ad ad

समाज


घरबेटीसहित शिक्षामन्त्रीविरुद्ध रूपा सुनारले हालिन् सर्वोच्च अदालतमा मुद्दा

घरबेटीसहित शिक्षामन्त्रीविरुद्ध रूपा सुनारले हालिन् सर्वोच्च अदालतमा मुद्दा

नेपालखबर
असार २०, २०७८ आइतबार १७:४३,

सञ्चारकर्मी रूपा सुनारले आफूलाई जातीय भेदभाव गर्ने घरबेटीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेकी छन्। 

उनले घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त (सिंहदरबार) लाई समेत विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकी हुन्। 

कोठा भाडामा लिने/दिने मौखिक समहति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू कामी भएको थाहा पाउनासाथ कोठा दिन अस्वीकार गरेको रिट निवेदनमा उल्लेख गरेकी छन्। 

यसैगरी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अभियुक्त छुटाउन पद तथा स्रोतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान पुर्याएको आरोप लगाउँदै उनलाई तत्काल बर्खास्त गरी उनीविरुद्ध पनि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाही गर्न सुनारले माग गरेकी छन्। 

‘कुराकानीकै क्रममा म आफू दलित समुदाय (कामी) थरकी रहेको जानकारी विपक्षीलाई गराउँदा तत्क्षणमै ला! भनी अचम्म मान्दै मुखाकृतिमा एक्कासि परिवर्तन हुँदै घरमा छलफल गरी जानकारी गराउँला भनी मेरो सम्पर्क नम्बर माग्नुभयो। मैले साथीलाई जानकारी दिनुहोला भन्दै हामी उक्त घरबाट बाहिरियौं,’ कलाकारसमेत रहेकी सुनारले रिट निवेदनमा लेखेकी छन्, ‘काठमाडौंजस्तो शिक्षित ठाउँ, देशको राजधानीमा जातका कारण कोठा दिने कुरालाई इन्कार गर्नु हुँदैन होला भनी छलफल गरी बस्न आउनू भनी बोलाउनुहुन्छ होला भन्ने लागेको थियो। तर, हामी त्यहाँबाट हिँडेको करिब एक घण्टापछि विपक्षीले मसँगै कोठा देखाई सहयोग गर्न जानुभएकी साथीलाई फोन गरी ‘मलाई भन्न पनि अफ्ठ्यारो भयो, घरमा बूढी आमा हुनुहुन्छ, पूजाआजा गर्नुपर्छ, उनलाई हुँदैन, बरु अरू मान्छे भयो भने पठाइदेऊ है’ भनी जातकै कारण कोठा दिन नमिल्ने आशयसहित जानकारी दिनुभयो। सो कुराले मलाई अलि असहज भयो।’

एकिन गर्न पछि आफूले पनि फोन गरेर बुझ्दा घरबेटी प्रधानले जातकै कारण आफूलाई कोठा दिन नसक्ने प्रस्टसँग बताएको रिट निवेदनमा उनले उल्लेख गरेकी छन्। 

यसबाट आफ्नो आत्मसम्मान तथा मर्यादामा गहिरो चोट पुगेको उल्लेख गर्दै सञ्चारकर्मी सुनारले विपक्षीलाई जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम कारबाही गर्न सर्वाेच्च अदालतसँग माग गरेकी छन्। 

हेर्नुहोस्, घरबेटी सरस्वती प्रधान र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध रूपा सुनारले सर्वाेच्च अदालतमा दर्ता गराएको रिट निवेदनको पूर्ण पाठः 

 

यी पनि :

रूपा सुनारलाई न्याय र शिक्षामन्त्रीको बर्खास्तगी माग गर्दै ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?

प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा शिक्षामन्त्रीको बचाउ, रूपा सुनारको आलोचना

रूपा सुनारविरुद्ध भ्रम फैलाउने ६ अनलाइन बन्द गराउन पत्राचार

यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)

रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ

आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .