेको, उभिन नसकेर थर्थर काँपेको दृश्य देख्न सकिन्छ। एउटा रोबोटको त ढलेपछि टाउको नै उछिट्टिएको थियो। सो रोबोट तुरुन्तै उठेर दौडे पनि उसका मानव सहयोगीले हातमा टाउको बोकेर रोबोटको पछि दौडिनुपरेको थियो।
रोबोटको यस्तो हालत देखेर धेरैले निराशाजनक टिप्पणी गरेका छन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा एक प्रयोगकर्ताले रिमोट कन्ट्रोलबिना दौडिने रोबोटलाई मात्र मान्यता दिनुपर्ने बताएका छन्।
यद्यपि, रोबोट निर्माताहरू भने आशावादी छन्।
सांघाईस्थित टीआईफाइभरोबोटका प्रबन्धक चान वेईले भनेका छन्, ‘को छिटो दौडिन्छ भन्ने कुरै होइन, कुरा त पहिलो कदम चाल्ने हिम्मत छ कि छैन भन्ने हो।’
Shares

प्रतिक्रिया