समाज


जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै चिकित्सक कुटिए, हस्पिटलमा तोडफोड

जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै चिकित्सक कुटिए, हस्पिटलमा तोडफोड

शैलेन्द्र महतो
साउन १७, २०७८ आइतबार १९:१९, जनकपुरधाम

जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको एक हस्पिटलमा तोडफोड भएको छ। 

वीरगञ्जको लिंकरोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा बिरामीका आफन्तजनले आइतबार दिउँसो तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन्। 

वीरगञ्ज उपमहानगरपालिका २० की ३२ वर्षीया मुटु रोगी रमितादेवीलाई जीवितमै मृत घोषणा गरेको भन्दै अस्पतालको इमरजेन्सी कक्षमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो। 

कुटपिटबाट डा. विजय महतो  र अस्पतालकी नर्स बबिता चौधरी घाइते भएको अस्पताल प्रमुख रामराज श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। त्यस्तै सिसा फुटाउँदा लागेर रौतहटको मौलापुर नगरपालिका ४ की बिरामी २७ वर्षीया सुमिता देवी घाइते भएकी छन्। 

तोडफोडको क्रममा केहिबेर प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी समेत भएको छ। प्रहरीले तोडफोडमा संलग्न  रहेकाे आराेपमा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए। अस्पतालको जाहेरीको आधारमा उनीहरूमाथि मुद्दा दायर गरेर कारबाही गर्ने खनालले नेपालखबरलाई बताए। 

अस्पताल प्रमुख श्रेष्ठका अनुसार रमिता देवीलाई बिहान साढे ९ बजेतिर अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो। चिकित्सकले मृत घोषणा गरेर पठाउँदा शव दाहसंस्कारको लागि लगिएको थियो।

मुखमा भात देखेपछि जीवितै छ भनेर पुनः आफन्त र मलामीहरु दिउँसो २ बजेतिर मृतक रमिताको शव बोकेर आएका थिए। पुनः चेकजाँच गर्दा उनी मृत नै रहेको अस्पतालको दाबी छ।

त्यसपछि आफन्त र मलामीहरूले हस्पिटलमा होहल्ला, तोडफोड र कुटपिट गरेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .