समाज


कोरोना संक्रमणबारे सरकारको आकलन एउटा, परिणाम अर्कै

कोरोना संक्रमणबारे सरकारको आकलन एउटा, परिणाम अर्कै

यज्ञराज जोशी
साउन १४, २०७८ बिहिबार २१:४५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो पाँच महिनामा नेपालमा कोरोना संक्रमणदर कति पुग्छ भनेर गरेको आकलनमा विज्ञहरूले प्रश्न उठाएका छन। 

मन्त्रालयले असोजमा नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै त्यसको सामना गर्न पाँच महिने द्रुत कार्ययोजना निर्माण गरेर स्वीकृतिका लागि पठाएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार उक्त द्रुत कार्ययोजना विज्ञहरुले निर्माण गरेर स्वीकृतिका लागि माथि(मन्त्री, सचिव स्तरमा) पठाइएको छ। यो कार्ययोजना केही दिनमा स्वीकृति भएपछि लागु हुने उनले बताए। 

कार्ययोजनामा अहिलेको स्थिर अवस्था हेर्दा अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित थपिने उल्लेख गरिएको छ। त्यसमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितहरूलाई अस्पताल भर्ना गरी उपचार गर्नु पर्ने र सो मध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार चाहिने मन्त्रालयको अनुमान छ। 

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिलेको अवस्थाका आधारमा उक्त आकलन गरिएको बताए। तर भेरियन्टको स्वरूप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनामा संख्या घटबढ हुनसक्ने उनी बताउँछन्। 

‘कोभिड–१९ को वर्तमान अवस्था तथा संक्रमणदरलाई हेर्दा असोज दोस्रो सातादेखि तेस्रो लहर आउने आकलन गरिएको छ। त्यसबेला १ लाख ९३ हजार नयाँ संक्रमित थपिने अनुमान हो,’ अर्यालले भने, ‘यद्यपी भेरियन्टको स्वरूप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाले पनि संख्या तलमाथि हुनसक्छ।’

सामान्यतः यस्ता आकलनले पूर्वतयारी गर्न सघाउँछन्। त्यसैले मन्त्रालयले पनि आउँदा दिनहरूमा गरेका आधारमा मन्त्रालयले अस्पतालको तयारी, स्वास्थ्य सामाग्रीको व्यवस्थापन तथा जनशक्ति परिचालन गर्छ। तर विज्ञहरुले भने सही तरिकाले आकलन नगरिँदा त्यसले पूर्वतयारीमा असर गर्ने गरेको बताउँछन्। 

विज्ञान विषयका अध्येता तथा तथ्यांक विश्लेषक दोर्जे गुरुङ अहिलेको आकलन केका आधारमा निकालियो आफूले बुझ्न नसकेको बताउँछन्। 

‘मन्त्रालयले यो आकलन कसरी, के को आधारमा ग¥यो त्यसमा मलाई पनि जिज्ञासा लागेको छ’ गुरुङले भने, ‘मैले सामान्य ढंगबाट हिसाब निकाल्दा पनि त्यो सिनारियो(१ लाख ९३ हजार) असोज १५ देखि कार्तिक १५ मा तेस्रो वेभ आउने गरि हेर्दा,कसरी आउँछ भनेर निकाल्न सकिन।’

गुरुङ मन्त्रालयको मोडलिङ मै समस्या देख्छन्। यसअघि मन्त्रालयले गरेका चारवटा आकलन मेल नखाएका उदाहरण पनि उनले आफ्नो ब्लगमा प्रस्तुत गरेका छन्। जहाँ मन्त्रालयको आकलन र आकलन गरेको समयमा देखिएका केसहरूबीच ठूलो भिन्नता देखिन्छ। 

मन्त्रालयले पहिलोपल्ट गतवर्ष जुलाई १८ मा आकलन सार्वजनिक गरेको थियो। त्यसबेला नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४५ थियो। उक्त आकलन अनुसार त्यसको एक महिना पछाडि अर्थात जुलाई मध्यसम्म ४० हजार संक्रमितहरु नेपालमा देखिनसक्ने अनुमान लगाइएको थियो। तर मन्त्रालयको आकलनभन्दा कम १८ हजार संक्रमित मात्रै देखिएका थिए।

यस्तै नोभेम्बर २१, २०२० मा मन्त्रालयले अर्को आकलन गर्यो। उक्त आकलन अनुसार त्यसको चार महिनामा १ लाख ४८ हजार संक्रमित थपिने जनाइएका थियो। तर त्यस अवधिमा २ लाख ७६ हजार संक्रमितहरु थपिएका छन। 

अध्येता गुरुङले सरकारले अक्टोबरमा तेस्रो वेभ आउँछ मात्रै भनेर सार्वजनिक गर्नुपनि अपूर्ण भएको बताए। 
‘के को आधारमा अक्टोबरमा तेस्रो वेभ आउँछ? कस्तो खालको तेस्रो वेभ आउँछ? भन्ने कुरा पनि सार्वजनिक गरिनुपर्यो,’ उनले प्रश्न गरे, ‘कि सानो तेस्रो वेभ आउने भनेर त्यो आकलन सार्वजनिक गरिएको हो कि? नत्र भने यो संख्या एकदमै सामान्य देखिन्छ।’

गुरुङले नेपालमा सही आँकडा र मोडलिङ नभएका कारण आकलनहरू मेल नखाने गरेको बताए। 

‘आकलन लागि मोडलिङ गर्नुपर्छ। त्यसका लागि बढी सुचना आवश्यक पर्छ। नेपालमा इन्फेक्सन रेट नै सही छैन। मास टेस्टिङ भएको छैन। विश्वास योग्य संख्या छैन। यस्तोमा प्रोजेक्सनहरु फेल हुने सम्भावना बढी हुन्छ,’ उनले भने। 

मन्त्रालयले दोस्रो लहरमा गरेको आकलन,जुन मिलेन

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित पनि आकलनहरुमा विश्वास गर्दैनन्। उनी यसअघि पनि आकलनमा पटकपटक गलत सावित भइसकेकाले यो आकलन गर्न सक्ने रोग नभएको बताउँछन्। 

‘म सरकारी आकलनलाई मान्दिनँ। हाम्रोमा खोप लगाएका मान्छेहरु छन, प्रतिरक्षा प्रणाली कतिमा विकास भइसक्यो थाहा छैन,’ उनले भने, ‘त्योसँगै भेरियन्टहरु कस्ता देखिन्छन् त्यसले पनि भूमिका खेल्छ। यो आकलन गर्नसक्ने रोग नै होइन। पटकपटक हामी सबै गलत सावित भइसकेका छौंँ। जे छ त्यसमा राम्रो गर्दै जाने हो।’ 

अघिल्ला आकलन: प्रतिवेदनमा एक, बोलाइमा अर्कै

स्वास्थ्य मन्त्रालयले गत २०७७ फागुन देखि असार २०७८ सम्मका लागि कोभिड–१९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना बनाएको थियो। 

ती पाँच महिनाको अवधिमा सुरुमा ५० हजार ९९८ कोरोना संक्रमितका नयाँ बिरामी थपिने अनुमान मन्त्रालयको थियो। हालपनि मन्त्रालयको वेवसाइटमा भेटिने द्रुत कार्ययोजनामा सोही कुरा उल्लेख छ। 

मन्त्रालयको द्रुत कार्ययोजनामा लेखिएको छ, ‘यस कार्ययोजना विकासका लागि विषय विज्ञहरुसँग छलफल गरी विभिन्न पूर्वानुमानहरू निर्धारण गरिएका छन। विगतमा गरिएको सेरो प्रिभिलेन्स सर्भेबाट प्राप्त सूचनाको आधारमा सम्भावित केसहरुको प्रक्षेपण गरिएको छ। जसअनुसार आगामी पाँच महिनामा ५० हजार ९९८ जम्मा नयाँ संक्रमित थपिने सम्भावना छ।’

तर त्यस अवधिमा मन्त्रालयको आकलनभन्दा सात गुणा बढी संक्रमित नेपालमा थपिएका छन। 

मन्त्रालयले कार्ययोजना लागु सुरु गरेको दिन २०७७ फागुन १ गते नेपालमा जम्मा पोजिटिभ संख्या २ लाख ७२ हजार ६१४ थियो। कार्ययोजना समाप्त भएको दिन अर्थात असार मसान्त नेपालमा संक्रमित संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ। यसबाहेक एन्टिजेन परीक्षणबाट थप ४६ हजार ८६७ जनामा यस पाँच महिनाको अवधिमा संक्रमण देखिएको छ। 

अर्थात् एन्टिजेन छाडेर पीसीआर परीक्षणको मात्रै हिसाब गर्ने हो भने सरकारले आकलन गरेको भन्दा यो पाँच महिनाको अवधिमा ३ लाख ८९ हजार ९५६ जना बढीलाई संक्रमण देखिएको छ।

तर मन्त्रालयले आफ्नो अफिसियल वेबसाइटमै राखेको हस्ताक्षरसहितको प्रतिवेदनको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी खण्डन गर्छन। 

उनी भन्छन्, ‘डक्युमेन्टेसन कता पर्यो थाहा भएन। ६ लाख अनुमान गरिएको मेरो कुरा राखिदिनुस्। ६ लाखकै तयारी गरेर हामीले काम गरेको हो। सबैभन्दा खराब अवस्थामा ६ लाख संक्रमित पुग्न सक्छन भनेर काम गरेका हौं।’ 

अधिकारीको कुरालाई आधार मान्दा पनि स्वास्थ्य मन्त्रालयको आकलनमा मिलेको देखिन्न। अधिकारीको भनाइका आधारमा मन्त्रालयले ६ लाख गरेको आकलनभन्दा एक लाख बढी संक्रमित नेपालमा भेटिएका छन।  असार मसान्त नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ६२ हजार ५७० र एन्टिजेन परीक्षणबाट थप ४६ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयले कसरी गर्छ आकलन?

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयमा आकलन गर्नका लागि स्वास्थ्य मन्त्रालय, इडिसीडी तथा डब्लुएचओको विज्ञ टोलीले काम गर्छ। उनको मन्त्रालयको नयाँ आकलन मन्त्रीस्तरबाट स्वीकृत हुन बाँकी रहेको भन्दै दिन भने मानेनन्।

उनले पहिलो र दोस्रो लहरमा गरिएको मोडलिङकै आधारमा यस पटक पनि आकलन गरिएको बताए। दोस्रो लहरका क्रममा गरिएको आकलनमा सेरो प्रिभिलेन्स सर्भेबाट प्राप्त आधारमा सम्भावित केसहरुको प्रक्षेपण गरिएको उल्लेख छ। 

‘पहिलो दोस्रो वेभमा जुन मोडल प्रयोग गरेका थियौं तर त्यही प्रयोग गर्ने हो,’ अधिकारीले भने, ‘कहिले मान्छेलाई कति संक्रमण भएको छ, मान्छे कति हिँडडुल गरेका छन, कति मान्छेले मास्क लगाएका छैनन, एउटा मान्छेले कति मान्छेलाई सारेका छन। त्यो दोहोरिन समय लागेको छ। ती कुराहरु क्यालकुलेट गरेर पूर्वानुमान गरिएको छ।’ 

अधिकारीले पहिलो र दोस्रो वेभमा गरेको आकलन ठ्याक्कै नमिले पनि सालाखाला मिलेको र त्यो अरु मुलुकको तुलनामा नेपालमा धेरै भएको बताए। 
उनले आकलन नमिलेका कारण दोस्रो लहरमा अक्सिजन, अस्पतालको हाहाकार देखिएको भन्न नमिल्ने तर आकलन अनुसार व्यवस्थापकीय काम नभएकाले केही दिन गाह्रो देखिएको बताए।

‘अक्सिजनको व्यवस्थापकीय समस्या देखिएको हो। एकदुई दिनमा गाह्रो भयो पछि हामीले व्यवस्थापन गरौं,’ उनले भने, ‘आकलन अनुसार कोर्डिनेसन राम्रो भयो भने व्यवस्थापन हुन्छ। तर आकलन एकातिर त्यसअनुसार व्यवस्थापन नगर्ने हो भने समस्या देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .