ad ad

समाज


नियन्त्रणमा आउन सकेन कृष्णनगरमा फैलिएको झाडापखाला

नियन्त्रणमा आउन सकेन कृष्णनगरमा फैलिएको झाडापखाला

सुदीप भण्डारी
असोज २१, २०७८ बिहिबार १६:२९, काठमाडौँ

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन। अस्पतालमा यसअघि भर्ना भएका विरामी डिस्चार्ज भएपनि उत्तिकै मात्रामा थपिएका छन्।

कृष्णनगर नगरपालिकाको ७, ८ र ९ नम्बर वडामा झाडापखाला फैलिएको हो। नगरको शिवराज अस्पतालमा मात्र १ सय १० जना उपचाररत छन्। त्यस बाहेक ३२ जनालाई बुटवल र तौलिहवा रिफर गरिएको कृष्णनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिए।

आज (बिहीबार) विहान ८ बजेसम्म झाडा पखालाका कुल विरामीको संख्या ३ सय ७० पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। त्यसमध्ये २ सय २८ जना डिस्चार्ज भएका छन्।

सोमबारबाट फैलिएको झाडा पखालाबाट २ जनाको मृत्यु भइसकेको छ। सो क्षेत्रमा एकाएक झाडापखालाका बिरामी बढेको कृष्णनगरका स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए। 

‘एकछिन नियन्त्रण भएजस्तो हुन्छ। फेरि ह्वात्तै विरामीहरु बढेर आउँछन्’ उनले भने ‘बुधबार राति ८ बजेदेखि विहानसम्म मात्र ४२ वटा केस थपिएका छन्।’ 

१५ बेडको शिवराज अस्पतालमा अहिले टेण्ट हाउसबाट अस्थायी बेडहरु ल्याएर विरामी राखिएको छ। कतिपयलाई भुइँमै व्यवस्थापन गरिएको छ। कतिपय विरामीले घरबाटै खाट ल्याएर उपचार गराइरहेका छन्। अस्पतालको प्रांगण विरामीले भरिभराउ छ।   

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले रोग थप फैलिन नदिन आफूहरु लागिरहेको बताए। 

‘अहिले हामीसँग जनशक्ति पनि प्रसस्त छ। डाक्टर नर्सहरु खटिरहनु भएको छ। अब हामी समुदायमा सचेतना जगाउन केन्द्रित भएका छौं’ उनले भने। 

कृष्णनगरमा खानेपानीकै कारण झाडापखाला फैलिएको पाण्डेको भनाइ छ। यहाँ ट्युबवेल र बोरिङको पानीको श्रोत छ। कुन ठाउँबाट झाडापखाला फैलियो अनुसन्धान भइरहेको उनले बताए।  
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल कपिलवस्तुबाट प्रभावित ठाउँमा चिकित्सक पुगेका छन्। बिहीवार प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको टोली कृष्णनगर पुगेको छ।

मन्त्रालयका उपसचिव डा. पुष्पराज पौडेल, डब्लूएचओको प्रादेशिक स्वास्थ्य सहायता हेर्ने डा. मुना प्रधान, लुम्बिनी प्रादेशिक अस्पतालका थप तीन स्वास्थ्यकर्मीहरु औषधि सामग्रीसहित पुगेका छन्। 

कृष्णनगरमा पानीजन्य प्रदूषणको कारण नै झाडापखाला फैलिएको हुन सक्ने प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुमान छ।

‘प्रारम्भिक रिपोर्ट त आइसकेको छैन। तर पनि झाडापखाला, हैजा जस्ता रोगहरु चाहिँ पानीकै कारण हुन्छ’ मन्त्रालयका उपसचिव पौडेलले भने, ‘कपिलवस्तुकै वाणगंगा खानेपानी गुणस्तर प्रयोगशालामा त्यहाँको पानी परीक्षणको लागि पठाएका छौँ। रिपोर्ट आउन समय लाग्दो रहेछ।’ 

अहिले त्यहाँका पानीको मुहानका स्याम्पलहरु परीक्षण गर्ने, शंकास्पद पानीका मुहानलाई सिल गर्ने काम भएको उनले बताए।

स्वास्थ्य कार्यालय कपिलवस्तुको संयोजन तथा स्वास्थ्य मन्त्रालयको सुपरिवेक्षणमा झाडापखाला नियन्त्रणको लागि अस्पताल र समुदायस्तरमा काम अघि बढेको मन्त्रालयका उपसचिव पौडेलले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .