प्रविधि


३० वर्षदेखि संरक्षित भ्रूणबाट जन्मियो बच्चा

३० वर्षदेखि संरक्षित भ्रूणबाट जन्मियो बच्चा

नेपालखबर
साउन २०, २०८२ मंगलबार ११:१९, काठमाडौँ

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि जम्मा गरिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सफलतापूर्वक बच्चा जन्माउने सबैभन्दा पुरानो भ्रूण मानिन्छ।

ओहायोकी ३५ वर्षीया लिन्डसे र उनका पति ३४ वर्षीय टिम पियर्स शनिबार थ्याडियस डेनियल पियर्सका आमाबाबु बनेका हुन्।

नयाँ प्रविधि र सम्बन्धित जानकारीको व्याख्या गर्ने एमआईटी टेक्नोलोजी रिभ्युसँगको कुराकानीमा लिन्डसेले भनेकी छन् ‘मेरो परिवारलाई मानौँ कुनै साइन्स फिक्सन फिल्म चलिरहेजस्तो महसुस भइरहेको छ।’  

यसअघि २० वर्ष पुरानो भ्रूणबाट बच्चा जन्माएको रेकर्ड थियो। सन् १९९२ देखि जम्मा गरिएको भ्रूणबाट २०२२ मा जुम्ल्याहा बच्चा जन्मिएको थियो।

पियर्स दम्पती सात वर्षदेखि बच्चा जन्माउने प्रयास गरिरहेका थिए। यस क्रममा उनीहरूले १९९४ देखि फ्रिज गरिएको ६२ वर्षीया लिन्डा आर्चार्डको भ्रूण अपनाउने निर्णय गरे।

यस भ्रूणका लागि अर्चर्ड र उनका पतिले आईभीएफ प्रक्रियाको सहारा लिएका थिए। त्यतिबेला आचर्ड जम्मा चार भ्रूण तयार पारेकी थिइन्। तीमध्ये एकबाट छोरीलाई जन्म दिइन्, जो अहिले ३० वर्षकी भइसकेकी छन्। बाँकी तीन भ्रूण सुरक्षित राखिएको थियो।

आफ्ना श्रीमान्‌बाट अलग भएपछि पनि आचर्ड न त भ्रूण नष्ट गरिन् न त अनुसन्धानका लागि दिइन्। उनले कुनै अज्ञात् परिवारलाई पनि दिइनन्।

अर्चर्ड बच्चासँग सम्पर्कमा रहन चाहन्थिन्, किनभने उनकी छोरीको यससँग जैविक सम्बन्ध हुनेछ।

त्यसैले उनले भ्रूण सुरक्षित राख्न हरेक वर्ष हजारौँ डलर खर्च गरिन्।

अन्ततः उनले क्रिस्चियन भ्रूण ग्रहण गर्ने एजेन्सी 'नाइटलाइट क्रिस्चियन एडोप्सन'लाई सम्पर्क गरिन्। यो एजेन्सीले स्नोफ्लेक्स नामक कार्यक्रम चलाउँछ, जसमा भ्रूण दान गर्ने व्यक्तिलाई भ्रूण कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार हुन्छ।

यसका लागि आचर्ड अमेरिकामा बस्ने विवाहित क्रिस्चियन कोकेसियन जोडीलाई प्राथमिकता दिइन्। 

एमआईटी टेक्नोलोजी रिभ्युसँग कुरा गर्दै उनले भनिन्, ‘म चाहन्थेँ कि भ्रूण देशबाहिर नजाओस्।’ 

यसपछि उनले पियर्स दम्पतीलाई भेटिन्। अनि यो प्रक्रिया अमेरिकाको टेनेसीस्थित रिजोइस फर्टिलिटी क्लिनिकमा सम्पन्न भयो।

क्लिनिकले आफूले पाएको भ्रूण जो कोहीलाई पनि हस्तान्तरण गर्न तयार रहेको बताएको छ, यस अवस्थामा उमेर वा परिस्थितिको कुनै सर्त छैन।

लिन्डसे पियर्सले भनिन्, ‘हामीले यो कुनै रेकर्ड तोड्नका लागि गरेका थिएनौँ, हामी केवल बच्चा चाहन्थ्यौँ।’ 

आचर्ड भनिन्, ‘मैले अहिलेसम्म बच्चालाई व्यक्तिगत रूपमा भेटेकी छैन, तर मलाई लाग्छ- यसमा आफ्नी छोरीको झलक हुनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad