ad ad

समाज


मानिस पासो लागेको डोरी करोडौंमा बेच्न मजदुरी गर्ने महिलाको हत्या

हत्यामा संलग्न तीनैजना अभियुक्त समातिए
मानिस पासो लागेको डोरी करोडौंमा बेच्न मजदुरी गर्ने महिलाको हत्या

उजिर कार्की
असोज २४, २०७८ आइतबार १२:२४, काठमाडौँ

मानिसले पासो लगाउन प्रयोग गरेको डोरी बेचेर करोडौँ कमाउन सकिने अन्धविश्वासमा परेर ललितपुरमा एकजना महिलाको हत्या भएको खुलेको छ।

महानगरीय अपराध महाशाखाले भदौ २५ गते बिहान भएको उक्त हत्याकाण्डमा संलग्न तीनजनालाई असोज २१ र २२ गते पक्राउ गरेर आइतवार सार्वजनिक गरेको छ।

भदौ २५ गते बिहान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्दै आएकी नुवाकोटको बेलकोट गढी नगरपालिका-९ स्थायी घर भएकी ४५ वर्षीया कमला तामाङको हत्या प्रकरणमा संलग्न तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो।

ललितपुरको सुनाकोठीमा कृषि र ज्याला मजदुरी गरेर एक्लै बस्दै आएकी कमलाको हत्यामा संलग्न सुमन मगर ललितपुरबाटै पक्राउ परेका हुन्। उनीसँगै हत्यामा संलग्न सविन प्रजा र प्रविना प्रजालाई प्रहरीले मकवानपुरको मनहरीबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरु तीनैजनाले अन्धविश्वासमा परेर कमलाको हत्या गर्ने योजना बनाएको खुलेको छ।

हत्यामा संलग्नमध्ये सविनले मान्छे मर्न वा मार्न प्रयोग भएको डोरी, राम-लक्ष्मण र हनुमानको तस्विर अंकित पुरानो सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगा लगायत करोडौँ रुपैयाँमा विक्री हुने कुरा सुनेपछि उक्त हत्या योजना बनेको खुलेको छ। 

चापागाउँ वृत्तका सविनले उक्त कुरा साथी सुमन मगरलाई सुनाएपछि कमलाको हत्या योजना बनाएको खुलेको चापागाउँ प्रहरी वृत्तका डिएसपी टेकबहादुर कार्कीले बताए। 

'उक्त हत्या योजना सविन, सुमन र प्रविना बसेर बनाएको देखियो', उनले भने, 'मृतक कमला र सुमन मगरबीच पुरानो परिचय रहेछ। मृतकको टहरामा उनी आउने जाने गरिरहेको पाइयो। मादक पदार्थ र खानपिन पनि सँगै गर्ने गरेको आधारमा उनैले कमलाको हत्या योजना बनाएको भेटियो।' 

तीनैजना बसेर मानिसलाई डोरीको पासोमा झुन्ड्याएर मारेर उक्त डोरी करोडौंमा विक्री गर्ने योजना बनाएको पनि अनुसन्धानबाट खुलेको छ। 

महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले हत्यामा संलग्न तीनैजनालाई सार्वजनिक गर्दै हत्यापछि सुमन ललितपुरमै बसेको बताए। तर सविन र प्रविना भने भागेर मकवानपुरको मनहरी पुगेको अवस्थामा पक्राउ गरिएको जानकारी खापुङले दिए। 

'हत्यामा तीनैजनाको प्रत्यक्ष संलग्नता देखियो। सुमनले कमलाको दुवै हात र गोडा उनकै सलले बाँधी आफूसँगै गएका सविन प्रजालाई डोरी घाँटीमा हाली कस्न लगाई हत्या गरेको पाइयो', उनले भने, 'कमलाको मृत्यु भएको थाहा भएपछि कानको गहना र मोबाइल लिई सविन प्रजाको कोठातिर उनीहरु लागेको भेटिएको छ।'

कमलाको शव कोठैमा छाडेपछि उनीहरुले उनको मोबाइल फोन लगेर सिम बाटैमा फ्याकेका थिए। 'भोलिपल्ट हत्यामा प्रयोग भएको डोरीलाई धुप बत्तीसमेत प्रयोग गरी पूजा गरेको उनीहरुले बताएका छन्', खापुङले भने, 'ऐनामा हेर्दा डोरी नै देखिएपछि काम नलाग्ने भनी कुलोमा फ्याँकेर बगाइदिएका रहेछन्। त्यसपछि मोबाइल र गहनासमेत नक्कली भएको भन्दै कुलोमा बगाइदिएको स्वीकारेका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .