ad ad

समाज


हर्क र चन्द्रः घुन्सा दुर्घटनामा चुँडिएका दुइटा फूलको सम्झना

हर्क र चन्द्रः घुन्सा दुर्घटनामा चुँडिएका दुइटा फूलको सम्झना

वाशुदेव मिश्र
असोज ७, २०७८ बिहिबार १७:१८, काठमाडौँ

कोभिड–१९ मत्थर भएकै छैन। सहरजस्तो जे त होला भनेर जथाभावी गर्ने कुरा पनि भएन। त्यसो त गुरुङ गाउँमा परम्परा–नियम हत्तपत्त तोडिँदैन पनि! त्यस्तै भयो, असोज ७ को बिहानीमा लमजुङको तराँचे गाउँमा पनि। 

एक हुल मान्छेहरु जम्मा भए, गाउँमै रहेको हर्क गुरुङको स्मारकमा। गाउँका अब्बल छोरा हर्क गुरुङको स्मृतिमा श्रद्धाञ्जली सभा गरे अनि आ–आफ्नो बाटो लागे। तर, तीमध्ये केही भने स्मारकनेर नै टोलाएर बसिरहे। डा. हर्क गुरुङको योगदान र उनको निधनबाट गाउँ अनि देशलाई पुगेको क्षति सम्झिँदै भक्कानिए। तीमध्ये एक थिए, हर्क गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष स्थानीय तिलबहादुर गुरुङ। अहिले तराँचे आफ्नो नामले कम र हर्क गुरुङको जन्मथलोको रुपमा बढी चिनिन्छ।

‘हामी कार्यसमितिका साथीहरु आज बिहानै हर्क गुरुङको स्मारकमा पुग्यौँ, श्रद्धाञ्जली अर्पण गर्यौँ, धूप बाल्यौँ,’ हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले टेलिफोनमा भने, ‘उहाँको निधनबाट हाम्रो गाउँले मात्र होइन, राष्ट्रले नै होनाहार सपूत गुमायो।’

कास्कीको सिक्लेसमा पनि आज डा. चन्द्रप्रसाद गुरुङको सम्झना भयो। गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले असोज ७ को एकाबिहानै नाताले सोल्टी पर्ने डाक्टर चन्द्रबहादुर गुरुङलाई सम्झे। 

‘सोल्टीको बानी हाँसेरै आफ्नो कुरा भन्ने खालको थियो, संरक्षणको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ,’ उनले भने, ‘उहाँले अन्नपूर्ण संरक्षण क्षेत्रको परिकल्पना नगरेको भए पछाडि परेका गाउँहरुमा विकास पुग्दैनथ्यो।’

सांसद गुरुङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कुरा गर्दै थिए। डा. चन्द्रकै प्रयासमा कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दीलगायत जिल्लाका उत्तरी भाग समेटेर अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएको थियो। 

‘पर्यटकीय सम्भावना भएको ठाउँलाई पर्यटनको माध्यमबाट, कृषिको सम्भावना भए कृषिबाटै आत्मनिर्भर बनाउने यही परियोजनाले नै गाउँमा विकास पुगेको हो,’ संंरक्षणको क्षेत्रमा पनि काम गरेका सांसद मनबहादुरले भने, ‘मैले उहाँसँग लामो संगत त गर्न पाइनँ तर उहाँ महान् हुनुहुन्थ्यो।’

गण्डकीका होनाहार यी सपूतहरुको आजकै दिन अर्थात् २०६३ साल असोज ७ गते घुन्सा, फलेडाँडामा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। संरक्षणको क्षेत्रमा काम गर्ने २३ जनाको निधन भएको सो दुर्घटनाले नेपाललाई अपूरणीय क्षति भयो। 

स्वप्नद्रष्टा हर्क 
तनहुँको डुम्रेबाट लमजुङको बेँसीसहर जाने सडकले मर्स्याङ्दी पच्छ्याउँछ। बाटोको वरपर ठुल्ठूला ढुंगा! २०४२ सालतिर ती ढुंगामा इनामेलले ठूला अक्षरमा लेखियो, ‘डाक्टर हर्क, लमजुङ फर्क र हर्क गुरुङ, फर्क लमजुङ।’ हर्क गुरुङलाई किन लमजुङ फर्क भनियो? उनी को हुन्? हाम्रो दिमागले भ्याउने कुरै भएन। यी मान्छे ठूला रहेछन् भन्नेचाहिँ मानियो। 

‘हो उहाँ (हर्क गुरुङ) त्यसबेला उम्मेदवार हुनुहुन्थ्यो,’ गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले भने, ‘त्यसबेला पृथ्वी सुब्बा पनि उम्मेदवार हुनुहुन्थ्यो, चुनाव भने अर्का जनपक्षीय उम्मेदवार लेखनाथ अधिकारीले जित्नुभयो।’ 

सांसद दवाडीका अनुसार हर्क बहुआयामिक व्यक्तित्व थिए। नेपालमा उत्तर–दक्षिण विकासे अवधारणा उनकै दिमागको उपज थियो। त्यसबेला ४ विकास क्षेत्र (पछि ५) उनकै मानसोत्पत्ति थियो। साँच्चिै हर्ककै भाषामा विकास रेखाको मुख्य ध्येय विकासोन्मुख तराई र उपेक्षित पहाडको अर्थ व्यवस्थालाई जोड्नु थियो। 

चुनावपछि इनामेलका ती भित्ते प्रचारहरू मेटिँदै गए। हर्क पनि स्मृतिबाट हराउन थाले। कहिलेकाहीँ सम्झे पनि बुझ्ने बेलासम्म उनको ‘म्याप्स अफ नेपालः इन्भेन्ट्री एन्ड इभ्यालुएसन’, ‘नेपालः एटलस एन्ड स्टाटिस्टिक्स’, ‘नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइसराइँ प्रतिवेदन’जस्ता गहन रचना पढ्ने जाँगर चलाइएन। ‘मैले देखेको नेपाल’ भने ओल्टाइपल्टाई गरियो।

भूगोलविद्का रूपमा उनले गरेका योगदान, संरक्षणबारे उनका धारणा तेस्रो व्यक्तिले सुनाएकोमै भर परियो। पर्यटनमन्त्री हुँदाताकाका गलैँचा काण्डलगायतका विषयचाहिँ भाषण टिप्ने पत्रकारिता गर्दा ज्यादा सुनियो। योजनाकार, भूगोलविद्, लेखक, चित्रकार, खेलाडी, अभियन्ताजस्ता उनका बहुआयामिक व्यक्तित्वबारे सुनिएको मिथकले नै काम चलाइयो।

देशमा पहिचानको आन्दोलन चलेका बेला उनी पुनः मुखरित भए। होचो कदका हर्कले पहिचानबारे दिएका केही प्रवचन सुन्ने अवसर मिल्यो। बुझ्न बाँकी छँदै उनी धर्तीमा विलीन भए। तर, त्यसबेलासम्म उनले आममान्छेले भन्दा बढी काम गरिसकेका थिए। आफ्नो गाउँको परिचय बदल्ने भइसकेका थिए। 

तलपट्टि एकसुरले सुसाउने मर्स्याङ्दी, माथ्लोपट्टि चट्टाने पहाड। अहिले डुम्रे–बेँसीसहर सडकखण्डको पारिपट्टि देखिने गाउँ तराँचे हो। फरक क्षेत्रका व्यक्तिले फरक–फरक रूपले चिन्ने हर्क गुरुङ १९९५ साल पुस २१ गते त्यही गाउँमा जन्मेका थिए। पिता लाहुरे थिए, तर गाउँ लाहुरजस्तो थिएन। उकाली–ओराली अनि भेडीगोठको यात्रा अनिवार्यजस्तै थियो। ९ वर्षसम्म उनी गाउँमै रहे। गाउँमा स्कुल थिएन, पढ्न जाने कुरै भएन। 

मुग्लान यात्रा गरेका पिताको पछि लागेर उनी काठमाडौं आइपुगे। दरबार हाइस्कुलमा भर्ना भए। पछि भारतको जालन्धर पुगेर म्याट्रिक पुरा गरे। त्रि–चन्द्रबाट आईए, पटना कलेजबाट बीए, बेलायतको एडिनबरा विश्वविद्यालयबाट भौगोलिक अन्वेषणमा डाक्टरेट डिग्री लिए। 

कहाँको लमजुङको विकट गाउँ, कहाँको बेलायत। उनी आफैँले लेखेका छन्, ‘कहिलेकाहीँ आफ्नो जीवनयात्रा केलाउँदा आफैँलाई हाँसो उठ्थ्यो, नौ वर्षको उमेरसम्म बाह्रपोखरी लेकमा भेडा चराउने गुरुङ ठिटो बेलायतमा गुरु भएकोमा।’ 

उतै पढाउने मेसो मिलेकै थियो, चाहेको भए हर्कले त्यतै घरजम गरेर सुखको जीवन जिउन सक्थे। तर, उनी नेपाल फर्के। 

स्व. हर्क गुरुङको स्मृतिमा गरिएको कार्यक्रम

यी भूगोल तथा योजनाविद् नेपाल आएपछि योजना आयोगको सदस्य र पछि उपाध्यक्ष भए। ०३३ साल भदौ १७ गते डा. तुल्सी गिरीको नेतृत्वमा बनेको सरकारमा उनी उद्योग, वाणिज्य र शिक्षा राज्यमन्त्री अनि ०३४ सालमा पर्यटन राज्यमन्त्री बने। देश दर्शनमा हिँडे अनि विकासका खाका कोरे। उनी जहाँ पुग्थे, त्यहाँको जानकारी डायरीमा टिप्थे। विकासका सम्भावनाहरू खोज्थे अनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ लागिहाल्थे। 

हुन त, तेजिला हर्कलाई पञ्चायतले उपयोग गरेको मान्नेहरू पनि छन्।  विदेशमा पढेका हर्कसँगै भेषबहादुर थापा, मोहनमान सैँजुजस्ता व्यक्तित्वहरूलाई विशेष अवसर दिएर राजा महेन्द्रले आफूलाई विकासप्रेमी देखाउन खोजेको उनीहरूको तर्क छ। पञ्चायतमा योजना आयोगको उपाध्यक्ष, मन्त्री हुँदा पनि डाक्टर हर्क त्यसमै लुटुपुटिएनन्।

मैले देखेको नेपाल पुस्तकका सर्जक हर्क अन्तिम क्षणसम्म पनि संरक्षण र समतावादी विकासको पक्षधर रहँदै आए। हेपिएका, थिचिएका अनि जातीय र भौगोलिक रूपले पछि पारिएकाहरूको आवाज मुखरित गरिरहे। हो, संरक्षणमा उनको विशेष लगाव थियो, त्यही लगावले तानिएर उनी विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिन पुगेका थिए। 

हिमाल बुक्सबाट उनको मृत्युपछि प्रकाशित एउटा यात्रा संस्मरणमा बेलायतमा आफ्नी प्रेमिका क्रिससँग छुट्टिँदाको प्रसंगमा हर्क गुरुङले भनेका रहेछन्– ‘बिदाइका बेला क्रिसले मलाई एउटा पोको थमाउँदै भनी, ‘हर्क, यो मैले बुनेको स्विटर हिमाल चढ्दा लगाउनु। किनभने, हिउँमाथि आफ्नो चिहान तुल्याउने आफ्नो अभिलाषा उसलाई मैले धेरै खेप प्रकट गरिसकेको थिएँ।’

आखिर भयो त्यस्तै! हिमालसँग उनको अग्घोरै माया थियो। विकास र पर्यावरणको तादाम्यता हुनुपर्ने धारणाका प्रवर्तक डा. हर्क अन्ततः ०६३ साल असोज ७ गते संरक्षणमा काम गर्ने अन्य २३ जनासँगै ताप्लेजुङको घुन्सा, फलेडाँडामा हिउँमै बिलाए। विचारमा सुस्पष्ट थिए। उनी स्वप्नद्रष्टा, अभियन्ता, विकासका भोका सबैसबै थिए। 

नओइलाउने सुनाखरी 
कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसको मुखिया खलक। पिता रतनसिंह गुरुङको सान बेग्लै थियो। त्यो बेला पनि पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे। बेलायती सेनामा भर्ती भएका जेठा छोरा चित्रसिंह गुरुङलाई उनले फौजबाट फिर्ता बोलाए। कान्छा छोरा चन्द्रप्रसाद गुरुङलाई कास्कीकै आर्वा पठाएर कखरा सिकाए अनि थप अध्ययनकै लागि पोखराको सोल्जरबोर्ड (हालको अमरसिंह उच्च मावि) पठाए।

मुखियाका कान्छा छोराले राम्रै पढे। २०२२ सालमा एसएलसी सकाए। पृथ्वीनारायण क्याम्पसबाट आईए र बीए पास गरे। संयोगले त्यही बेला अमेरिकी संस्था पिसकर्प्सकी स्वयंसेविका डोरोथी मिरोकोसँग उनको भेट भयो। उनी बोस्टन विश्वविद्यालयका अध्यक्षकी श्रीमती थिइन्। 

उनकै सहयोगमा चन्द्रले अमेरिका भ्रमण गरे, कोलोराडो विश्वविद्यालयमा संस्कृतिको अध्ययन गरे। फर्किएर त्रिभुवन विश्वविद्यालयबाट एमए र थाइल्याज्डको एआईटीबाट ग्रामीण विकासमा डिग्री लिए अनि कालान्तरमा हवाइ विश्वविद्यालयबाट भूगोलमा पीएचडी गरे। 

आफ्नो पीएचडीताका नै उनले तत्कालीन राजालाई भेट्ने अवसर पाए। हिमाली क्षेत्रको संरक्षणबारे आफूले जानेका कुरा राजालाई सुनाए। राजा प्रभावित बने। त्यहीँबाट अन्नपूर्ण संरक्षण क्षेत्रको जग बस्यो। मिङ्गा शेर्पा उनका अगुवा थिए। 

समुदायलाई समेटेर संरक्षणको क्षेत्रमा काम गर्ने अन्नपूर्ण मोडल विश्वप्रख्यात बन्यो। कञ्चनजंगा संरक्षण क्षेत्रको लागि पनि उनले काम गरे। विश्व वन्यजन्तु कोष नेपाल प्रतिनिधिको रुपमा काम गर्दैगर्दा उनले ज्यान गुमाए। 

संरक्षण क्षेत्रमा उनले दिएको योगदानको कदरस्वरुप रसुवामा भेटिएको एक सुनाखरीको प्रजातिलाई ‘नियोटिया चन्द्रेई’ नामाकरण गरिएको छ। प्रख्यात लेखिका मञ्जुश्री थापालिखित ‘अ ब्याय फ्रम सिक्लेस’मा उनको जीवनी समेटिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .