समाज


पत्रकार बोहोरालाई उपचार खर्चको अभाव

पत्रकार बोहोरालाई उपचार खर्चको अभाव

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार १०:२१,

आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ। मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनलाई खर्चको अभाव भएको हो।

उनी यही असोज ११ गतेदेखि बिरामी भएका थिए। बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो। सिमकोट गाउँपालिका–२ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ। उनको परिवार र जिल्लाका पत्रकारले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन्। सदरमुकाम सिमकोटस्थित सामुदायिक रेडियो कर्णाली आवाजमा कार्यरत उनी नेपाल पत्रकार महासंघ शाखा अध्यक्षसमेत हुन्।

कमजोर आर्थिक अवस्थाका कारण सहयोगको खाँचो परेको अर्जुनका दाजु विष्णु बोहराले बताए। उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधार भइरहे पनि अझै केही समय अस्पताल बस्नुपर्ने बताएको विष्णुले बताए। सघन उपचार कक्षमा उपचार भइरहेको उनको रगत परीक्षणका लागि भारत पठाइएको छ।

विष्णुले कम्तीमा रु १५ लाख आवश्यक पर्ने बताए। ‘घरबाट ल्याएको पैसा सकियो, दैनिक रु २० देखि ४० हजारसम्म अस्पतालमा बुझाउनुपर्छ’, उनले भने, ‘सहयोग जुटेको पैसा पनि सकिँदैछ, लामो समय सघन उपचार कक्षममै राख्नुपर्ने अवस्थाका कारण खर्च धेरै लाग्ने देखिएको छ।’ उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुकलाई अर्जुनका दाजु विष्णुको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको खाता नं ४१९०००४९२७१० मा बचत गर्न अपिल गरिएको छ।

छ लाख संकलन

जिल्लाका पत्रकारले आफ्ना सहकर्मीको जीवनरक्षाका लागि आर्थिक सहयोग संकलन थालेका छन्। यहाँ क्रियाशील पत्रकार नवराज महतराका अनुसार हालसम्म करीब रु छ लाख संकलन भइसकेको छ। उनले सामाजिक सञ्जालबाट समेत सहयोगको अभियान सञ्चालन गरिएको बताए।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफ्नो एक महीनाको पारिश्रमिक प्रदान गरेका छन्। पूर्वमन्त्री एवं सांसद जीवनबहादुर शाही र किर्डाक नेपालका गोविन्द शाहीले रु ३०/३० हजार व्यक्तिगत सहयोग गरेका छन्। त्यस्तै पत्रकार महासंघले रु २० हजार, ओदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले रु १० हजार, सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावलले रु २० हजार सहयोग गरेका छन्। विभिन्न जिल्लाका पत्रकारबाट संस्थागत र व्यक्तिगतरुपमा सहयोग जुटिरहेको पत्रकार महतराले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad